कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानसिक सन्तुलन गुमाएको २२ वर्षपछि उद्धार

कान्तिपुर संवाददाता

लमजुङ — मानसिक सन्तुलन गुमेको २२ वर्षपछि एक युवकको उद्धार गरिएको छ । मानवसेवा आश्रमले उद्धार गरेर उपचारका लागि पोखरा पठाएको छ ।

मानसिक सन्तुलन गुमाएको २२ वर्षपछि उद्धार

सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकलाई आश्रमले उनी बस्दै आएको कोठाबाट उद्धार गरेको हो । गाउँकै महेन्द्र मन्दिर मावि कक्षा ४ मा पढ्दै गर्दा १२ वर्षको उमेरदेखि मानसिक सन्तुलन गुमाउन पुगेका उनलाई परिवारले एउटा कोठामा राखेको थियो । आश्रम बेंसीसहरकी संयोजक अनिता अधिकारीले उपचार आवश्यक रहेकाले आइतबार उद्धार गरेर पोखरा पठाएको बताइन् । उपचारपछि उनलाई आश्रममा राखिनेछ ।


पूर्णबहादुर कामीका ४ छोरामध्ये राजु माहिला हुन् । राजुका २ दिदीबहिनी छन् । ‘४ कक्षा पढ्दै थियो । त्यसपछि मान्छे देख्नेबित्तिकै पिटने, भागेर हिँड्ने, जेसुकै बोल्ने भयो । हामी आत्तिएर डोरीले बाँधेर राख्यौं,’ आमा लुरीमायाले भनिन्, ‘उपचार गर्न सकिएन ।’ उनका अनुसार निको भएर काम गर्न भन्दै भारतसम्म पुगेका थिए । फेरि मानसिक सन्तुलन गुमेको उनले बताइन् । बाँधेर राख्न हुँदैन भन्ने जानकारी पाएपछि राजुका लागि एउटा कोठाको व्यवस्था गरिएको उनले बताइन् ।


स्थानीयसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बाँच्न पाउने अधिकारलाई कुष्ठित गर्न नहुने बताए । ‘हाम्रै पहलमा हामीले उद्दार गर्‍यौं । यस्ता समस्याका व्यक्तिलाई गैरसरकारी संस्थाले नभई सरकारले संरक्षण गर्नुपर्छ,’ उनले भने । राजुमा पछिल्लो समय बढी समस्या देखिएको उनले बताए ।


उद्धार कार्यमा जनप्रतिनिधिदेखि सरोकारवाला निकायका संलग्न थिए । छिमेकीका अनुसार राजुले परिवारलाई निकै दु:ख दिएका थिए । बाध्यताले कोठामा थुनेर राख्नुपरेको थियो । ‘पहिले पहिले त बाँधेर पनि राखिएको हो । पछिपछि थुनेर राखियो,’ कार्यबाहक वडाध्यक्ष जगतबहादुर खड्काले भने ।


प्रकाशित : कार्तिक ६, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?