कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंको मुखमा सडक अवरुद्ध

दिप्ती सिलवाल

(पर्वत) — गत असारदेखि अवरुद्ध सडक खुलाउन स्थानीय सरकारले चासो नदेखाउँदा जिल्लाको दक्षिणी भेगका अधिकांश सडक अवरुद्ध छन् । बिहादी, पैयुं र महाशिला जोड्ने सडक ४ महिनादेखि अवरुद्ध भएका हुन् । कुश्मा र जलजला गाउँपालिका जोड्ने कतिपय मुख्य सडकसमेत ३ सातायता लगातार परेको वर्षापछि अवरुद्ध भएका छन् ।

दसैंको मुखमा सडक अवरुद्ध

कुश्मा र फलेबासकै मुख्य सडक समेत अवरुद्ध भएपछि सर्वसाधारणले सवारीसाधन छोडेर पैदल यात्रा गर्न बाध्य छन् । पैदल यात्रा पनि सहज छैन । असारदेखि बिग्रिएको सडक मर्मतमा ढिलाइ हुँदा बिहादी गाउँपालिकामा खाद्यान्न ढुवानी रोकिएको छ । ‘भदौभित्रै सक्ने भन्दै सडक बिस्तार सुरु भएको थियो,’ बिहादी–१ बाच्छाको जनकल्याण माविका शिक्षक झलक चापागाईंले भने, ‘अहिलेसम्म सडक खुलेको छैन ।


खबराको भीरमा पैदल हिंड्न समेत मुस्किल छ ।’ बिहादीबासीलाई कुश्मा हुँदै अन्य जिल्ला पुग्ने एकमात्रै मुख्य सडक चार महिनासम्म अवरुद्ध हुँदा दैनिक अत्यावश्यक सामान ढुवानीमा गम्भीर समस्या भएको स्थानीय हितमान गुरुङले बताए ।

निरन्तरको झरीका कारण जिल्लाको दक्षिणी क्षेत्रका प्रायः सडक अवरुद्ध भएका छन् । गाउँपालिका र नगरका २५ वडाबासी र छिमेकी बागलुङको जैमुनी नगरपालिकाका सर्वसाधारण समस्यामा परेका छन् ।


दक्षिणका पाङ्राङ, बाच्छा, होस्राङ्दी, टकलाक, सरौंखोला, रानीपानी, हुवास, भोर्ले, त्रिवेणी लगायत २ दर्जन वडा जोड्ने खानीगाउँ–पाङ्राङ–त्रिवेणी सडक ३ महिनादेखि अवरुद्ध छ । ‘सडक बिग्रिएपछि बिरामीलाई अस्पताल पुर्‍याउन सकिएको छैन,’ बेउलीबासका बेलप्रसाद काफ्लेले भने, ‘जहिलेसुकै बर्खामा यस्तै हो ।’ स्थानीय तहलाई सडक खुलाउन धेरैपटक गरेको आग्रह बेवास्ता गरिएको उनले बताए । सडकका ठाउँठाउँका पहिराले पुरेपछि गम्भीर बिरामीलाई स्ट्रेचरमा बोकेर लैजान पनि समस्या भोग्नुपरेको पाङ्राङका राधाकृष्ण पाठकले बताए ।


असारदेखि अवरुद्ध ग्रामीण सडक मर्मतमा सरोकारवालाले दसैं सुरु भइसक्दा पनि चासो देखाएका छैनन् ।

चाडबाड नजिकिएसँगै ग्रामीण सडक बन्द भएपछि ग्रामीण भेगका सर्वसाधारणले दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको बताएका छन् । ‘दैनिक खाद्यान्न ढुवानीमा समेत समस्या छ,’ फलेबास–१० की शोभा क्षत्रीले भनिन्, ‘यस्तै हालत भए दसैंमा सामान पाउनै मुस्किल छ ।’ सदरमुकामबाट सिधा सवारी नचलेपछि बीचबीचबाट मान्छेलाई बोकाएर ल्याउँदा ढुवानी महंगो पर्ने उनले बताइन् ।


सकिने समयमा मनसुन सक्रिय भएसँगै झरी परेपछि सबैजसो ग्रामीण सडक अवरुद्ध भएका हुन् । कच्ची सडकमा बाढी र हिलो जमेपछि सवारीसाधन चलाउन मुस्किल छ । सवारी नचलेपछि गाउँका सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । पैयुं–७ का हुमप्रसाद बस्यालले कुश्मा पुगेर घर फर्किन ५ दिन लागेको बताए । ‘हिउँदमा आज गएर भोलि सजिलै फर्किन्थ्यो,’ बस्यालले भने, ‘अहिले पोखरा हुँदै कुश्मा पुग्नै २ दिन लाग्यो । आउन २ दिन । १ दिन काममै खर्च भयो ।’


जिल्लाको कुश्मा र फलेवास नगरपालिका भित्रैका मुख्य सडक अवरुद्ध छन् । कुश्मा–१३ खौलालाँकुरी हुँदै कार्किटेटा पुग्ने सडक अवरुद्ध भएपछि समस्या भोग्न बाध्य छन् । ‘दैलामै सडक आउँदा हर्ष लागेको थियो,’ खौलालाँकुरीका सोमबहादुर विकले भने, ‘बाटो बने पनि सुख पाइएन ।’ स्थानीय तहका प्रमुखहरूले वर्षा नरोकिँदा सडक मर्मत गर्न समस्या भएको बताएका छन् । ‘दसैंसम्म सबै सडक मर्मतको तयारी छ,’ बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले भने, ‘मर्मत सुरु गर्ने बेलामा झरीले बिगार्‍यो ।’


प्रकाशित : आश्विन १३, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?