कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बढ्यो चुनावी चहलपहल

विराटनगरमा पनि चुनावी तालमेल सकसमा

म्याग्दी‚ गोरखा —  गाउँगाउँमा चुनावी चहलपहल बढेको छ । उम्मेदवार मत माग्न घरदैलोमा व्यस्त हुन थालेका छन् । म्याग्दीमा उम्मेदवारको टोली तामझाम र दलबलसहित बस्ती–बस्ती उक्लेका छन् । स्थानीय तह निर्वाचनमा एमाले, सत्ता गठबन्धनका कांग्रेस–माओवादी केन्द्रको चुनावी रणनीति उस्तैउस्तै देखिन्छ । उनीहरू तीनवटा टोली बनाएर प्रचारप्रसारमा खटिएका छन् । 

बढ्यो चुनावी चहलपहल

पहिलो टोलीमा नगर/गाउँपालिका प्रमुख, उपप्रमुखसहितको छ । यो टोलीले बस्ती–बस्ती स्तरमा पुगेर चुनावी कार्यक्रम गर्ने, समुदायका अगुवा र प्रभाव पार्न सक्ने व्यक्तिहरूसँग भेटघाट गर्ने गरेको छ । दोस्रो वडाध्यक्ष र सदस्यहरू सम्मिलित १०–१२ जनाको टोलीले सबै मतदाताको घरदैलोमा पुग्ने, गुनासा सुन्ने गरेको छ । तेस्रो टोली भने रणनीतिक प्रकृतिको छ, विपक्षी उम्मेदवारले भेटेका व्यक्ति, मतदाताको फलोअप गर्ने, तटस्थ मतदाताको निर्क्योल गरी उनीहरूको आवश्यकता पहिचान गर्ने र रिपोर्टिङ गर्ने । ‘चुनाव हो, जित्ने कुरा प्रमुख रहन्छ । स्थानीय तह निर्वाचनमा अझ मिहिन तरिकाले कार्यकर्ता परिचालन हुन नसके जित हासिल गर्न सकिन्न’ बेनी नगरपालिका–६ अथुँङ्गेका नारायण पौडेलले भने । जिल्लास्तरीय नेताले भनेअनुसार बढी मतदाता भएका गाउँ, पालिका मुकाम र उनीहरूको पुर्ख्यौली थलोमा पुग्ने गरेका छन् ।

गोरखामा मौन अवधि सुरु हुनुअघि सबै मतदाताको घरदैलोमा पुग्ने चटारोमा उम्मेदवार छन् । गोरखा नगरपालिका–६ की वसन्ती श्रेष्ठको घरमा मंगलबार बिहान फरक–फरक पार्टीका ३ उम्मेदवार हात जोड्दै मत माग्न पुगे । श्रेष्ठले सबैलाई विजयको शुभकामना दिइन् । ‘उहाँहरूले भोट माग्दै आफ्ना कुरा राख्नुभयो, हामीले सुन्यौं, जितेर यो ठाउँको विकासमा लाग्नुस् भनेर बिदा गर्‍यौं,’ उनले भनिन् । घरदैलोको अलावा उम्मेदवारले प्रचारका लागि टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालको प्रयोग गरेका छन् । युवा पुस्तालाई लक्षित गरी गाउँ विकासको एजेन्डासहित आफ्ना विषयवस्तु पस्कने सजिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पालुङटार नगरपालिका–२ का अशोक मरहट्टाले मतदानको दिन नजिकएसँगै घरदैलोको चटारो परेको उनले बताए । ‘वडाध्यक्षसहितका ५ उम्मेदवार सबैको घरमा पुग्ने योजना छ,’ माओवादी केन्द्र निकटका मरहट्टाले भने, ‘प्रत्येक वडाभित्र आठ वटा टोल विभाजन गरी प्रमुख, उपप्रमुखका उम्मेदवार पुग्ने र आफ्ना एजेन्डा सुनाउने गरी प्रचारप्रसार कार्यतालिका मिलाएका छौं ।’ एमालेको गोरखा नगरपालिका प्रमुख पदका उम्मेदवार सम्झना देवकोटासहितको टोली मंगलबार सदरमुकामको बजार क्षेत्रमा मत माग्न व्यस्त थियो । ‘वडाका उम्मेदवार सीमा क्षेत्रसम्मै पुगेर मतदाता भेट्न र हाम्रा एजेन्डा बुझाउन व्यस्त हुनुहुन्छ,’ एमाले जिल्ला सदस्य किरण ढकालले भने, ‘र्‍याली र कोणसभामार्फत एजेन्डा राखेका छौं ।’

बाक्लो बस्ती र जनघनत्व भएको ठाउँमा उम्मेदवारले घरदैलोसँगै कोणसभा गरेर पनि आफ्ना कुरा मतदातामाझ पुर्‍याएका छन् । अजिरकोट गाउँपालिकामा उम्मेदवारहरू प्रत्येक टोलमा पुगेका छन् । ‘पाँच वडा छन्, सबै वडाका टोलमा चुनावी प्रचारमा पुग्ने योजनामा छौं,’ नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष सुवास अधिकारीले भने, ‘प्रचारका लागि गाउँमा घरदैलो नै प्रभावकारी बनेको छ ।’ स्थानीय तह निर्वाचन भएकाले पनि आफ्नो गाउँ ठाउँको विकासमा उम्मेदवारको प्राथमिकता छ ।

प्रकाशित : वैशाख २३, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?