कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पञ्चैबाजा बजाउँदै अपांगता भएका

हरिराम उप्रेती

(गोरखा) — पालुङटार नगरपालिका–५ ठाँटीपोखरीका प्रह्लाद गान्धारी आँखा राम्रोसँग देख्दैनन् । ‘ख’ वर्गको अपांगता परिचयपत्र पाएका उनलाई यताउति हिँडडुल गर्न सहारा चाहिन्छ । उनै प्रह्लाद मंगलबार सनई बजाइरहेको अवस्थामा भेटिए ।

पञ्चैबाजा बजाउँदै अपांगता भएका

पञ्चैबाजामध्ये सनई बजाउन सबैभन्दा गाह्रो हुन्छ । तर प्रह्लादले २० दिन लगातार सनई बजाउने अभ्यास गरे । ‘बजाउँदा बजाउँदै मुख सुनिन्थ्यो, तर भाका नआई बजाउन छाड्नै मन नलाग्नी,’ उनले भने, ‘अहिले हल्का फुल्का जान्ने भएँ ।’ सनईको ताल मिल्न थालेपछि उनी अझै हौसिएका छन् । उनको लगाव र आँट देखेर साथीहरू पनि दंग छन् । ‘मैल कम देख्छु । कुनै कार्यमा बाजा बजाउन जानु परे सहारा त चाहिएला तर यसैलाई ठूलो समस्या मान्दिनँ, अवसर पाएपछि हामी पनि केही गर्न सक्छौँ,’ प्रह्लाद भन्छन् ।


प्रह्लादसँगै अपांगता भएका ११ जनाको समूहले पञ्चैबाजा बजाउन सिकेका छन् । अपांगता दिवसको अवसरमा मंगलबार उनीहरू झ्याउरे भाकामा बाजा बजाउँदै सदरमुकाम परिक्रमा गरे । आफूले सिकेका सीप देखाउन पाउँदा उनीहरू खुसी देखिन्थे ।


गोरखा नगरपालिका–५ स्वाँराका पुष्कर बानियाँको दायाँ हात चल्दैन । सामान्य घरयासी कामबाहेक अरू काम गर्न सक्दैनन् । उनै बानियाँले महिना दिन लगाएर नर्सिङ बजाउन सिके । ‘पोख्त हुने अभ्यासमा छु,’ उनी भन्छन् । एक हातले भर नपाउँदा पनि उनी नर्सिया उठाउन जोडबल गर्दै थिए । ‘दायाँ हात थरर काम्छ, गर्छु भनेपछि जसरी पनि बजाइँदो रहेछ,’ उनले भने । अपांगता भएकाले अवसर पाए केही गरेर देखाउन सक्छन् भन्ने सन्देश आफूहरूले दिएको उनले बताए ।


दुवै आँखा कम देख्ने स्वाँराका ५१ वर्षीय नारायणकाजी बानियाँ उमेर घर्कंदै जाँदा सीप सिक्न गाह्रो रहेको अनुभव सुनाउँछन् । ‘उमेर भएकाले चाँडो सिक्ने रहेछन्,’ उनले भने, ‘हामीलाई सास तान्नै गाह्रो, तर पोख्त नभए पनि बजाउन जान्नेचाहिं भएको छु ।’ त्यसैगरी लोकनारायण श्रेष्ठ ट्याम्को बजाउन खप्पिस भइसके । जुनसुकै गीतको भाकामा होस् श्रेष्ठ ट्याम्को बजाएर तालसुरु गरिहाल्छन् । जिब्रो राम्रोसँग नफट्कारिने श्रेष्ठ बोल्नभन्दा बाजा बजाउन सजिलो रहेको अनुभव सुनाउँछन् । ‘सानैदेखि म बोल्न त्यति सक्दिन, बोल्न कठिन लाग्छ,’ उनले भने, ‘तर बाजा बजाउन सजिलो लाग्यो, अपांगता भए पनि आफ्नो गच्छेअनुसारको सीप सिक्न सकिंदो रहेछ ।’ दमाहा बजाइरहेका स्वारा कमलघारीका चूडाबहादुर खनखवासको शरीरको देव्रे भागले काम गर्दैन । ‘एक हातले अलिअलि भेउ पाउँछ, दमाहा ठटाउन त्यति गारो लागेको छैन,’ उनले भने ।


बाजा समूहमा नाम्जुङका विष्णुबहादुर वसेलले सहयोगीको भूमिका निर्वाह गरेका छन् । ‘ढलकीले सात ताल दिन्छ, बिनातालको ढलकी बजाए दमाहालगायतका अरू बाजाको लय मिलाउन गाह्रो हुन्छ,’ उनले भने, ‘ढलकी बजाएर अरू बाजा बजाउनका लागि मैले सहयोगीको भूमिका निर्वाह गरेको हुँ ।’ अपांगता भएकालाई नौमती बाजा सिकाउन सुरुका दिनमा साह्रै अप्ठेरो भएको प्रशिक्षक भक्तबहादुर परियार बताउँछन् । ‘कसैको आँखा कमजोर छ, मुखैमा राखेर वजाउन सिकाउनुपर्ने, कसैको हात कमजोर छन्, उनीहरूलाई पनि तरिका लगाएर सिकायौँ,’ उनले भने, ‘दुई सातामै अलिअलि सिकेका उनीहरूको लगाव देखेर दंग छु ।’


झ्याली बजाउँदै गरेका गौतम गन्धर्व व्यावसायिकता दिन खोजेको बताउँछन् । ‘जति बजाए त्यति जानिने रहेछ, कसैले बोलाए जान्छौँ, केही पैसा पनि पाइन्छ, अपांगता भएकाले बजाएको बाजा भनेर सम्मान र प्रचार हुने भयो,’ उनले भने । गोरखा नगरपालिकाको लक्षित बजेटअन्तर्गतको कार्यक्रमबाट ११ जना छनोट गरी पञ्चैबाजा सिकाएको नेत्रहीन संघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेतले बताए ।


प्रकाशित : मंसिर १८, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?