कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

रातो किताब नआउँदै पेस्की

प्रकाश बराल

(बागलुङ) — सदरमुकाममै भए पनि बागलुङ नगरपालिकाले अहिलेसम्म रातो किताब छापेको छैन । रातो किताब नछाप्दा असोज मसान्तसम्म कुन वडामा कति योजना र बजेट बिनियोजन भएको छ भन्ने यकिन छैन ।

रातो किताब नआएकै कारण कुनै पनि कामका लागि पेश्की दिन समेत मिलेको छैन । लेखा अधिकृत जब्बरबहादुर भण्डारीले अहिलेसम्म साधारणखर्च तर्फको कर्मचारी तलब खुवाउने बाहेक खर्च नगरेको बताए । ‘पेश्की दिन नमिलेर बजेट खर्च भएको छैन,’ भण्डारीले भने, ‘कात्तिकपछि मात्र कार्यविधि अनुसारको काम हुनेछ ।’ अहिलेसम्म योजना सम्झौता पनि नभएकाले पेश्की दिन नपरेको उनले बताए ।


सामाजिक सुरक्षा भत्ता वितरणका लागि भने नगरपालिकाले स्थानीय सरकार सञ्चालन कार्यविधि मिचेरै दसैंमा पेस्की दिएको थियो । योजनाको पेस्की दिन नमिल्ने भन्दै उम्कने लेखाअधिकृत आँफैं पेश्की लिएर भ्रमणका लागि निस्केका छन् । बुधबारदेखि नगर कार्यपालिका सदस्यसहित कर्मचारीको जम्बो टोली ताप्लेजुङ भ्रमणमा निस्कियो । वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदी, महिला विकास शाखा प्रमुख सरस्वती रेग्मीसहित १४ कर्मचारी र ९ जनप्रतिनिधिको टोली भ्रमणमा निस्केको हो । केही जनप्रतिनिधि भने भ्रमणमा गएनन् । ‘गत वर्ष रारा भ्रमणमा ७ लाख खर्च गरियो, उपलब्धी केही भएन,’ एक वडाध्यक्षले भने, ‘अहिले पनि औचित्य पुष्टि हुने भ्रमण तालिका छैन, बजेट खर्चनेमात्र प्रवृत्ति भयो ।’ भ्रमणका लागि १० लाख रुपैयाँ बजेट निकासा भएको छ । भ्रमणका एक सदस्य वडा ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटाले उक्त बजेट चालु खर्चमा भएकाले पेश्की लिन मिलेको बताइन् । तर, उनकै वडा कार्यालय सञ्चालनका लागि भने अहिलेसम्म बजेट गएको छैन । वडासचिवले उधारोमा सामान खरिद गरेर काम चलाइरहेका छन् । वडा २ का एक कर्मचारीका अनुसार अहिलेसम्म व्यक्तिगतरूपमा ५० हजार रुपैयाँ खर्चेर कार्यालयको सामान खरिद गरिएको बताए ।


यो समस्या जैमिनी नगरपालिकामा पनि छ । प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले रातो किताब नआए पनि काम गर्न मिल्ने दाबी गरे । ‘किताब निकाल्नै पर्दैन, काम गरे भैगयो नी’ शर्माले भने, ‘केन्द्रमा पठाउनु पर्दा रातो किताब बनाएर पठाउने हो ।’ नगरसभाले विनियोजन गरेको रकम घटबढ गर्न नसकिने उनले दाबी गरे । एकमुष्ट रकममात्र नगरसभामा पेस गर्दा खर्चमा पहुँचवालाको मनोमानी हुने एक सदस्यले बताए । नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पहुँचवालाले उक्त रकमलाई आफूखुसी खर्चने गरेको भेटिएको थियो । चालु वर्ष नगरपालिकामा ५ सय योजना सञ्चालन गर्ने लक्ष्य छ । असोज मसान्तसम्म कुनै पनि योजनाको उपभोक्ता समिति समेत गठन भएको छैन । नगरपालिका भए पनि प्रेस नभएर छपाईका लागि अन्यत्रै पठाएको शर्माले दाबी गरे । जैमिनीमा पनि सामाजिक सुरक्षा, तलबभत्ता र भ्रमण खर्चका लागि बजेट निकासा गरिएको छ । गत साउनमै जनप्रतिनिधि र कर्मचारीको टोली जापान भ्रमणमा जाँदा ७ लाख रकम निकासा गरिएको थियो ।


गलकोट र ढोरपाटन नगरपालिकाले पनि रातो किताब ल्याएर काम थालिसकेका छन् । गलकोटमा ४ सय ५१ र ढोरपाटन नगरपालिकामा ४ सय योजना सञ्चालनमा आएका हुन् । ‘हामीले दसैं पेस्की दिने लगायतका सबै काम कार्यविधि अनुसार गरेका हौं,’ गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विकले भने । संविधानको धारा २२९ र स्थानीय सरकार सञ्चालन ऐनको दफा ६९ ले सञ्चित कोषको सञ्चालन, व्यवस्थापन र प्रतिवेदन प्रणालीमा एकरूपता कायम गराउन समयमै रातो किताब प्रकशन गर्नुपर्ने प्रावधान छ ।


रातो किताब छापेर प्रमुख प्रशासकीय अधिकृतले सबै विभागीय प्रमुखलाई वितरण गरेको १५ दिनमा बजेट कार्यान्वयनमा ल्याउने प्रावधान छ । ऐनको दफा ३१ ले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आयव्ययको वर्गीकरण तथा लेखांकन नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनुपर्ने भनेको छ । उक्त ऐनकै दफा ३२ मा तीनै तहले आयव्ययको आवधिक विवरण तोकेको ढाँचामा तयार गरेर सार्वजनिकीकरण गर्नुपर्ने भनेको छ ।

तोकिएको समयभित्र विवरण उपलब्ध नगराए अनुदान रोक्का गर्न सकिने ऐनमा उल्लेख छ । राजस्व र लेखा व्यवस्थापनका लागि ४ वटा मोडल र सूत्रसमेत संघीय सरकारले पठाएको छ । सूत्रको विकास अर्थमन्त्रालयको निर्देशनमा सार्वजनिक खर्च तथा वित्तीय उदरदायित्व सचिवालय र महालेखाले बनाएको हो ।


प्रकाशित : आश्विन ३०, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?