कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकियो रुरु मकर मेला

गुल्मी — रुरुक्षेत्रमा आयोजना हुने माघे संक्रान्ति मेला अन्तिम समयमा आएर रोकिएको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल तथा धार्मिक क्षेत्र रुरुमा लाग्ने मेला जिल्ला प्रशासन कार्यालय गुल्मीको निर्देशनमा शुक्रबार रोकिएको हो । 

रोकियो रुरु मकर मेला

सम्पूर्ण तयारी पूरा भएपछि प्रशासनको निर्देशनमा मेला स्थगित भएको आयोजक समितिका स्टल संयोजक प्रेमप्रसाद भण्डारीले बताए । ‘मेलाको आयोजनास्थल डोजर लगाएर सम्याउने, सरसफाइको कामदेखि बाल उद्यान, सांस्कृतिक कार्यक्रम, स्टल तथा स्टेजको सामग्री आइसकेको थियो,’ उनले भने, ‘हामीले ११ लाख ४० हजार रुपैयाँ मेलाका लागि खर्च गरिसकेका थियौं तर अन्तिम समयमा आएर मेला रोकियो ।’

जिल्ला प्रशासन कार्यालय गुल्मीले मेला, भेला र महोत्सवका कार्यक्रम रोकेको प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले बताए । ‘नुहाउने, पूजा गर्नेलगायतका काम त चल्छ तर मेलाको औपचारिक कार्यक्रम रोकिएको छ,’ उनले भने । रिडीको रुरु क्षेत्रमा प्रत्येक वर्ष माघ १ देखि ३ गतेसम्म स्नान गर्ने र मेला भर्नेको घुँइचो लाग्ने गर्छ । ऋषिकेश, रुरु कन्याको मन्दिर, रामानाम स्तुप, मणिमुकुन्देश्वर, महाविष्णुलगायत दर्जनौं देवालय रहेको यस क्षेत्रलाई नेपालको बनारससमेत भन्ने गरिन्छ ।

प्रशासनको निर्देशनपछि गुल्मीकै मालिका गाउँपालिका–५ लेखपोखरामा लाग्ने तीनदिने माघे संक्रान्ति मेला पनि स्थगित भएको छ । माघे संक्रान्ति मेलाको तयारी तीव्र पारे पनि अन्तिम समयमा स्थगित गर्नुपर्दा दुःख लागेको लेखपोखरा माघे संक्रान्ति मेला व्यवस्थापन समितिका संयोजक लोकेन्द्र खड्काले बताए । लेकपोखरामा चिम्टाले खनेर निर्माण गरिएको १८ सिढी रहेको पोखरीमा स्नान गरेमा मोक्ष प्राप्त हुने किम्वदन्ती छ ।

प्रकाशित : माघ १, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?