कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा कोरोना संक्रमण

काशीराम डाँगी

रोल्पा — रोल्पामा आधा दर्जनभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितका आधा दर्जनभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । 

रोल्पाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा कोरोना संक्रमण

अस्पतालका अनुसार एक जना चिकित्सकसहित प्रयोगशाला (ल्याब) तथा नियमित जाँच कक्षका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । आपत्कालीन सेवाका स्वास्थ्यकर्मीमा भने संक्रमण देखिएको छैन । एक चिकित्सकका अनुसार संक्रमण नदेखिएका स्वास्थ्यकर्मीबाट अस्पतालको सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसअघि रोल्पा नगरका प्रमुखसहित कर्मचारीमा पनि कोरोना संक्रमण दखिएको थियो । नगर प्रमुख पूर्ण केसीले आफूमा संक्रमण देखिएकाले आराम गरिरहेको जानकारी सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । केसीसँगै माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन‍ पुगेका केही नेतामा संक्रमण देखिएको हो । केही पत्रकार, व्यावसायी तथा कर्मचारीमा समेत संक्रमण देखिएको जिल्ला स्वास्थ्यले जनाएको छ ।

रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले रोल्पामा देखिएको संक्रमणको लक्षणका आधारमा डेल्टा भेरियन्ट हुनसक्ने बताए । ‘संक्रमण व्यापक रुपमा फैलँदो अवस्था भएकाले सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अवस्था छ‚’ उनले भने । जिल्ला स्वास्थ्यका अनुसार हालसम्म रोल्पामा दर्जनभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना संक्रमण फैलन सक्ने सम्भावना बढे पनि रोल्पास्थित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले अहिलेसम्म ठोस योजना बनाएको छैन । स्थानीय तहले पनि यसबारे खास योजना बनाइसकेको अवस्था छैन । स्थानीय प्रशासनले कोरोनाविरुद्ध सचेतना फैलाउन र जिल्ला प्रवेश गर्ने नाकाहरूमा जाँच बढाउन तयारी गरिएको जनाएको छ ।

सामुदायिक विद्यालय बन्द गर्न सरकारले आह्वान गरेअनुसार अधिकांश स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिएको भए पनि केहीले विद्यालय खुलाउन निर्णय गरेका छन् । यातायात क्षेत्रमा संक्रमण रोक्न ठोस निर्णय भने गरिएको छैन ।

प्रकाशित : माघ २, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?