कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संग्रहालयमा पर्यटकको चाप

हरिराम उप्रेती

(गोरखा) — असोज लागेसँगै गोरखा संग्रहालयमा पर्यटकको चाप थेगिनसक्नु छ । पर्यटक बढेसँगै संग्रहालयले मंगलबार पनि खुला गर्ने निर्णय गरेको छ । अबदेखि सातामा सातै दिन खुल्ने भएको हो । 

संग्रहालयमा पर्यटकको चाप

कात्तिक ३० गते शनिबार एकै दिन २ हजार नौ सय ८६ पर्यटकले संग्रहालय प्रवेश गरेको सूचना अधिकारी सुनीता भडेलले बताइन् ।


पछिल्लो २ महिनामा २० हजार वढी पर्यटकले संग्रहालयको अवलोकन गरेका छन् । यो सिजनमा आन्तरिक पर्यटकको आवागमनमा वृद्घि भएको संग्रहालयको ठम्याइ छ । असोजको तुलनामा कात्तिकमा ४ गुणाले पर्यटक बढेका छन् । असोजमा ४ हजार ६ सय ५२ पर्यटक आएका थिए । कात्तिकमा यो संख्या बढेर १६ हजार ४० पुग्यो । यो शैक्षिक भ्रमणको सिजन भएकाले विद्यार्थीको संख्या उल्लेखनीय वृद्घि भएको हो । असोजमा ८ सय ३७ र कात्तिकमा ९ हजार ४ सय ३३ विद्यार्थीले संग्रहालयको अवलोकन गरेको भडेलले बताइन् । दैनिक ५ देखि २० विद्यालयका विद्यार्थी संग्रहालयमा आउने गरेका छन् ।


पर्यटकको चाप वढेपछि संग्रहालय प्रशासनले शैक्षिक भ्रमणको सिजन मानिने ३ महिना अव मंगलबार पनि संग्रहालय खुल्ला राख्ने निर्णय गरेको छ । यसअघि प्रत्येक मंगलबार प्रवेशद्वार पुग्दा पनि प्रवेश नपाएपछि पर्यटक आक्रोशित हुँदै फर्कन्थे । पुरातत्त्व विभागअन्तर्गतका संग्रहालयमा शनिबार नभई मंगलबार बिदा दिने प्रचलन छ । मंसिर, पुस र माघ महिनाका लागि मात्र यस्तो विशेष व्यवस्था मिलाइएको संग्रहालय प्रमुख नवराज अधिकारीले बताए ।


‘संग्रहालय घुम्ने टार्गेट बनाएर टाढा–टाढाबाट पर्यटक आएका हुन्छन्,’ उनले भने, ‘राजस्व पनि वृद्घि हुने, पर्यटक पनि खुसी हुने भएकाले यस्तो निर्णय गरेका हौँ ।’ अब साताभरि नै संग्रहालय खुल्ने उनले बताए । चालु वर्ष एक लाख पर्यटक भित्र्याउने लक्ष्य संग्रहालयको छ । तत्कालीन गोरखा राज्यको इतिहास बुझ्न आउनेका लागि यो लोकप्रिय गन्तव्य वनेको उनले बताए । संग्रहालय अवलोकन गर्नेमध्ये ४५ प्रतिशत विद्यार्थी हुन्छन् ।


संग्रहालयको १२ वटा कक्षमा ऐतिहासिक तथा जानकारीमूलक सामग्री राखिएका छन् । नेपाल एकीकरणमा प्रयोग भएका हातहतियार, भाँडाबर्तन, जातजातिको वेशभूषाअनुसारको डमी, तैलचित्र, पुष्पिका वाक्य, धार्मिक र बाजागाजा कक्ष छन् । द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाको जन्मकुण्डली कक्ष पनि यहाँ छ । धेरैजसो अवलोकनकर्ता हातहतियार ऐतिहासिक कक्षमा समय बिताउने गरेका छन् । तत्कालीन राजाको जन्मकुण्डली कक्षमा विद्यार्थी धेरै भुल्ने गरेका अधिकारीले बताए । अडियो भिजुल कक्ष पनि खुला भएको संग्रहालयले जनाएको छ । ‘यहाँ अवलोकन गरेपछि इतिहास संस्कृति र सामाजिक जीवन बुझ्न सजिलो हुन्छ,’ उनले भने । किताबमा पढेका कुरा प्रत्यक्ष देख्न पाइने भएकाले शैक्षिक भ्रमणमा गोरखा रोजेको झापाबाट आएका झलनाथ गौतमले बताए ।

प्रकाशित : मंसिर ४, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?