कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरवको योजनामा बजेट शून्य

प्रकाश बराल

बागलुङ — मध्यपहाडी लोकमार्गदेखि गलकोट नगरपालिका–११ रिघा पुग्ने सडकलाई नगरपालिकाले गत वर्ष गौरवको योजनामा राख्यो  । गौरवको योजना भएकोले प्रदेश सरकारको ५० लाख रुपैयाँ र नगरपालिकाको ५० लाख लगानी पनि गरियो  ।

उक्त बजेटले केही खण्डमा स्तरोन्नति गरिएको छ । सडक छेउमा नाली र पर्खालपनि बनेको छ । तर सडकको तीनमध्ये एक खण्डमात्र स्तरोन्नती भएको छ । दुइखण्ड बनाउन बाँकी छ । चालु बर्ष बजेट पर्छ भन्ने आस गरेका रिघाबासी अहिले भने निरास छन् । गौरवको योजनामा समावेश भएकै योजनामा दोस्रो वर्ष बजेट परेन ।

दशकअघि ट्रयाक खुले पनि सिधा यातायातका साधन पुग्न कठिन भएकोले स्थानीयले सास्ती खेपेका छन् । रिघादेखि सिसाखानी हुँदै पाण्डवखानी र रणसिंकिटेनीसम्म सडक जोड्ने लक्ष्य छ । तर चालु वर्षका लागि बजेट नपरेपछि गौरवको योजना बन्छ भन्ने विश्वास नलागेको स्थानीय मित्रलाल खरेलले बताए । ‘गत वर्षको बजेटले राम्रो काम पनि भएको थियो, तर चालु वर्ष बजेट आएन,’ उनले भने, ‘गौरवको योजना भएपछि निरन्तर बजेट राखेर काम सम्पन्न गर्नुपर्नेमा नगरपालिका पछि हट्यो ।’ संघीय, प्रदेश र स्थानीय तह कतैबाट पनि यो वर्ष बजेट नपरेको उनले गुनासो गरे ।

रिघालाई पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाको लक्ष्य पनि छ । त्यहाँको बौद्ध गुम्बा घुम्न पुग्ने धेरै छन् । तर यो सडक जोखिमको भएपछि सानो रिघा भन्ने स्थानबाट केही मानिस आउजाउ गर्छन् । मुख्य सडकमा भने खाल्डा, साँघुरो र भीरको बाटो भएकोले यात्रा गर्न डराउँछन् । सडक उपभोक्ता समितिका अध्यक्ष लालप्रसाद घर्तीले बजेट निरन्तर पारेर सडकको काम पुरा गर्न आग्रह गरेको बताए । ‘नगरपरिषद्ले यो वर्ष बजेट पारेको छैन, काम पूरा नहुने भयो’ उनले भने, ‘गौरवको योजनालाई कम्तीमा ३ वर्ष बजेट विनियोजन गरिनुपर्थ्यो ।’ वडा ११ को गौरवको योजना भने पनि अहिलेसम्म वडा ९ मा मात्र सडक बनेको छ । रिघाको सिमाना पुगेको काम त्यसअघि पुग्न नसकेको हो ।

गत आर्थिक वर्ष नगरपालिकाले वडा गौरवका योजना भन्दै ११ वटै वडामा ५० देखि ६५ लाख रुपैयाँको एकएक वटा योजना छनोट गरेको थियो । तीमध्ये वडा २ मा सभाहल बनाउने कार्यक्रम थियो । उक्त काम पूरा भएको छ । ६५ लाखको लागतमा भवन बनेको छ । रंगरोगन र फर्निचरको काम भने हुन सकेको छैन । वडा ३ मा कोट मैदान जाने सडकमा बजेट लगानी गरिएको थियो । उक्त बजेटबाट सडक पुगे पनि स्तरोन्नतिको काम नहुँदा वर्षातमै खाल्डा र पहिरो खसेको छ । वडा ५ मा भने हरिचौर बजारमा सडक ढलान गरिएको छ । झन्डै ४० लाख खर्चेर सडक ढलान गरिएको वडाध्यक्ष नारायणध्वज मल्लले बताए ।

अन्य केही योजनामा राम्रो काम नभएकोले गौरवको योजना भनेर बजेट विनियोजन नगरेको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । ‘कतिपय काम राम्रै भएका छन्, कतिपयलाई केन्द्रीय र प्रदेश सरकारको बजेट भित्राउन पहल भैरहेको छ, त्यसैले नगरको बजेट नराखेको हो’ गैह्रेले भने, ‘अघिल्लो वर्षको बजेटले राम्रो काम भएको मध्ये रिघाको सडक पनि हो, त्यसलाई ठूलो रकम पारेर काम सम्पन्न गर्ने लक्ष्य बनाएका हौं ।’

छलफलको चरणमा भएकोले तत्काल यो सडक अलपत्र जस्तो देखिएको भए पनि केही वर्षमै पूरा गर्ने लक्ष उनले सुनाए । बडिगाड गाउँपालिकाले पनि गत वर्ष गौरवको योजना भनेका सडकमा यो वर्ष बजेट लगानी गरेको छैन । ग्वालीचौरदेखि जलजला जाने सडकमा गतवर्ष २ करोड लगानी गरेकोमा यो वर्ष रकम घटाएको हो । ‘स्तरीय सडक बन्यो भने पटकपटक बजेट चाहिंदैन, तर यो वर्ष ठूलो लगानी गर्नुपर्थ्यो’ स्थानीय थमनबहादुर थापाले भने, ‘बजेट घटेको रहेछ, यो बाटो अझै जोखिम मोलेर हिंड्नुपर्ने भयो ।’

गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले भने सडकमा पर्खाल, नाली र स्तरोन्नतिको काम गरिने बताए । गाउँपालिकाबाट रकम घटे पनि संघीय सांसदमार्फत आउने पूर्वाधार साझेदारी विकास कार्यक्रमको बजेट लगाउने उनले बताए । उनले चालु वर्ष पनि दुईवटा सडकलाई गौरवको योजनामै राखेको बताए । यो सडकबाहेक दर्लिङ हुँदै प्युठान जोड्ने सडकलाई पनि एक करोड बढी रकम खर्चेर स्तरीय बनाउने योजना उनले सुनाए ।

गौरवकै योजनाको रूपमा सूचीकृत सदरमुकामदेखि भकुण्डे, रायडाँडा हुँदै बरेङ पुग्ने भनिएको सडकमा पनि चालु वर्ष बजेट छैन । गतवर्ष सदरमुकाम देखिनै सिगाना हुँदै गाजादह जाने सडकका लागि ठूलो रकम खर्चे पनि यो खण्ड एकतिहाइ मात्र चौडा भएको छ ।

चालु वर्ष उक्त खण्ड चौडा पार्ने कामका लागि बजेट नआएको स्थानीयले गुनासो गरे । ‘गौरवको योजना भनेर नाम लिनुभन्दा नियमित रकम खर्चेर नाली, संरचना र पहिरो नियन्त्रण गर्दा सडक स्तरीय बन्छ,’ बागलुङ नगरपालिका–८ का अध्यक्ष राजन जिसीले भने ।

प्रकाशित : आश्विन १८, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?