कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोली–तामदानी हेर्न संग्रहालय जानू

हरिराम उप्रेती

(गोरखा) — बिहेमा प्रयोग हुने डोली हराउन लागि सक्यो, यस कुमार र पविता परियारको गीत सुन्न सकिन्छ । पछिल्लो समय डोलीमा बेहुला वा बेहुली चढेको कमै मात्र देखिन्छ ।

मायाको डोली चढाई तिमीलाई लैजाउँला नि

बसौंला सानै घरमा मैं राजा तिमी रानी...


समयको विकाससँगै डोली चढ्ने चलन हराउँदै छ । डोलीजस्तै आएको विवाह उत्सवमा प्रयोग हुने तामदानीको प्रयोग पनि घट्दो छ । गोरखाको सौरपानी, मुच्चोक, मिरकोट, ग्याजी, गोहोरे र छोप्राकलगायत केही गाउँमा हिजोआज पनि कतै कतै तामदानीको प्रयोग हुँदै आएको देख्न पाइन्छ । बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा यही मंसिर महिनामा भएका केही विवाह समारोहमा तामदानीको प्रयोग भएको स्थानीय मोहन ढकाल बताउँछन् ।


‘पहिलेभन्दा कम प्रयोग भएको छ, हराएकै चाहिँ छैन,’ उनले भने, ‘गाउँमा आउने जन्ती तामदानीको प्रयोग भएको देखेर अचम्म मान्छन् ।’ अहिले गाडीमा चढेर आएका बेहुलालाई केही दूरी तामदानीमा राखेर बेहुली पक्षले बोकेर जग्गेसम्म पुर्‍याउने चलन रहेको उनले सुनाए । ‘तामदानीमै राखेर गाडी भएको ठाउँसम्म बेहुलीलाई पनि पुर्‍याइन्छ,’ उनले भने । गाउँमा अझै चारवटा तामदानी छन् । ‘मेरै घरमा पनि एउटा तामदानी थियो, भूकम्पले एक भागमा क्षति पुर्‍याएपछि थन्किएको छ,’ ढकालले भने ।


तौलमा हलुका हुने काठलाई बुट्टेदार बनाएर विशेषगरी विवाहमा दुलाहा र दुलहीलाई बोक्ने एउटा माध्यम डोली ग्रामीण भेगमा दुई दशकअघिसम्म निकै चलनमा थियो । सडक सञ्जाल विस्तार भए । यातायातका साधन पुगेसँगै परम्परागत डोली र तामदानीको प्रयोग घट्यो । बिहेको स्वरूप फेरिँदा पनि पुराना चलनमा फेरबदल आएको हो । प्रेमविवाहको चलन बढ्दै जाँदा बिहेका परम्परागत विधि गरिरहने झन्झट परेन । डोली र तामदानी पनि चाहिएन । हराउने अवस्थामा पुगेको तामदानी गोरखा संग्रहालयमै पनि प्रदर्शनीमा राखिएको छ ।


२००५ सालको वैशाख महिना । गोरखा नगरपालिका–६ दरबारमार्गका नारायणभक्त अर्याल बाजागाजासहित दुई डोली लिएर दुलही लिन पालुङटारको देवकोटा गाउँ पुगे । तत्कालीन समयमा दुलही शोभा आठ वर्षकी थिइन्, दुलाहा नारायणभक्त ११ वर्ष लाग्दै थिए । ‘त्यो बेलामा बालखैमा बिहे गर्ने चलन थियो,’ उनी सम्झन्छन्, ‘डाडाको (काठ) दुईतिर फलामले बेरेको, फलामे हुकमा रंगाएको पाटको झोलुंगो बेरेर आकर्षक दुईवटा डोली सिंगारेर दिनभर हिँडेर दुलही लिन गएको ।’ अहिले नारायणभक्त उमेरले ८४ टेके, शोभा ८२ लागिन् । तर डोली चढेर बिहे गरेको उनीहरूको मानसपटलमा ताजै छ । ‘मेरो बिहेमा प्रयोग भएको एक डोली त अझै जस्ताको तस्तै छ,’ उनले भने ।

समय फेरिँदै जाँदा उनै नारायणभक्तले छोरा सरोजको बिहेमा भने डोलीको प्रयोग गर्नुपरेन । डोलीभन्दा सजिलो तामदानीको लोकप्रियता बढ्दै थियो । २०३४ सालमा सरोजले एक घोडासहित तामदानी लगेर विवाह गरे । ‘जाँदा तामदानीमा चढेर गएँ, आउँदा श्रीमती तामदानीमा म घोडा चढेर आएँ,’ सरोज भन्छन् । उनै नारायणभक्तले आफ्ना नातिनातिनीको बिहेमा भने डोली र तामदानीको झन्झट गराएनन् । मोटरको प्रयोग भयो । ‘त्यो बेला एक घोडा लैजाँदा गाउँमै हल्लाखल्ला हुन्थ्यो । इज्जत बढ्थ्यो, सानै अर्कै,’ नारायणभक्त भन्छन्, ‘अहिले २० वटा कार लगेको जति इज्जत त्यो बेला एउटा घोडा लैजाँदामै हुन्थ्यो ।’


