कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशका राष्ट्रपति  हमिद पोखरा आउँदै

कान्तिपुर संवाददाता

गण्डकी — नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा आउँदै छन् । उनको भ्रमणका लागि पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

बंगलादेशका राष्ट्रपति  हमिद पोखरा आउँदै

बिहीबार बिहान ११ बजे राष्ट्रपति हमिद पोखरा आइपुग्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताएका छन् । उनलाई प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङलगायतले पोखरा विमानस्थलमा स्वागत गर्नेछन् । गण्डकी सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठकले हमिदलाई स्वागत, सत्कारसँगै सुरक्षा व्यवस्था मिलाउने एकल निर्णय गरेको थियो ।


पोखरा आएलगत्तै राष्ट्रपति हमिद सिधै फेवातालपारिको फिस्टेल लज पुग्नेछन् । त्यसपछि फेवातालमा करिब ४० मिनेट बोटिङ गर्ने कार्यक्रम छ । बोटिङबाट फर्केर फिस्टेलमै ‘लन्च’ लिनेछन् । लगत्तै हेलिकप्टरबाट रुपाकोट रिसोर्ट पुगेर ताल र हिमाललगायतको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । उनका अनुसार राष्ट्रपतिको सुरक्षार्थ नेपाली सेनाको विशेष सुरक्षा रहनेछ ।


राष्ट्रपति हमिदको पोखरामा ४ घण्टा बसाइ हुनेछ । फेवातालमा सयर गर्ने भएकाले सुरक्षाकर्मीले फेवातालमा समेत सुरक्षा चेकजाँच गर्नेछन् । रुपाकोटमा हमिदलाई प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझालगायतले स्वागत गर्नेछन् । उक्त अवसरमा विभिन्न कला, सांस्कृतिक नाच तथा झाँकी प्रदर्शन गरिनेछ । रुपाकोटबाट विभिन्न दृश्य अवलोकन गरेपछि उनी बिहीबारै रुपाकोटबाटै काठमाडौं फर्किनेछन् । हमिदको प्रदेश भ्रमणको सबै व्यवस्थापन प्रदेश सरकारले नै गरेको बताउँदै प्रवक्ता बस्नेत भन्छन्, ‘राष्ट्रपतिज्यूसँग बंगलादेशकै ५५ जनाको टोली आउँछ । उहाँसँग नेपालका भीआईपी पनि आउनुहुनेछ ।’


पोखराका ठाउँठाउँमा नेपाल र बंगलादेशको झन्डा राखिएका छन् । हमिदलाई पोखरा महानगरको तर्फबाट विभिन्न जातीय, सांस्कृतिक, कला, प्रदर्शनी, पञ्चेबाजा बजाएर स्वागत गरिने बस्नेतले बताए । राष्ट्रपति हमिदको भ्रमणले भ्रमण वर्ष २०२० लाई सघाउ पुग्ने उनको भनाइ छ ।


प्रकाशित : कार्तिक २८, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?