कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फूल खेतीमा आमाहरू

आमा समूहले गाउँलाई फूलमा आत्मनिर्भर बनाउँदै वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्
कान्तिपुर संवाददाता

(कास्की) — गाउँलाई आत्मनिर्भर बनाउने र बजारमा पठाएर आम्दानी लिने सोचका साथ आमा समूहले फूल खेती गरेका थिए । मेहनतअनुसार फूल राम्रै फुल्यो । फूलले बजार मूल्य भने पाएन । 

फूल खेतीमा आमाहरू

मेहनत अनुसारको मूल्य नपाउँदा दु:ख लागेको मादी गाउँपालिका–२ ताङतिङकी पूर्णसुवा गुरुङ बताउँछिन् । ‘माला घरैदेखि बिक्री हुन्छ,’ ताङितङ होमस्टेकी सचिवसमेत रहेकी गुरुङ भन्छिन्, ‘उचित मूल्य नपाउँदा मर्कामा परियो ।’ आमा समूहलाई काम पनि हुने र फूलमा आत्मनिर्भर भएर केही बजार पठाउने उद्देश्यसहित २ वर्षअघि वडाबाट विनियोजन गरिएको महिला लक्षित वर्गतर्फको १ लाख रुपैयाँको लगानी गरि फूल खेती थालिएको थियो ।

आमा समूह अध्यक्ष पुष्टिमाया गुरुङले ३ रोपनी जग्गामा फूल खेती गरिएको बताइन् । ‘भनेजस्तो मूल्य पाइएन,’ उनले भनिन्, ‘यसपटक ४ लाख आम्दानी हुने अपेक्षा थियो । तर त्यसको आधामात्रै भयो ।’ गत वर्ष पनि २ लाख रुपैयाँमात्र आम्दानी भएको थियो । ‘फूल र माला बिक्री नहुने हैन तर, कम मूल्यमा दिनुपर्छ,’ गुरुङ भन्छिन्, ‘फूलको मूल्य सम्बन्धित निकायले तोकिदिए राम्रो हुने थियो ।’


गाउँमा सयपत्री फूल बाह्रैमास फुल्छ । यसले फूलको कहिल्यै अभाव हुँदैन । प्रतिगोटा माला ५० रुपैयाँभन्दा बढी नदिने अध्यक्ष गुरुङ सुनाउँछिन् । गुरुङका अनुसार समूहले अरूको जग्गा भाडामा लिएर फूल खेती गरेको हो । फूलमाला विभिन्न कार्यक्रम, विवाहका लागि बिक्री हुन्छ । वडाध्यक्ष एक्काजंग गुरुङ पनि सम्बन्धित निकायले मूल्य सुहाउँदो गराइदिए आमाहरू आत्मनिर्भर हुनेमा ढुक्क हुने सुनाए । अहिलेसम्म फूल पोखराका विभिन्न पार्टी प्यालेस र संघसंस्थाले लैजाने गरेका छन् ।


प्रकाशित : कार्तिक २६, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?