धार्मिक मान्यतामा अनिवार्य नभए पनि त्यो समयमा डोली चढ्नेलाई प्रतिष्ठाको रूपमा लिइने नारायणभक्तले बताए । ‘डोली चढाएर विवाह गरेपछि पक्का भयो,’ उनले भने, ‘गरिबले पिठ्युँमा बोकेर ल्याउने पनि चलन थियो ।’ बालखैमा बिहे गर्ने चलन रहेकाले पनि दुलहीलाई नयाँ बाटो हिँड्न असजिलो नहोस् भनेर त्यो समयमा डोला वा तामदानीको प्रयोग गरेको हुनसक्ने उनले लख काटे । करिब सात दशकअघिसम्म खानदानी परिवारले दुईवटासम्म डोली लाने गरेको पाका पुस्ता स्मरण गर्छन् । ‘एउटामा बेहुला, अर्कोमा ज्वाइँ, भानिज वा कन्ये केटी हुन्थे । फर्कंदा भने एउटामा दुलाहा र अर्कोमा दुलही हुन्थे,’ नारायणभक्तले भने, ‘डोली अनिवार्य जस्तै थियो ।’


करिब २०२० सालतिर डोलीलाई तामदानीले विस्थापित गरेको थियो । तामदानीलाई बोलीचालीको भाषामा डोली भनिए पनि तामदानी निकै सुधारिएको हुने पोखराथोकका ७१ वर्षीय हीराबहादुर परियारले बताए । बस्ने गद्दा, आड लाग्ने ठाउँ, दायाँबायाँ हात राख्न मिल्ने भएकाले तत्कालीन समयमा सम्पन्न परिवारले तामदानीको प्रयोग गर्ने चलन रहेको उनी सम्झन्छन् । ‘त्यो बेला तामदानी वा डोली बोक्ने डोले हुन्थे,’ उनले भने, ‘अहिले डोलेले पनि आफ्नो काम छाडे । तामदानी पनि बिस्तारै हराउँदै गयो ।’ त्यो बेला प्रत्येक टोलमा एक तामदानी अनिवार्य जस्तै रहेको उनले बताए । ‘खानदानीको घरमा मात्र हुन्थ्यो, प्रयोग गरेबापत भाडा दिनुपर्थ्यो । डोली वा तामदानी भएका धनीलाई कसैले खसीको सपेटा वा गर्दनको मासु पनि भाडाबापत दिन्थे,’ परियार सम्झन्छन् ।


तामदानी मान्छे ओसारपसार गर्न प्रयोग गरिने चक्कारहित भरियाद्वारा बोकिने साधन हो । तामदानी शब्दको प्रयोग रामायणमा ईसापूर्व २५० तथा त्रिपिटकमा समेत गरिएको पाइएकाले उपयोग प्राचीनकालदेखि हुँदै आएको गोरखा संग्रहालय प्रमुख नवराज अधिकारी बताउँछन् ।


राजपरिवारका सदस्य बोक्ने साधनको प्रकारलाई तामदानी, अन्य नागरिकले विवाहमा वरलाई बोक्न प्रयोग गरिने प्रकारलाई पालकी र वधुलाई बोक्न प्रयोग गरिने प्रकारलाई डोली भनिने उनले सुनाए । पछि भने तामदानी सर्व– साधारणले पनि प्रयोग गर्न थाले । ग्रामीण भेगमा तामदानी वा डोली विवाह उत्सवको अतिरिक्त बिरामी, सुत्केरी वा घाइतेलाई बोक्न पनि प्रयोग गरिन्थ्यो ।


तामदानी अहिले यदाकदा मात्र देखिन्छ । नयाँ पुस्तामा निकै कमलाई यो बारे थाहा छ । डोली बोक्नेहरू नहुँदा पनि चलन घटेको हो । ‘डोली बोक्नेलाई समाजमा हेयको भावले हेरिन्थ्यो । ज्याला पनि कम पाइने भएपछि उनीहरूले पेसा बदल्न थाले,’ अधिकारी भन्छन् । २०५० यताका केही वर्ष बिहेमा बाजा बजाउन पनि घटेको थियो । उनले भने, ‘समाजलाई नियाल्दा २०६५ पछि बाजाको प्रयोगमा जागरण आयो, तर डोली र तामदानीको प्रयोग भने हुन छाड्यो ।’ सडक खुलेर यातायातका साधन चलेसँगै तामदानीको प्रयोग घटेको उनको भनाइ छ । ‘गाउँ–गाउँमा बाटो खुलेका छन्, त्यो बेला पो अन्य साधन थिएनन् । यात्राको थकानका कारण सम्बन्धमा खटपट नआओस् भनेर डोलीको प्रयोग गर्नै पर्थ्यो,’ उनी भन्छन्, ‘अहिले बाध्यात्मक अवस्था पनि छैन ।’ बिहे गर्ने उमेर हद बढ्दा पनि तामदानीको प्रयोग कम हुन थालेको हो । ‘त्यो बेला सानैमा बिहे गर्ने चलन थियो । अहिले २० नपुगी बिहे हुँदैन, डोलीको आवश्यकता पनि महसुस गर्दैनन,’ उनले भने ।


प्रकाशित : मंसिर २९, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?