खेल्दै–पढ्दै बालबालिका

दिउासो टिफिन समयमा खाजा खाएर बालबालिका एकछिन पालैपालो खेलेपछि कक्षाकोठाभित्र गएर पढ्छन् । कहिलेकाली शिक्षकले नै पार्कमा लैजान्छन् ।
आश गुरुङ

लमजुङ — एक हुल बालबालिका साढे ९ बजे नै स्कुल आउँछन्  । पालैपालो गरी पिङ, सिलिमिली, चाकचुली, घुमाउने खेल्छन्  ।

जव घण्टीले १० बजाउँछ, बालबालिका लाइनमा बस्न जान्छन् । प्रार्थना गर्छन् । कोठाभित्र पसेपछि पढाइ सुरु हुन्छ । दिउँसो खाजा छुट्टी हुन्छ । खाजा खान्छन् र एकछिन पालैपालो खेलेपछि कक्षाकोठाभित्र पसेर फेरी पढ्न थाल्छन् । कहिलेकाहीं शिक्षकले बालबालिकालाई पालैपालो खेल्न र पढ्न पार्कमा लैजान्छन् ।

शुक्रबारको दिन आधा छुट्टीको दिन भएकाले बालबालिका धोको फेरेर खेल्छन् । क्व्होलासोंथर गाउँपालिका–१ बाग्लुङपानीको जनज्योति माविमा बालबालिकालाई पढाइप्रति आकर्षित गराउन बाल उद्यान अर्थात चिल्ड्रेन पार्क निर्माण गरिएको छ । उनीहरू खेल्दै पढ्छन् र पढ्दै खेल्छन् ।

प्रधानाध्यापक बिलप्रसाद गुरुङका अनुसार चिल्ड्रेन पार्क निर्माणपछि ससाना बालबालिका नियमित विद्यालय आउन थालेका छन् । ‘कहिले आमासँग झगडा गर्ने, कहिले केही किनिदेऊ भनेर झगडा गरेर कहिलेकाहीं स्कुल आउने थिएनन्,’ उनले भने, ‘खेल्ने ठाउँ बनाइदिएपछि, खेल्ने चिज भएपछि नानीबाबु नियमित स्कुल आउन थालेका छन् ।’

बेंसीसहर नगरपालिका–२ भकुन्डेस्थित बालकल्याण माविका प्रधानाध्यापक तीर्थ न्यौपानेले चिल्ड्रेन पार्क बनेपछि बालबालिका नियमित विद्यालय आउन थालेको बताए । ‘अरूभन्दा पनि १ देखि ५ कक्षासम्मका बालबालिका बढी मात्रामा खेल्छन्, रमाउँछन्,’ उनले भने । उनका अनुसार विद्यालयको चौरमा चिल्ड्रेन पार्क बनाइएको छ । विद्यार्थी आफैं फुर्सद निकालेर खेल्छन् । ‘विद्यार्थी खेल्छन्, रमाउँछन्, पढ्छन्,’ उनले भने, ‘खेलमा रमाउन थालेपछि विद्यार्थी नियमित छ । खेलसँगै विद्यार्थीलाई सिक्न र पढ्न जोड दिएका छौं ।’

सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन यी दुई विद्यालयले चिल्ड्रेन पार्क निर्माण गरेका हुन् । निजी स्कुलमा यस्ता खालका खेलका माध्यम र खेलकुद सामग्रीले विद्यार्थी आकर्षित भएपछि ग्रामीण भेगको जनज्योति र सहर नजिकैको जनकल्याणले विद्यालयमा चिल्ड्रेन पार्क निर्माण गरेको हो ।

प्राथामिक तहसम्मका विद्यार्थीलाई लक्षित गरी चिल्ड्रेन पार्क निर्माण गरिएको हो । पार्कमा पिङ, चिप्लेटी, घुमाउने पिङ, चाकाचुली, टेबलटेनिस खेल्ने बोर्ड, भलिबलका लागि नेट, क्यारमबोर्डलगायत राखिएका छन् ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को ‘सामुदायिक संलग्नता तथा बाल स्पोन्सरसीप कार्यक्रम’ अन्तर्गत विद्यालयमा चिल्ड्रेन पार्क निर्माण गरिएको विद्यालयले जनाएको छ ।

