कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेतीमा बढ्यो र्‍याफ्टिङ

छाल कम हुने भएकाले जलयात्राका लागि सुरक्षित 
प्रताप रानामगर

(दमौली) — जलयात्राका लागि सेती गण्डकी नदीमा र्‍याफ्टिङ गर्नेको घुइँचो लाग्न थालेको छ । अन्य नदीको तुलनामा सेती नदीमा कम छाल हुने भएकाले यहाँको जलयात्रा सुरक्षित मानिन्छ ।

सेतीमा बढ्यो र्‍याफ्टिङ

तनहुँको दमौली चाइनापुलबाट चितवनको गाईघाट त्रिशूली नदीसम्म जलयात्रा गरिन्छ । दमौलीदेखि गाईघाटको दूरी ३२ किलोमिटर पर्छ । बालकदेखि ज्येष्ठ नागरिकसम्मले सेतीमा जलयात्रा गर्न उपयुक्त भएको सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङ बताउँछन् । ‘जलयात्राका लागि सेती सुरक्षित नदी हो,’ उनी भन्छन्, ‘यहाँ जलयात्रामा कुनै जोखिम छैन ।’ अहिले जलयात्राको सिजन पनि हो । दैनिक जलयात्रा गर्ने समूह आउने गरेका छन् । दैनिक आधा दर्जन समूहले जलयात्रा गर्ने गुरुङले बताए । युरोप, अमेरिका र एसियाली मुलुकबाट पर्यटक आउँछन् ।


सेतीमा एक रात २ दिनको प्याकेजमा जलयात्रा हुन्छ । दमौलीबाट सुरु गरिने र्‍याफ्टिङको टोली बन्दीपुरको धाप र साराङघाटमा बाँस बस्ने गरेको छन् । पर्यटकलाई लक्षित गरेर धापमा सुविधासम्पन्न रिसोर्ट बनेको छ । साराङघाटमा क्याम्प बनाएर बसिन्छ । क्याम्पमा स्थानीयले खानेकुराको व्यवस्था मिलाउँछन् । क्याम्पमा बस्ने पर्यटकलाई मनोरञ्जन दिलाउन स्थानीयले कौराहा, झ्याउरेजस्ता नृत्य देखाउँछन् । अर्को दिन गाईघाटसम्म र्‍याफ्टिङ गरिन्छ । सेती नदी स्वदेश तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको हो । बर्खायामको समयमा पनि नदीको छाल जम्मा दुई ग्रेडको हुन्छ । त्यसैले सेती नदीमा बाह्रै महिना र्‍याफ्टिङ गर्न सकिन्छ । अमेरिकी पर्यटक अलवडले पहिलोपल्ट सेती नदीमा जलयात्रा गरेका थिए । ‘जीवनमा पहिलोपल्ट जलयात्रा गरेको छु,’ उनले भने, ‘जलयात्रा गर्दा आनन्द आयो । यो जलयात्रा अविस्मरणीय रह्यो ।’ जलयात्रासँगै हरियाली डाँडाकाडा र जंगल हेर्ने अवसर मिलेको उनले सुनाए ।


चितवन र सौराह घुम्न जाने पर्यटक बढी मात्रामा चितवनसम्म यात्रा रोज्ने गरेको र्‍याफ्टिङ गाइड रामेश्वर श्रेष्ठले बताए । ‘पर्यटक जलयात्रा गर्न मन पराउँछन्,’ उनले भने, ‘पोखराबाट सौराह फर्किंदा दमौलीबाट जलयात्रा गर्न रुचाउँछन् ।’ उनका अनुसार दमौलीबाट गाईघाटसम्म प्राय: पर्यटक सेतीनदीमा जलयात्रा गर्दै सौराहा घुम्न जान्छन् । दमौलीबाट सेती नदी हुँदै पर्यटक धाप र साराङघाटमा एक रात बस्ने र भोलिपल्ट चितवन जाने गर्छन् । सौराहा घुम्नका लागि पोखराबाट प्याकेज बनाएर हिंडेका अधिकांश विदेशी पर्यटक चितवनसम्म र्‍याफ्टिङ गर्छन् । ‘सार्वजनिक ठाउँमा पाटीपौवा छैन । हावाहुरी असिनापानी आउँदा पर्यटकलाई समस्या हुन्छ,’ श्रेष्ठले भने, ‘पाटीपौवा बनाउन आवश्यक छ । सेतीनदीको किनारमा फोहोर देखिन्छ । फोहोर मैलाको व्यवस्थापन गर्नुपर्छ ।’ नदीबाट धमाधम गिटी, बालुवा निकाल्ने कार्यले पनि जलयात्रामा समस्या परिरहेको उनले सुनाए ।


महर्षि वेदव्यासको जन्मस्थल मादी र सेतीको संगमस्थल व्यासभूमिले तनहुँको पर्यटन प्रवर्द्धनमा र्‍याफ्टिङले सहयोग गरेको सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले बताए । दुई दशकदेखि सेती नदीमा र्‍याफ्टिङ गर्न सुरु गरिएको हो ।


प्रकाशित : कार्तिक २४, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?