कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८३ करोडमा बन्यो स्कुल भवन

आश गुरुङ

(लमजुङ) — चीन सरकारले जिल्लाको राइनास नगरपालिका–९ मोहोरियास्थित भैरव माविको भवन निर्माण गरेको छ । करिब ८३ करोड रुपैयाँ लागतमा चिनियाँ निर्माण कम्पनीले आफ्नै स्रोत साधन, प्रविधि र मजदुर प्रयोग गरेर सुविधा सम्पन्न भवन बनाएको हो ।

८३ करोडमा बन्यो स्कुल भवन

अन्डरग्राउन्डमा १ तले र माथि ३ तले भवन निर्माण गरिएको राइनास नगरपालिका प्रमुख समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले बताए । उनका अनुसार स्कुल भवन निर्माणका लागि चीन सरकारले अनुदान दिएको होइन । भवन निर्माणका लागि निर्माण कम्पनीलाई खटाएको र सबै स्रोतसाधन चीनबाटै ल्याएको उनले बताए । भवन निर्माण १८ महिनामा पूरा भएको थियो ।


८ रोपनी जग्गामा विद्यालय भवनसहित अन्य संरचना निर्माण गरिएका छन् । भवनमा ६८ कोठा छन् । चीनको तिब्बत कन्ट्रक्सन कम्पनीले निर्माण गरेको उक्त भवनमा पठनपाठन थालिएको छ । भवनमा कार्यालयसहित २० कोठा सञ्चालनमा ल्याइएको छ । १७ कोठमा छात्राबास चालाइने विद्यालयले जनाएको छ ।


प्रधानाध्यापक राजेश्वर ढकालका अनुसार पुस्तकालय, विज्ञान प्रयोगशाला, बैठक कक्ष, सेमिनार हल लगायत छन् । ‘विद्यालय परिसरमा बास्केटबल खेलमैदान, सवारी पार्किङस्थल निर्माण गरिएको छ । विद्यालयमा १० वटा सोलार जडान गरिएको छ,’ उनले भने । उनका अनुसार ४० वटा कम्प्युटर समेत चीन सरकारले सहयोग गरेको छ । विद्यालयका सबै बेञ्च, कुर्ची लगायत फर्निचरसमेत चीन सरकारले सहयोग गरेको उनले बताए ।


भूकम्पले विद्यालयको भवन केही भत्किएको र चर्किएको थियो । विद्यालय भवन निर्माण भइरहँदा र निर्माण सकिएपछि पनि चीन सरकारले पठाएका प्रतिनिधिले अनुगमन गरेको थियो । ‘भूकम्पपछि कक्षाकोठा केही भत्किए, केही चर्किए । विद्यार्थीलाई पढ्ने ठाउँ नै भएन । पढाउन चौर नै खोज्नुपर्ने अवस्था पनि आयो,’ उनले भने, ‘चीन सरकारले मोडेल विद्यालय बनाउने कुरा ल्याएपछि हामीले छलफल चलायौं । माग गर्‍यौं । उहाँहरू स्वयं आफैं आएर विद्यालय भवन बनाउनुभो ।’


सुविधा सम्पन्न भवन निर्माणपछि विद्यार्थीलाई पठनपाठनमा सहज भएको छ । राइनास–९ का अध्यक्ष देवबहादुर थापाले गाउँमै उत्कृष्ट प्रविधि र सुविधासम्पन्न भवन बनेपछि विद्यार्थी, शिक्षकलाई सहज भएको छ । विद्यालय पूर्वाधार सम्पन्न निर्माण भएपछि अब शैक्षिण गुणस्तर पनि वृद्धि गर्दै लाने योजना रहेको उनले बताए ।


चीन सरकारले नेपालमा १० नमुना विद्यालय बनाउने घोषणा अनुसार लमजुङमा एउटा बनेको हो । २०१४ मा स्थापना भएको विद्यालय २०३३ देखि निमावि र २०५३ देखि मावि कक्षा पठनपाठन हुँदै आएको छ । विद्यालयमा २ सय ५० जना विद्यार्थी छन् ।

प्रकाशित : कार्तिक १, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?