२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाँदर धपाउने यन्त्र बनाउदै गण्डकी विश्वविद्यालय

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशमा बाँदर आतंकले बढ्दो रुप लिएपछि गण्डकी विश्वविद्यालयले ‘ड्रोन’ को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि अनुसन्धान थालेको छ ।

बाँदर धपाउने यन्त्र बनाउदै गण्डकी विश्वविद्यालय

गण्डकी विश्वविद्यालय मातहत पोखरा महानगरपालिका-३२ ज्ञान गुञ्जस्थित यसको अनुसन्धान भइरहेको र मेसिन निर्माणका लागि थालनी गरिएको गण्डकी विश्वविद्यालयका अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रका निर्देशक राजकुमार थापाले जानकारी दिए । उनले गण्डकीमा बाँदर व्यवस्थापन चुनौती रहेको बताउँदै ड्रोनको प्रयोग गरेर धपाउने विधि उपयुक्त हुने बताए ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बाँदर व्यवस्थापनका लागि नीति तथा कार्यक्रम र बजेटमा समेत सम्बोधन गरेको छ । सरकारले घरेलु मदिराका साथै गाँजा खेतीको अनुसन्धानलाई पनि प्राथमिकतामा राखेको छ । घरेलु कोदोको मदिरालाई ‘ब्रान्डिङ’ गर्न विश्वविद्यालयले थालेको अनुसन्धान पनि निरन्तर चलिरहेको कुलपति प्रा. गणेशमान गुरुङले बताए ।

उनले कोदोको मदिरा बनाउन प्रयोग गरिने मर्चा परीक्षणका लागि धरानस्थित प्रयोगशाला लगिएको र उक्त प्रतिवेदन साउनको अन्तिममा आउने बताए । प्रदेशका ११ वटै जिल्लाको कोदो संकलन गरिएको थियो । स्रोत, साधनको कमी नभए करिब दुई वर्षभित्र कोदोको मदिरालाई नयाँ पहिचानसहित ब्रान्डिङ गर्न सकिने उनले बताएका छन् । मदिरा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अनुसन्धानमा समय लाग्ने तर्क उनको छ । महँगो विदेशी मदिराको आयात घटाउन पनि स्थानीय मदिरालाई ‘ब्रान्डिङ’ गरेर बजारीकरण गर्नुपर्ने आवाज उठ्ने गरेको छ ।

स्रोत साधनको सीमित व्यवस्थापनका बाबजुद पनि गण्डकी प्रदेशमै पहिलोपटक विभिन्न ८ प्रकारका मेसिन उत्पादन गरिएको छ । स्थापनाको छोटो समयमै गण्डकी विश्वविद्यालयले कृषिजन्य र औजार बनाएर सार्वजानिक गरेको हो । विश्वविद्यालय शिक्षणसँगै खोज, अन्वेषण र नवप्रर्वतनका गतिविधिमा केन्द्रित छ । विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर अनुसन्धान र नवप्रर्वतनका क्षेत्रमा काम गर्दै आएको कुलपति गुरुङले बताए । उक्त मेसिन तथा उपकरण विश्वविद्यालयकै मातहतमा उत्पादन गरिएको हो । आविष्कार केन्द्रले पहिलो चरणमा कृषिजन्य यन्त्र र औजार बनाएको कुलपति गुरुङले बताए ।

उत्पादित उपकरण र औजारले घाँस टुक्राउने, गोबर पेल्ने, कोदो टिप्ने, तरकारी/खानेकुरा सुकाउने (सोलार ड्रायर), दाउरा चिर्ने, अदुवा प्रशोधन गर्ने छन् । ‘विज्ञान तथा प्रविधिको वर्तमान युगमा नयाँ प्रविधि तथा नवप्रर्वतनलाई जोड दिन आवश्यक छ‚’ गुरुङले भने । केन्द्रले पेट्रोलबाट चल्ने स्कुटरलाई विद्युतीय स्कुटरमा परिवर्तन गरी प्रयोगमा ल्याएको छ । आविष्कार केन्द्रका निर्देशक थापाले अहिले गाउँको आवश्यकतालाई लक्षित गरि मेसिन तथा औजार उत्पादन गरिएको बताए । उनका अनुसार प्रविधियुक्त यन्त्र र बहुकार्यात्मक औजार जीवनोपयोगी हुन्छन् । उनले कोदो रोप्ने र अदुवा छोडाउने उपकरण निर्माणको चरणमा रहेको बताए ।

प्रकाशित : श्रावण ९, २०८० १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?