त्रिवेणी गाउँपालिका बालश्रम मुक्त घोषणा, विपद्‍मा परेका बालबालिका उद्वारमा २८ लाख- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवेणी गाउँपालिका बालश्रम मुक्त घोषणा, विपद्‍मा परेका बालबालिका उद्वारमा २८ लाख

काशीराम डाँगी

रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिकालाई बाल श्रममुक्त गाउँपालिका घोषणणा गरिएको छ । एक कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले गाउँपालिकालाई बाल श्रममुक्त घोषणणा गरेका हुन् ।



अब गाउँपालिकाभित्र कुनै पनि बालबालिकालाई श्रममा लगाउन रोक लगाउनुका साथै त्यसका लागि अभिभावकलाई रोजगारयुक्त बनाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई बाल श्रममुक्त घोषणा गर्नुअघि ७ वटै वडालाई समेत बाल श्रममुक्त घोषणणा गरिएको थियो ।

लुम्बिनी प्रदेशमा बाल श्रममुक्त गाउँपालिका घोषणणा गरिएको यो पहिलो हो । बाल श्रममुक्त घोषणा कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, अभिभावक लगायत उपस्थित थिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले भेला आयोजना गर्न रोक लगाए पनि पूर्व निर्धारित कार्यक्रम भन्दै गाउँपालिकाले घोषणा कार्यक्रम आयोजना गरेको थियो ।

‘असल अभिभावक, सुरक्षित बालबालिका : सुखी र समृद्ध त्रिवेणी गाउँपालिका’ मूल नारासहित सबै वडाहरूलाई बाल श्रममुक्त घोषणणा गरिएको थियो । कार्यक्रमपछि गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बालबालिकामैत्री गाउँपालिका बनाउने क्रममा बालबालिकालाई श्रमबाट मुक्त गर्ने अभियान सफल पारिएको बताए ।

‘अब हाम्रो गाउँपालिकामा कोही बालबालिका श्रममा खट्ने छैनन् । सबैलाई शिक्षा र सिर्जनात्मक कार्यमा लगाउन सुनिश्चित गरिएको छ,’ अध्यक्ष वलीले भने । गाउँपालिकाले यसअघि नै बाल श्रम निवारण सम्बन्धी योजना २०७५-२०७७ नीति पारित गरेको थियो ।

विपद्‍मा परेका बालबालिकाको उद्वारका लागि कोष :

यस्तै त्रिवेणी गाउँपालिकालाले बाल श्रम निवारणका लागि विशेष योजना ल्याएको छ। गाउँपालिकालाई बालश्रम मुक्त घोषणासँगै अभिभावकलाई आत्मनिर्भर बनाउने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष वलीले बताए ।

अभिभावकलाई कृषि, पशुपालन, व्यवसाय तथा पर्यटन क्षेत्रमा आवद्ध गराउन गाउँपालिकाले आर्थिक प्याकेजसहितका कार्यक्रम संचालन गरेको अध्यक्ष वलीले बताए । तथ्यांक अनुसार अघिल्लो वर्षसम्म त्रिवेणीमा मात्रै २ सय २७ जना श्रममा लगाइएका बालबालिका भेटिएका थिए । यस्तै ६८ जोडीले बालविवाह गरेको पाइएको थियो । विद्यालय जाने उमेर भएर पनि यहाँका २ सय ५ जना विद्यालय बाहिरै थिए ।

अपांगता भएका १ सय ८९ जना र ६ सय ५ एकल अभिभावक भएका बालबालिका फेला पारिएकाले नीति बनाउनु परेको गाउँपालिका उपाध्यक्ष सावित्रीकुमारी बुढा घर्तीमगरले बताइन् । विद्यालय जानबाट बञ्चित भएका ४ सय २ जना अति विपन्न अवस्थाकालाई विद्यालय पठाउने व्यवस्था गाउँपालिकाले गरेको थियो । अहिले सबै बालबालिकालाई विद्यालयमा पठाइएको उपाध्यक्ष घर्तीमगरले बताइन् ।

अघिल्लो वर्षसम्म विद्यालय छाडेर श्रममा लागेकामध्ये १ सय ४४ लाई घर फर्काइएको थियो । बालविवाह गरेका ६८ जोडीमध्ये ३५ जोडीको बाल विवाह बदर गरिएको थियो । उनीहरूलाई पुनः विद्यालय पठाउन अभिभावकसँग सहमति गरिएको थियो । गाउँपालिकाले विद्यालय छाडेकामध्ये १ सय ९३ जनालाई पुनः विद्यालय भर्ना गर्न तथा वैकल्पिक कक्षा चलाएर पढ्ने व्यवस्था मिलाएको थियो ।

