कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशबाट फर्केर फूलखेती

सम्झना रसाइली

तनहुँ — रोजगारीका क्रममा विदेशिएका तनहुँ शुक्लागण्डकी नगरपालिका–८ दहरेका युवा यतिबेला गाउँ फर्केर व्यवसायिक रुपमा सयपत्री फूलखेती गरेका छन्  । वैदेशिक रोजगारी सोचेजस्तो नभएपछि आफ्नै गाउँठाउँमा व्यावसायिक रुपमा कृषि, पशुपालनसँगै फूलखेती थालेका हुन्  ।

विदेशबाट फर्केर फूलखेती

कुनै समय करेसा र आँगनको शोभाका लागि लगाइने फूलबाट आम्दानी हुने देखेर युवा व्यावसायिक खेतीमा लागेका हुन् । ‘विदेशबाट फर्किएर के गर्ने भन्ने दोधारमा थियौं,’ युवा उज्वल श्रेष्ठले भने, ‘सामूहिक फूलखेती रोजेका हौ ।’ एक दशक विदेशी भुमिमा पसिना बगाए पनि गाउँ आउँदा सीप न पैसा भएको भन्दै उनले विदेशमा गरेको मिहेनत गाउँमै केही गर्न सके यहि परिवारसँगै रमेर बस्न पाइन्छ भनी व्यावसायिक रुपमा कृषि, पशुपालनसँगै अहिले फूलखेतीमा लागेको बताए ।

उज्वलजस्तै ५ देखि १० वर्ष वैदेशिक रोजगारीमा बिताएका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीको समुहले ४ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । ‘घरअगाडिकै बारीमा थोरै मिहेतनमा गरिएको फूलखेती अहिले फुलेर ढकमक्क भएको छ’, हेमबहादुरले भने, ‘फूलको बजारमा राम्रो माग हुन थालेको छ । पहिलो वर्षमै हाम्रो लक्ष्य अनुसारको उत्पादन र आम्दनी हुने अवस्था भएकाले अर्को वर्ष फूलखेतीलाई बढाउने योजना बनाएका छौं ।’

स्वदेशमै केही गर्छु भन्ने युवाले उत्पादन गरेका कृषि उपज विक्री वितरणका लागि सरोकारवाला निकायले बजार व्यवस्था मिलाइदिनुपर्ने युवा बताउँछन् । ठकुरीले भने, ‘बजारको राम्रो व्यवस्थापनका साथै समयमै बीउबिजन, मल पाइयो भने व्यवसाय राम्रो हुन्छ । यो व्यवसायको सम्भावन राम्रो भएकाले वैदेशिक रोजगारीमा भौंतारिरहेका युवाले आफ्नै गाउँठाउँमा बसेर स्वरोजगार हुने अवसर मिल्ने थियो ।’ युवालाई वडा कार्यालयमार्फत चार दिनको फूल खेतीसम्बन्धी तालिम दिइएको थियो । उक्त तालिमबाट सिकेको सीपलाई युवाले प्रतिबिरुवा ११ रुपैयाँका दरले ३ हजार ५ सय बिरुवा खरिद गरी तिहार पर्व लक्षित फूलखेती गरिएको कृषक ठकुरीले बताए ।

शुक्लागण्डकी–१२ सुन्दरेमा २ युवाले सञ्चालन गरेको फिरफिरे अर्गानिक एग्रिकल्चर फर्मले पनि १२ रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् । आधुनिक प्रविधिको प्रयोग गरी गरिएको फूलखेतीले अहिले दैनिक जसो आन्तरिक पर्यटकसमेत आकर्षित गर्ने गरेको कृषक मदन पौडेल बताउँछन् । नेपालमा फूल पर्याप्त नहुँदा भारतबाट वर्षेनी आयात गर्नुपर्ने बाध्यता रहेकाले शुक्लागण्डकीलाई आत्मनिर्भर बनाउन फूलखेती गरिएको युवाले बताएका छन् । व्यवसायिक रुपमा कृषि र पशुपालन पेशा अंगाल्न थालेका यहाँका युवाहरूले सरकारले दिने भनेको अनुदान सहज रुपमा पाउन नसकेको गुनासो समेत गरेका छन् ।

विदेशबाट फर्किएर स्वदेशमै आत्मनिर्भर हुन इच्छुक व्यवसायीलाई वडाको तर्फबाट पनि सहयोग रहने शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । उनले भने, ‘सामुयिक रुपमा आफ्नै गाउँठाउँमा बसि कुनैपनि व्यवसाय गर्न इच्छुक वडाबासीका लागि कार्यालयले लघु उद्यम संचार कार्यक्रममार्फत १२ लाख रुपैयाँ विनियोजन गरेको छ र यसलाई अनुदानमार्फत व्यवसायीलाई उपलब्ध गराउनेछौं ।’

प्रकाशित : कार्तिक १०, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?