१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

भुस पोल्न बिदा

प्रकाश बराल

बागलुङ — यहाँको ताराखोला गाउँपालिकाले भुस पोल्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिएको छ । ताराखोलामा यो पर्वलाई ठूलो महत्वका साथ लिइन्छ ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले सार्वजनिक सूचना प्रकाशित गरेर कात्तिक २६ गते मंगलबार सार्वजनिक बिदा दिएको जनाएका हुन् । यहाँका मगर समुदायले आफ्नो इतिहास सम्झाउने गरी हरेक वर्ष भुस पोल्ने मेला गर्दै आएका छन् ।


ताराखोला गाउँपालिका २ अर्गलमा वर्षौअघि बसाई सरेर आएको समयको स्मरणमा उनीहरुले हरेक वर्ष यो पर्व मनाउँदै आएका हुन् ।


पाल्पाको अर्गलीबाट बसाई सरेर आएर मगरहरु बसोबास गर्न थालेपछि यो गाउँको नाम समेत अर्गल रहेको अनुमान छ । आएका मगरले खोरिया फाँडेर झारपात पोलेको सम्झनामा हरेक वर्ष कात्तिक अन्तिम साता यो मेला लाग्ने गर्छ । अर्गली मगर समुदायका सदस्यले घामको झुल्को सँगै विधिवत पूजा गरेर भुस पोल्न सुरु गर्छन् ।


यो पर्वको अवसरमा वर्षभरी निधन भएकाहरुको सम्झनामा श्राद्ध गर्छन् । यो पूजा गरेपछि हिउँदे अन्नबाली लगाउने समय सुरु भएको विश्वास गरिन्छ । अर्गली पूजा र भुस पोलेपछि धान काट्ने समय सुरु हुने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । भुस पोल्ने र खेतबारी खन्ने काममा युवायुवतीहरुले हानथाप गर्छन् ।


यो पर्वका लागि गाउँभरीका मानिस जम्मा हुन्छन् । खेतबारी खनेर भुस पोलेपछि सबै मिलेर गाउँने र नाच्ने काम पनि गर्छन् ।

प्रकाशित : कार्तिक २४, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?