कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिङ्गो गाउँमा अर्गानिक तरकारी

(दमौली) — तनहुँको व्यास नगरपालिका–१४ को सिंगो गाउँमा अर्गानिक तरकारी खेती हुने गरेको छ । केही वर्षअघिसम्म बजारबाट तरकारी ल्याएर खाने स्थानीय यतिबेला भने बारीमा अर्गानिक तरकारी खेती गर्न थालेका हुन् । 

सिङ्गो गाउँमा अर्गानिक तरकारी

मौसमी तथा बेमौसमी अर्गानिक तरकारी खेती गर्दै आएको कुलुङ गाउँकी श्रीमाया आले बताइन् । ‘गाउँका सबै किसानले अर्गानिक तरकारी खेती गर्न थालेका छौं,’ उनले भनिन्, ‘विषादीमुक्त गाउँ बनाउने अभियान चलाएका हौं ।’ जनप्रतिनिधि आएपछि तरकारी लाउनुपर्छ भनेर तालिम दिएकाले व्यवस्थित रूपमा तरकारी खेती गर्न सुरु गरेको आलेले बताइन् । वडाले तरकारी खेतीबारे तालिम दिएको थियो ।


टनेलमा गोलभेंडा खेती पनि गरिएको छ । काउली, बन्दा, घिरौंला, चिचिन्डा, करेलो, भिन्डीलगायत तरकारी उत्पादन गर्दै आएको उनले बताइन् । ‘गाउँलेले होमस्टे पनि सञ्चालन गरेका छन्,’ उनले भनिन् ‘होमस्टेमा आउने पाहुनाले पनि अर्गानिक तरकारी खान मन पराउँछन् ।’ यहाँ उत्पादित तरकारी गाउँमै बिक्री हुन्छ । बढी भएको तरकारी दमौली र डुम्रे बजारमा बिक्री हुने स्थानीयले बताए ।


अर्गानिक तरकारी खेती प्रभावकारी भए पनि रोग लाग्ने गरेको छ । कृषि प्राविधिकको समस्या भएको छ । समयमा प्राविधिक नभएकाले समस्या भएको किसानले बताए । वडाका आधा दर्जन गाउँमा अर्गानिक तरकारी खेती गरेको वडा कार्यालयले जनाएको छ । कुलुङ, सोधेर, रुम्सी बेलडाडाँ, बेलभज्याङमा अगार्निक तरकरी खेती गरेको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । उनका अनुसार वडाले अर्गानिक खेती गर्न अनुदानको व्यवस्था गरेको छ । तालिम र टनेलका लागि शतप्रतिशत किसानलाई अनुदान दिएपछि किसान अर्गानिक खेतीमा होमिएको उनले बताए । अनुदानमा वडा कार्यालयले एक लाख रुपैयाँ खर्च गरेको छ । दैनिक ५ क्विन्टल तरकारी उत्पादन हुन्छ । दसैं र तिहारको बीचमा सबैलाई पायक पर्ने ठाउँमा तरकारी संकलन केन्द्र बनाउने तयारी गरेको श्रेष्ठले बताए । होमस्टे, मानव स्वाथ्य, आर्यआर्जनलाई मध्यनजर गरेर किसानलाई अर्गानिक तरकारी खेतीका लागि अनुदानको व्यवस्था गरेको हो । यहाँका एक सय २० घरधुरीले व्यावसायिक अर्गानिक तरकारी खेती गर्दै आइरहेका छन् ।


प्रकाशित : आश्विन ५, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?