कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

बारपाक–लाप्राक सीमा विवाद : ‘विज्ञको राय मान्छौं’

रालाङ र सासिङको भूभाग आ–आफ्नो क्षेत्रमा पर्ने सुलिकोट र धार्चे गाउँपालिकाको दाबी
हरिराम उप्रेती

(गोरखा) — बारपाक–लाप्राक सीमा विवाद समाधानतर्फ अघि बढेको छ । सीमा विज्ञ ल्याएर स्थलगत अध्ययन गरी विवाद समाधान गरिने सहमति भएको हो । बारपाक सुलिकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राक सीमा क्षेत्रअन्तर्गत रालाङ र सासिङको भूभाग आ–आफ्नो क्षेत्रमा पर्ने दाबीले विवाद बढेको हो । 

बारपाक–लाप्राक सीमा विवाद : ‘विज्ञको राय मान्छौं’

बारपाक–लाप्राक सीमा विवाद समाधानतर्फ अघि बढेको छ । सीमा विज्ञ ल्याएर स्थलगत अध्ययन गरी विवाद समाधान गरिने सहमति भएको हो । बारपाक सुलिकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राक सीमा क्षेत्रअन्तर्गत रालाङ र सासिङको भूभाग आ–आफ्नो क्षेत्रमा पर्ने दाबीले विवाद बढेको हो ।


जिल्ला समन्वय समितिको अगुवाइमा आइतबार र सोमबार भएको छलफलबाट ७ बुँदे सहमति भएको छ । दुवै पक्ष हाल सतहमा देखिएको छिटपुट विवाद हल गर्दै सीमा विवाद टुंगाउन विज्ञ ल्याउन सहमत भएका हुन् ।


सिमानालाई वैज्ञानिक ढंगले सीमांकन गर्न दुवैतर्फका बस्तीको परमर्शमा संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले बताए । हाललाई परापूर्वकालदेखि प्रयोग हुँदै आएका सिमानामा रहेका खर्क प्रयोग गर्दै जाने र एकअर्काले हस्तक्षेप नगर्ने सहमति भएको छ । ‘परापूर्वकालदेखि जे जसरी भोगचलन गर्दै आएका छन् त्यसलाई निरन्तरता दिने दुवै पक्षको सहमति बनेको छ,’ गुरुङले भने । पछिल्लो समय सीमा विवाद सतहमा आएपछि दुवै गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको सहभागितामा बैठक बसेको हो । हाल विवादित क्षेत्रमा जडीबुटी प्रशस्त पाइने तथा खर्क रहेकाले पनि दुवै पक्षले दाबी गर्दै आएका हुन् ।


सीमा विवादकै कारण धार्चे गाउँपालिका प्रवेश गर्ने मुख्य सडक मर्मतमा गत साता वारपाकवासीले अवरोध गरेका थिए । लाप्राक सडकले बारपाकअन्तर्गतको स्यामेर, तसरा र तुम्सी बस्ती जोखिममा परेको दाबी गर्दै वारपाकका स्थानीयले सडक मर्मत रोकेका हुन् । दुई दिनसम्म चलेको बैठकले बारपाक–लाप्राक सडक मर्मत तत्काल अघि बढाई सवारी आउजाउको अवस्था बनाउने सहमति जुटाएको छ । जोखिममा परेका बस्तीको पुनःस्थापना तथा संरक्षणका लागि संघ तथा प्रदेश सरकारमा अनुरोध गर्ने पनि बैठकबाट निर्णय भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयबाट समन्वय हुनेछ ।


लाप्राक नयाँ बस्तीमा लगेको पानीको मुहान पनि आफ्नो भूगोलमा पर्ने वारपाकवासीले बताउँदै आएका छन् । खानेपानीको सवालमा प्राविधिक परामर्शको आधारमा आवश्यकतालाई मध्यनजर गरी बाँडफाँड गर्ने सहमति बनेको छ । सीमा विवादकै कारण बारपाकवासीले भदौ ३ मा ३ बाख्रा नियन्त्रणमा लिएका थिए । बारपाक सामुदायिक वन समितिबाट नियन्त्रण लिएका लाप्राकका बाख्रा सम्वन्धित किसानलाई तत्काल फिर्ता गर्ने भएका छन् । दुवै पक्षले शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्ने पनि सहमति गरेका छन् । अन्य विषयमा सम्बन्धित वडाको परामर्शमा आपसी छलफलको आधारमा टुंगो लगाउने सहमति बनेको समन्वय प्रमुख गुरुङले बताए ।


झन्डै ४ सय ६६ वर्ष अघिबाट विवादित रालाङ र सासिङ क्षेत्रका खर्क स्थानीयले आपसी समझदारीमा उपभोग गर्दै आएका थिए । दुई गाउँबीच २०६५ यता भने सीमा विवाद सतहमा आयो । यसबीचमा ८/१० पटक अगुवाबीच विवाद समाधानका लागि प्रयास भएको थियो । बैठकमा दुवै गाउँका अगुवा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतका सहभागिता रहेको थियो ।

प्रकाशित : कार्तिक ५, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?