कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकी करिडोर : ८० किमि चौडा हुँदै

बागलुङ र गुल्मी खण्डको सडक १० मिटर चौडा पार्न सेनालाई जिम्मा
प्रकाश बराल

(बागलुङ) — कालीगण्डकी कोरिडोरको बागलुङ र गुल्मीखण्डको ८० किमि सडक खण्ड आगामी असारभित्रै १० मिटर चौडा बनाइने भएको छ । 
चालु वर्षभित्रै चौडा पार्न भौतिक योजना तथा निर्माण मन्त्रालयले नेपाली सेनालाई निर्देशन दिएको छ । 

कालीगण्डकी करिडोर : ८० किमि चौडा हुँदै

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले रकमान्तरण गरेर भए पनि बजेट उपलब्ध गराउने भन्दै काम सक्न निर्देशन दिएको बताए । सचिव कार्की बागलुङको बलेवा खण्डमा शनिबार कोरिडोर अनुगमनमा आएका थिए । उनले सडक विभागका महानिर्देशक केशवकुमार कार्की र सेनाका अधिकृतको संयुक्त कार्यक्रममा सेनाको कामबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए । गत माघदेखि सेनाले यो खण्डलाई १० मिटर चौडा पार्ने काम गरिरहेको छ । ८० किमि सडक मध्ये १० किमि खण्डलाई बजेट अभाव हुने भन्दै छाडेको थियो ।

काम गरेको मध्ये ३५ किमि खण्ड सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । ३० किमि खण्डमा काम गरिरहेको छ । यो खण्डमा ५ वटा बेलिब्रिजसमेत सेनाले बनाएको छ । पुल बनाएपछि झन्डै ४ किमि सडक छोटिएको छ । ‘कामको तीव्रता देखेर हामी सन्तुष्ट भएका छौं, बजेटको अभाव हुन दिन्नौं,’ कार्कीले भने, ‘कर्णाली र कोसी कोरिडोरलगायतका ठूला योजनामा काम नभएर रहने बजेट रकमान्तरण गरेर कालीगण्डकीमा पठाउँछौं ।’ उनले कामको गुणस्तर र तीव्रताले सेनाप्रति सरकारी विश्वास बढाएको समेत सुनाए । मालढुंगादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरिरहेको छ । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमि ट्र्याक खोलेको थियो । सबै सडक खण्डको ट्र्याक खुलेपछि चौडा पार्ने काम पनि सेनाकै जिम्मामा दिइएको हो । अत्यधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएको थियो । यो खण्ड चौडा पारेर हस्तान्तरण भए लगत्तै सडक विभागले कालोपत्रेका लागि काम गर्ने उनले बताए ।


अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आएर गत माघमा चौडा पार्ने कामको शिलान्यास गरेपछि यहाँ चौबीसै घण्टा काम भइरहेको छ । सरकराले गत आर्थिक वर्षमा २० करोड रुपैयाँ रकम दिएर यो खण्डमा काम लगाएको थियो । ‘विहान बेलुकी नभनी पालो मिलाएर काम गराएको छु, चालु वर्षभित्रै ७० किमि स्तरोन्नति र चौडा हुन्छ,’ कालीगण्डकी कोरिडोर निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले भने, ‘बजेट आयो भने बाँकी १० किमिको पनि काम सक्ने प्रयत्न गर्छौं ।’ मन्त्रालयका सचिवले समेत बजेट कमी हुन नदिने आश्वासन दिएपछि जनशक्ति बढाएर काम सक्ने मनस्थितिमा पुगेको उनले बताए । शनिबार अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, रक्षा मन्त्रालयका सहसचिव जितबहादुर सुनार र नेपाली सेनाको विकास निर्माण निर्देशनालयका सहायक रथी रामधर सिंहसमेतले अनुगमन गरेका थिए ।


दर्जनौं स्थानमा बम पड्काएर मात्र सडक चौडा पार्न सकिने भएकाले सेनाले क्याम्प राखेर काम गरिरहेको छ । सुरक्षा दिने र नियमित सवारी चलाउने दुवै चुनौती सेनाले जिम्मा लिएको छ । हाल यो सडकको मालढुंगादेखि पालुङखोलासम्म बस र ट्रकसमेत चल्न थालेका छन् । बम समेत पड्काउनुपर्ने भएकाले सरकारले यो खण्डको काम सेनालाई दिएको थियो । गण्डकी प्रदेशको भारत सिमाना त्रिवेणीधामदेखि चीनको सिमाना कोरला नाकासम्म कोरिडोर ४ सय १७ किमिको हुनेछ । सबै खण्डमा ट्रयाक खुलिसकेको छ ।


बागलुङको बलेवा, जैदी, छिस्तीलगायतका स्थान, गुल्मी र पाल्पाका धेरै भूगोलका कृषिउपज बजार पठाउन कोरिडोर सहयोगी बन्ने संविधानसभाका सदस्य प्रकाश शर्मा पौडेलले बताए । उनले सेनाले ट्र्याक खोलेझैं सडक विभागले जिम्मा लिएपछि कालोपत्रे छिटो गर्न आग्रह गरे । ‘जनता अब ठेकेदारले काम आलटाल गरेको सहँदैनन्,’ पौडेलले भने, ‘विभागले पनि कामको तीव्रतामा चासो राखोस् ।’ चीनका पर्यटक लुम्बिनी र भारतका पर्यटक मुक्तिनाथ लैजान यो सडक उपयोगी हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।


प्रकाशित : कार्तिक २४, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?