आरसीडीसीका कार्यकारी निर्देशक प्रेमबहादुर भट्टराईका अनुसार विद्यार्थीलाई पढाईसंगै मनोरञ्जन प्रदान गर्न विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा सहयोग गरेको हो । सामुदायिक संलग्नता तथा बाल स्पोन्सरसीप कार्यक्रमकी टीम लिडर उमा अधिकारीले जनज्योतिमा ४ लाख ५७ हजार ९ सय ७० रुपैयाँ र बाल कल्याणमा ४ लाख २४ हजार ४ सय ८१ रुपैयाँमा चिल्ड्रेन पार्क निर्माण गरेको बताइन् ।


प्रकाशित : कार्तिक १०, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

जुत्ता सिलाउँदै चेली

‘आफ्नै पौरखमा रमाएको छु, आफ्नै कमाइ खाएको छु’
आश गुरुङ

(लमजुङ) — बेंसीसहर नगरपालिका–३ की सुस्मिता गोतामेले ९ कक्षामा पढ्दै गर्दा १६ वर्षकै उमेरमा विवाह गरिन् । उनले सुन्दरबजार नगरपालिका–२ हाँडेटारका रबि गोतामेको घर सम्हाल्नुपर्‍यो । बुवाको २ वर्षअघि मृत्युपछि जुत्ता सिलाउने व्यवसाय सम्हाल्ने जिम्मा रबि र सुस्मिताकोमा सर्‍यो । उनीहरूले घरमा भएको व्यवसायलाई सुन्दरबजारमा ल्याए ।




सुन्दरबजार नगर कार्यपालिका कार्यालय अगाडि मासिक ४ हजार रुपैयाँ भाडा तिरेर गोतामे दम्पत्तीले जुत्ता पसल सञ्चालन गरेका छन् । घरबाट बजार झरेसँगै सुस्मिताले जुत्ता सिलाउन थालिन् । अहिले १४ महिना भयो । ‘यही पनि नगरे के खानु, बालबच्चा कसरी पढाउनु,’ सुस्मिताले सुनाइन्, ‘विदेश गएका उहाँ (पति) को पनि कमाई राम्रो भएन ।’

सुस्मिता बिहान उठेदेखि भान्साको काम गर्छिन् । छोराछोरीलाई स्कुल पठाएपछि जुत्ता सिलाउन बस्छिन् । पतिले झोला र जुत्ता बनाउँछन् । सुरुमा जुत्ता सिलाउने सियोले हातमा घोच्दा पीडा पनि सहिन् । ‘अहिले बानी परेको छ । आफूले जानेको गरेर खानुपर्छ,’ उनले भनिन्, ‘काम नगरे के खाने, के खुवाउने ?’

उनी दिनमा १० जोर बढी जुत्ता सिलाउँछिन् । एकजोरको १ सय रुपैयाँ लिन्छिन् । कम हुने दिनमा ५ वटा आउँछ । ‘महिनाको २०/२५ हजार हुन्छ । यसले खानलाउन पुगेको छ,’ उनले भनिन् । रविले ३/४ वटा जुत्ता बिक्री गर्छन् । यसमा ६ सय रुपैयाँ जति नाफा आउने उनी बताउँछन् । उनको कमाइ पनि त्यही २० हजार वरपर हुन्छ । ‘कमाइ नै तुलना गर्ने हो भने मेरोभन्दा बूढीको धेरै हुन्छ,’ उनले भने ।
कतार गएर मासिक १८ हजार तलबमा काम गरेका उनी २ वर्षपछि फर्किएका हुन् । ‘कमाइ भएन । कम्पनी पनि सानो रहेछ । यतिको पैसा त गाउँमै कमाउँछु भनेर फर्किएँ,’ उनले भने ।

उनले पसलमा २ लाख लगानी गरेका छन् । सहकारीबाट ऋण लिएर उनले व्यवसाय सञ्चालन गरेका हुन् । घर जानमात्रै हिँडेर १ घण्टा लाग्थ्यो । चाँडो आउन नसकिने र ढिलो जान गाह्रो हुने भएपछि उनीहरूले मोटरसाइकल किनेका छन् । सुस्मिताले भनिन्, ‘आफ्नै पौरखमा रमाएको छु, आफ्नै कमाइ खाएको छु ।’

प्रकाशित : कार्तिक ७, २०७६ १०:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT