कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

एमाले गण्डकी अधिवेशनमा ११ औं महाधिवेशन पूर्वतयारीको झल्को

दुई वर्ष प्रदेश सम्हालेका नवराज शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (पीएस) सहमतिमै दोहोर्‍याउन चाहन्थे । तर स्थायी समिति सदस्य खगराज अधिकारीले शर्मालाई रोक्ने योजनामा अघि सारे, केन्द्रीय सदस्य मायानाथ अधिकारी ।
दीपक परियार

पोखरा — निथ्रुक्क भिजेर एकाबिहानै पोखरा सभागृह पुगेका अधिवेशन प्रतिनिधिले बुधबार पनि एमाले गण्डकीको नेतृत्व चयन गर्न पाएनन् । सोमबार सुरु गुट–गुटबीच प्रतिष्ठाको लडाइँले धकेलिएको अधिवेशनको मतदान बिहीबार दिउँसो बल्ल सुरू भएको छ ।

एमाले गण्डकी अधिवेशनमा ११ औं महाधिवेशन पूर्वतयारीको झल्को

प्रदेश समितिको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । दुई वर्ष प्रदेश सम्हालेका शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ (पीएस) सहमतिमै दोहोर्‍याउन चाहन्थे । तर उनलाई रोक्ने योजनामा अघि सारिए, केन्द्रीय सदस्य मायानाथ ।

मायानाथको पक्षमा उभिए स्थायी समिति सदस्य खगराज अधिकारी (केआर) । दुई नेताबीचको कित्ताकाटले प्रदेशको अधिवेशनमा उम्मेदवारको छुट्टाछुट्टै प्यानल बन्यो । आआफ्नो प्यानलको प्रचारमा एमाले कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । प्रयोग भएका उस्ताउस्तै प्रचार सामग्रीले कुन उम्मेदवार कुन कित्तामा भन्ने प्रष्ट छुट्टिन्छ ।

एमाले गण्डकीको अधिवेशन रुपमा पीएस र केआरबीचको प्रतिस्पर्धा देखिए पनि, सारमा पीएसको प्रतिस्पर्धा संस्थापन पक्षसँग हो । गण्डकीमा पीएसलाई कमजोर बनाउन स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओली नै लागिपरेको पोखरामा चर्चा छ । उनका तर्फबाट महासचिव शंकर पोखरेल अधिवेशनको २ दिनअघि नै गण्डकीमा आएर भित्री कसरतमा लागेका थिए । अधिवेशन उद्घाटन पार्टी अध्यक्ष ओलीबाट गर्ने प्रचार थियो । मौसमको कारण देखाउँदै आएनन्, तर महासचिव पोखरेल भने जहाजमै आए । ओली पीएसविरुद्ध आफैं आएर लाग्नभन्दा महासचिव पोखरेललाई अघि सारेको कार्यकर्ताहरुबीच चर्चा छ ।

ओलीबाट आफू कर्नरमा पुर्‍याइएको अनुभूति गरिरहेका पीएसले अधिवेशन उद्घाटन सत्रमा भने नेतृत्वमा १० वर्ष ओलीको विकल्प नभएको बताएका थिए । ‘आफूविरुद्ध ओलीलाई भड्काइएको हुँदा नै उहाँले विश्वासका लागि त्यो धारणा राख्नुपर्‍यो,’ उनीनिकट नेताले भने । पीएसका स्वकीय सचिव विक्रम न्यौपानले बुधबार सामाजिक सञ्जालमा राखेको स्टाटसले त्यही संकेत गरेको छ ।

एमाले गण्डकीकाे अधिवेशनमा प्रतिनिधिलाई बाँडिएको पृथ्वीसुब्बा गुरुङ प्यानलकाे उम्मेदवार सूची । तस्बिर : दीपक परियार/कान्तिपुर

पृथ्वीसुब्बा गुरुङलाई भविष्यमा अझै महत्वपूर्ण जिम्मेवारीमा जान नदिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भ्रमित पारेर दुरी बढाइ दिने उद्देश्यसहित भ्रम फैलाइएको न्यौपानले लेखेका छन् ।

गुरुङलाई गण्डकीको मुख्यमन्त्री सारे पनि त्यसपछि आफ्नै विरोधमा लागेको भन्दै ओली रुष्ट हुन थालेका हुन् । मुख्यमन्त्रीहरुको भेला डाकेर तत्कालीन प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गरेपछि उनीहरुको दूरी बढ्न थालेको थियो । त्यसपछि पनि ओलीले दिएको प्रदेश संघकै इकाई भएको धारणाको गुरुङले कडा खण्डन गरेका थिए । संसद् विघटनपछि माधव नेपाल पक्षलाई लखेट्न नहुने पक्षमा लाग्दा पनि गुरुङ ओलीको तारो बनेका थिए ।

संघीय संसदजस्तै गण्डकी प्रदेश संसद विघटन गर्न ओलीले अह्राउँदा गुरुङले अटेर गरेका थिए । गुरुङले त्यतिबेला भनेका थिए—केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मानिस म होइन ।’ तर जुनसुकै बेला आफ्नाविरुद्ध लाग्न सक्ने ठानेर गुरुङलाई अघि बढ्न नदिने ओली रणनीति छ । त्यसैले गृहप्रदेशमै कमजोर बनाउन गुरुङकै जिल्लाका मायानाथलाई अध्यक्ष बनाउन केआर समूहको प्रस्तावलाई ओलीले अनुमोदन गरेका छन् ।

