कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

प्रकाश बराल

बागलुङ — नेपाल आयल निगमले ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याएको ६ वर्ष काट्यो । मापदण्डमा राजमार्ग भए १० कठ्ठा जमिन हुनुपर्ने, राजमार्गदेखि पम्पसम्मको दुरी कम्तिमा ५० मिटर हुनुपर्ने व्यवस्था छ । ग्रामीण सडक भए पनि ३४ मिटर नजिक पम्प बनाउन पाइने छैन । तर यहाँको गलकोट नगरपालिका–३ को खल्ले खोलानजिकै मध्यपहाडी लोकमार्गमै जोडेर पेट्रोलपम्प बनाइएको छ ।

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

संचालनमा आइनसकेको यो पम्प लोकमार्गको ‘राइटअफ वे’ मापदण्डमा परेको भन्दै जिल्लासभाले ध्यानाकर्षण गराएको छ ।

लोकमार्ग आयोजना कार्यालयले अनुमति दिएकै कारण यो पम्प बनाइएको हो । तर यो सडककै छेउमा भएकोले मापदण्डमा छैन । लोकमार्ग आयोजना कार्यालय पर्वतकी प्रमुख कल्पना अधिकारीले भने अनुमति लिएर पम्प बनाएको दाबी गरिन् । उनले सडक छेउमा बनाउन अनुमति दिएको बताइन् । ‘हामीले सडक छेउको मापदण्ड छाडेर बनाउन दिएका हौं,’ अधिकारीले भनिन्, ‘पहाडी क्षेत्रमा सबै मापदण्ड सम्भव छैन ।’ तर समन्वय समितिको अनुगमनले भने सडकको कालोपत्रेले छोएकै ठाउँमा पम्प बनाइएको हो ।

चार वर्षअघि आएको बाढीले यहाँको खल्ले खोला पुरिएको थियो । कालोपत्रे सडक पनि पुरेपछि अहिले सवारी तल्लो खाल्डोबाट गुड्छन् । तर मुख्य सडकमा सवारी नहिँडेको निहुँमा यो पम्प बनाइएको हो । पम्पमा तेल भर्न मुख्य सडकको लाइनबाटै जानुपर्ने गरी संरचना तयार भएको छ । अझै कम्पाउण्ड गर्ने क्रममा पम्पलाई हाल सवारी गुडेको लाइनसम्म पुर्‍याइएको छ ।

जिल्लाका दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र जिल्ला समन्वय समितिका पदाधिकारीको संयुक्त जिल्लासभाले उक्त पम्प मापदण्ड विपरीत भएकोले ध्यानाकर्षण गर्दै सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको छ ।

राष्ट्रिय राजमार्ग भएपछि मध्यपहाडीको आफ्नै मापदण्डको राजपत्र प्रकाशित नभएकोले व्यक्तिको जग्गामा बनेका संरचना हटाउन नसकेको अधिकारीले बताइन् । तर सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आयोजनाको राजपत्र नभए सडक ऐन आकर्षित हुने दाबी गरे ।

‘सबै सडक आयोजनाको मूल नीति सडक ऐन हो, त्यसले जे भन्छ त्यही नै सडकको मापदण्ड हो,’ बरालले भने, ‘मापदण्ड मिचेर बनेका संरचना हटाउने जिम्मा नगरपालिकाको हो ।’ उजुरी आएमा सुरक्षाको प्रबन्ध भने प्रशासनले गर्ने उनले बताए ।

मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो । यो सडकमा अहिले नै रुकुम पश्चिम, जाजरकोट, रोल्पा र रुकुम पूर्वीबाट सवारी साधन पोखरा र काठमाडौंकालागि गुड्ने गर्छन् । यहाँ सडक साँघुरो छ । चौडा पार्ने क्रममा पम्पसम्मै पुग्नुपर्ने अबस्था छ । तत्काल मर्मतको योजना नराखे पनि लोकमार्ग आयोजना कार्यालयलेनै यो मार्गमा काम गर्न अप्ठ्यारो पर्ने गरी संरचना बनेको एक प्राविधिकले बताए ।

त्यसबाहेक बडिगाड गाउँपालिका नजिकै पनि अर्को पम्प बन्दैछ । त्यो पनि सडकको दायाबाँया छाड्ने १५ मिटरको मापदण्डभित्रै छ । ‘लोकमार्गलाई कम्तीमा पनि २५ मिटरको मापदण्ड लागू हुन्छ, तर सबै सडकमै जोडेर बनाएको देखियो,’ जिल्ला समन्वय प्रमुख अमर थापाले भने, ‘न्यूनतम मापदण्ड पनि अटेर गरेर आफ्नै करोडौं रकम जोखिममा बनाइएका छन् ।’ सडक छेवैमा पम्प बनाउँदा आगलागीको जोखिम हुने, मापदण्डले जुनसुकै बेला भत्काउन सक्ने बारे उनले सचेत गराएको बताए ।

गलकोट सेवा समिति पेट्रोल पम्पका संचालक नरबहादुर सहानीले अनुमति लिएर काम गरेको बताए । ‘हामीले अनुमति लिएकै हो, तर अहिले आएर मापदण्ड पुगेन भनेका छन्,’ सहानीले भने, ‘ठूलो लगानी भैसकेको छ, कसरी मिलेर काम गर्ने भन्नेमा छलफल हुनुपर्ने हो ।’

उनले सडक अर्को लाइनबाट गएकोले काम गरेको दाबी गरे । उनकै समूहका अर्का सदस्य बसन्त भण्डारीले भने मापदण्ड नपुगेको स्विकारे । ‘भूगोलको समस्याले पनि यहाँ मापदण्ड पुग्दैन,’ उनले भने, ‘विकल्पको बाटो खोज्दा राम्रो होला ।’

सदरमुकाम बागलुङ बजारमै रहेको पेट्रोलपम्प पनि मापदण्ड विपरीतको छ । सडकमै जोडेर बनेको पम्पको माथिल्लो तलामा यहाँको प्रभा होटल संचालनमा छ । मापदण्ड विपरीत भएकोले बागलुङ नगरपालिकाले उक्त पम्प र होटल बसेको घरको नक्सा समेत पास गराएको छैन । संचालक हरिबाबु सापकोटाले भने पुरानो पम्पलाई यथावत राखेको दाबी गरेका छन् । २०५२ सालमा यहाँ पम्प खुले पनि तीन वर्षअघि उक्त भवन भत्काएर नयाँ घरसँगै पम्प राखिएको हो ।

सदरमुकाममै रहेको न्यू ध्रुब इन्टरप्राइजेज भने पुरानै अवस्थामा संचालित छ । नयाँ मापदण्ड आएपछिका पम्पलाई नियमन गर्न नसक्दा जोखिम बढेको थापाले बताए । बुर्तिवाङ बजारमा पनि हालै निर्माण गर्न लागिएको पम्प सडकको मापदण्ड क्षेत्रमै रहेको समितिको अनुगमनमा देखिएपछि व्यवस्थापन गर्न सुझाव दिइएको थापाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०८१ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×