यस्तै विभिन्न कारणले विद्यालय शिक्षाबाट बञ्चित रहेका बालबालिकालाई सघाउन बाल अक्षय कोष स्थापना गरिएको छ । बाल अक्षय कोषमा २८ लाखभन्दा बढी रकम जम्मा गरिएको बताइएको छ ।

गाउँपालिकाभित्रका ७ वटै वडामा बाल संरक्षण समिति गठन गरिएको छ । शैक्षिक, आर्थिक र अभिभावकीय अवसरबाट बञ्चित रहँदै आएका बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कोष स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए । उक्त कोषबाट अहिलेसम्म ४ सय बालिबालिकाले सहयोग पाइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभर ४३ वटा बाल क्लब छन् ।

प्रकाशित : माघ १, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्

'नरभक्षी' बाघ समात्न सकस

नारायण शर्मा

नवलपरासी पूर्व — दुम्कीबास आसपासमा मान्छेलाई आक्रमण गरिरहने बाघ समात्न गरिएको प्रयास ४ दिन भइसक्दा पनि सफल हुन सकेको छैन । गत बुधबारबाट विनयी त्रिवेणीको विनयी सामुदायिक वनमा चितवन राष्ट्रिय निकुञ्जको हात्तीसहितको टोलीले बाघ खोजी सुरु गरेको हो ।

शनिबारसम्म बाघ बिचरण गरेको स्थान यकीन हुन नसकेको निकुन्जका सहायक वार्डेन राजु घिमिरेले जानकारी दिए । उनका अनुसार तीन वटा हात्तीसहित ९ जना प्राविधिकको सहयोगमा 'नरभक्षी' बाघको खोजी सुरु गरिएको छ ।

विनयी त्रिवेणीको उत्तरमा रहेको होङ्सी सिमेन्टभन्दा केही पर जोडी बाघको (भालेपोथी) पाइला (पगमार्क) देखिएको भए पनि त्यो पाइला नयाँ (हालै हिँडेको) वा पुरानो हो भनेर पत्ता लगाउन समस्या भएको उनले जानकारी दिए । कुन बाघ हो भनेर त्यसको पैतालाको नापजाँच सुरु गरिएको छ ।

मान्छे खाएको स्थानमा देखिएको बाघका पाइला र अहिले फेला परेको बाघको पाइलामा अध्ययन गरेर यकिन गर्न सकिने उनले बताए । ‘तीन साताअघि बाघले मान्छे खाएको स्थान र हाल बाघको पाइला देखिएको ठाउँ २० किलोमिटर टाढा भएकाले फरक बाघ हुन सक्ने पनि देखिन्छ’, घिमिरेले भने । दुवै स्थानका पाइलाको अध्ययनपछि मात्र त्यसको यकिन गर्न सकिने उनको भनाइ छ ।

हात्ती परिचालन भएको सुँइको पाएपछि जोडी बाघ अन्यत्र हिँडेको अनुमान घिमिरेको छ । ‘हात्ती परिचालन भएपछि बाघको भाले पोथी उकालो लाग्दै गरेको अवस्थामा पाईला भेटिएको टोलीले देखेपछि थप अध्ययन सुरु गरिएको छ’, घिमिरेले कान्तिपुरसित भने, ‘हात्ती हिँडेको चाल पाएपछि बाघले बासस्थल फेर्ने सम्भावना हुन्छ त्यसैले पहिला बाघ रहेको क्षेत्र पत्ता लगाएपछि नियन्त्रणमा लिन केही सजिलो हुन्छ ।’

ठूलो जंगलमा बाघको खोजी जटिल र खर्चिलो हुने घिमिरेले सुनाए । ‘३ वटा हात्ती र ९ जना प्राविधिकको खर्च दैनिक रुपमा करिब ४२ हजार रुपैयाँ खर्च हुन्छ’, घिमिरेले भने, ‘त्यसैमा मान्छे खाएकै बाघ पत्ता लगाउने काम झन् जोखिम छ ।’

दुम्कीबास आसपासमा गत २ महिनाको अवधिमा बाघले २ जनाको ज्यान लिएको छ भने अर्का एक जना गम्भीर घाइते छन् । बाघ आतंकपछि स्थानीय जंगल जान छोडेका छन् ।

प्रकाशित : माघ १, २०७८ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×