एमाले गण्डकीकाे अधिवेशनमा प्रतिनिधिलाई बाँडिएको खगराज अधिकारी प्यानलकाे उम्मेदवार सूची । तस्बिर : दीपक परियार/कान्तिपुर

पोखरा महानगरपालिकाको निर्वाचनमा केआरले पूर्वमेयर कृष्ण थापालाई उम्मेदवार बनाउन खोज्दा पीएस भने दीपक पौडेलको पक्षमा थिए । तर अन्तत थापालाई नै ओलीले टिकट दिए । थापा हार्नुको अपजस पीएसलाई दिँदै ओलीकहाँ केआर समूह पुगेको थियो । ओली गुरुङसँग कतिसम्म रुष्ट बने भने फेरि मुख्यमन्त्री बन्छु भनेपछि प्रदेश सभा सदस्यकै टिकट दिएनन् । प्रतिनिधि सभामा उम्मेदवार बनाए । उनकै इखले केआरलाई चाहिँ प्रदेश सभा सदस्यमा पठाए । गुरुङको इच्छा विपरीत उनको जिल्लाको प्रदेश सभा सदस्यमा कृष्ण अधिकारीलाई ओलीले टिकट दिएका थिए । लमजुङ बेसीसहरको नगरप्रमुखमा गुमानसिंह अर्याललाई दोहोर्‍याउने गुरुङको चाहनामा नवराज शर्माको साथ रहेपछि शर्मा ओलीको आँखी भएका थिए ।

तर, ओली सार्वजनिक राजनीतिक जीवनमा आएदेखि नै उनलाई पीएसले साथ दिइरहेको र कुनै पनि अप्ठेरोमा असहयोग नगरेको न्यौपानेले लेखेका छन् । प्रस्ट बहस र तर्कवितर्क गर्ने तर कहिल्यै पार्टी हित र नेतृत्व हित विपरीत नजाने पीएस कमरेडको स्वभावबाट स्वयं पार्टी अध्यक्ष केपी ओली प्रष्ट हुँदा हुँदै पीएस कमरेडविरुद्ध ओली कमरेडलाई भड्काउन चाहने तत्व सधैं सक्रिय हुनुचाहिँ बिडम्बना हो,’ न्यौपानले लेखेका छन् ।

ओली आफैं कित्ताकाटमा लागेर गुटलाई बढावा दिएकाले उनले समर्थन गरेका उम्मेदवारलाई आत्मघात हुने एक प्रतिनिधिले सुनाए । ‘नेतृत्व चयनमा देशव्यापी पार्टी अध्यक्षको हस्तक्षेप तलका कार्यकर्ताले रुचाएका छैनन् भन्ने त लुम्बिनी र कर्णालीमा देखियो,’ उनले भने, ‘गण्डकीमा पनि प्रतिनिधिहरु कुनै गुटउपगुटलाई मान्न तयार छैनन् ।’

यो अधिवेशन प्रदेश अधिवेशनमात्रै नभई एमालेको भावी नेतृत्वको एउटा दर्पणका रुपमा कार्यकर्ताले बुझेका छन् । प्रदेशमा पीएस र केआरको प्रतिस्पर्धा खासमा भावी नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको रस्साकस्सी भएको ती कार्यकर्ताको बुझाइ छ । पौडेलको साथ पीएस र पोखरेलको केआरलाई छ । प्रदेश अधिवेशनलाई माधव नेपालसहितका कम्युनिस्ट घटकलाई सँगै लिएर अघि बढ्नुपर्ने पौडेलको ‘सफ्टलाइन’ र त्यसको विपक्षमा भएका पोखरेलको ‘हार्डलाइन’ बीचको शक्तिसंघर्षका रुपमा पनि हेरिएको छ ।

गण्डकी प्रदेश इन्चार्जसमेत रहेका एमाले सचिव गोकर्ण विष्ट भने पार्टीभित्र कुनै राजनीतिक र वैचारिक विवाद नरहेको दाबी गर्छन् । ‘कतिपय व्यक्तिव्यक्तिबीचका प्रतिष्ठाको टकराव होलान् । व्यक्तिगत अन्तरविरोध होला, कार्यशैलीका अन्तरविरोध होलान् । सबैचिज गौण हुन् । पार्टीलाई एकताबद्ध गर्ने सम्बन्धमा अधिवेशनले ध्यान दिन जरुरी छ,’ उनले भने, ‘अलि अलि केन्द्रको महाधिवेशनको छनक देखिएको भनेर पनि आएको छ तर महाधिवेशन आउन अझैं केही वर्ष बाँकी छ, त्यो बेलासम्म गण्डकीमा धेरै पानी बग्छ ।’

अधिवेशनमा निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको मनोनयन दर्ता सूचीअनुसार १ सय ६२ पदमा ३ सय ८२ जनाको उम्मेदवारी परेको छ । शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक र महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारी ‘प्यासी’ उम्मेदवार छन् । अधिकारी प्यानलतर्फ उपाध्यक्षमा पूर्वी नवलपरासीका बाबुराम विश्वकर्मा, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र महिला उपसचिवमा कास्कीकी मीना गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न क्लस्टरमा २७ जना भने निर्विरोध भएका छन् । अधिवेशनमा ११ जिल्ला र जनसंगठनबाट प्रतिनिधिका रुपमा आएका ९ सय ७ प्रतिनिधिले मतदान गर्ने छन् ।

प्रकाशित : आश्विन १८, २०८० १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?