कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीनारायण शाहकालीन पोसाकमा गोरखा दरबारमा सेना

कान्तिपुर संवाददाता

गोरखा — कालो दौरासुरुवाल, कम्मरमा खुकुरी, टाउकोमा चातोडा, हातमा भरुवा बन्दुक बोकेका नेपाली सेना गोरखा कालिका मन्दिरको दायाँबायाँ उभिएका छन् ।

पृथ्वीनारायण शाहकालीन पोसाकमा गोरखा दरबारमा सेना

मन्दिरमा झन्डै ४ सय वर्ष पुरानो पृथ्वीनारायण शाहकालिन पोशाकमा नेपाली सेना खटिएपछिको दृश्य हो यो । यसले आगन्तुक पनि छक्क पर्न थालेका छन । ‘यो इतिहास हो, राज्य एकिकरण पनि गोरखाबाटै भयो,’ मन्दिरमा भेटिएका शिवनाथ योगीले भने, ‘पृथ्वीनारायण शाह जन्मिएको दरबारमा उहाँले नै स्थापना गरेको नेपाली सेना पुरानै भेषभुषामा बस्दा खुसी लाग्यो ।’


नेपाली सेनाको रणसिं दल गणको पहलमा सार्दुल जंग गुल्म हनुमानढोकाको टुकडी गोरखा दरवार आएको हो । गुल्म पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको थियो । यसअघि हनुमानढोकामा मात्र यस्तो पोशाकमा सेना बस्दै आएको थियो । पृथ्वीनारायण शाहकै जन्मथलो गोरखा दरवारमा विहान ६ देखि साँझ ६ बजेसम्म नेपाली सेना वस्न थालेको रणसिं दल गणका गणपति उज्जल केसीले बताए ।


इतिहासको झल्को दिदै आन्तरिक तथा बाहृय पर्यटक भित्राउने लक्ष्यसाथ टुकडी खटिएको उनको भनाइ छ । ‘त्यहिवेला प्रयोग भएको पोशाक र हतियारसहितको सेना राखेका हौँ,’ उनले भने, ‘यसले नेपाल एकिकरणको इतिहास वुझ्न सहयोग मिल्ने अपेक्षा छ ।’ सेनासँग आगन्तुकले तस्विरसमेत खिच्न सक्नेछन् । इतिहासको सम्झना र सम्मान गर्दै सेनाले ११ जनाको टुकडी खटाएको हो ।


‘यहाँ आउने स्वदेशि र विदेशी पर्यटकलाई पनि नेपाल एकिकरणको क्रममा कस्ता पोशाकमा सेना थिए वास्तविकता हेर्न पाउने भए,’ उनले भने । यसले पर्यटन प्रवर्द्घनमा सघाउ पुग्ने गोरखा दरवार हेरचाह अड्डाका सुचना अधिकारी रामेश्वर कट्टेलले बताए । ‘चार सय वर्षअघिको कालो दौरा सुरुवाल कतिपय मान्छेले चिन्दैनन्, यो जीवित इतिहास हो,’ उनले भने, ‘यसको संरक्षण हुने नै भयो, पृथ्वीनारायण शाहकै जन्मस्थलमा उहाले नै स्थापना गरेको सेना, त्यहि वेलाको पोशाक सहित वस्दा गोरखा दरवार आउनेको संख्या पनि वढ्छ ।’ करिव ४० दशक अघिसम्म मिलिसिया यस्तो पोशाकमा सजिएर गोरखा दरबारमा बसेको पनि उनले बताए ।


तत्कालीन सेनाको बहादुरीको पनि खोज अनुसन्धानमा सहयोग पुग्ने उनको विश्वास छ । ‘देश एकिकरणमा सहयोग पुर्‍याएको सेना, विदेशमा पनि गोरखा पल्टन भन्ने नाम राखेका छन् सेनाको बहादुरीले गोरखाली भनेर देश विदेशका पनि चिनायो,’ उनले भने, ‘यो इतिहास थियो, अव पर्यटकले सेनासँग बसेर फोटो लिन पाउँछन्, यसले प्रचार हुन्छ ।’ सेनाको जग नै गोरखाबाट भएको

उनले बताए ।


दरबार पुनर्निर्माणको क्रममा रहेकाले अहिले गोरखा कालिका दरबारमा दैनिक २ सेना पृथ्वीनारायण शाहकालिन पोशाकमा सजिएर वस्नेछन् । २०७५ मंसिरबाट गोरखा दरवार नजिकैको फुलवारीबाट हटेको नेपाली सेना फेरि फर्किएको छ । सार्दुलजंग गुल्म हनुमानढोकाबाट आएको टुकडी र रणसिं दलका गणका सेना पुनः फूलबारीमा बस्न थालेका हुन् ।

प्रकाशित : कार्तिक २, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?