कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल नहुँदा सास्ती

बागलुङको हरिचौर बजारमै रहेको खहरेमा स्थानीयले पर्खालमाथि काठ राखेर अस्थायी पुल बनाएका छन् । अस्थायी पुलमा जोखिम मोलेर जिप र ट्याक्टर आउजाउ गर्छन् । 
प्रकाश बराल

बागलुङ — तत्कालीन गलकोटे राजाको दरवार पुग्न मध्य पहाडी लोकमार्गको हटियादेखि हरिचौरसम्म तीन झोलुंगे पुल तर्नुपर्छ । ताराखोलाबाट झर्नेले पनि दुई पुलको सहारा लिनुपर्छ । 

पुल नहुँदा सास्ती

पुरानो दरवार र सदरमुकामसमेत भएकोले यहाँ घुम्न आउनेदेखि काम परेर जाने धेरै हुन्छन् । गलकोट नगरपालिका–५ र ६ तथा ताराखोला गाउँपालिकाको सबै वडामा लैजाने सामाग्री यहींबाट ढुवानी र खरिद हुन्छ । पैदल यात्रामात्र गर्दा झोलुंगे पुलको भर थियो, सडक निर्माणपछि नियमित सवारी चल्न थालेपनि जीर्ण सडक र पुल अभावले जोखिमको यात्रा गर्नुपर्ने बाध्यता छ ।


हिउँदमा खोलाबाटै तर्ने सवारीलाई बर्षातमा भने पुल अभावले समस्या परेको हो । सडक पुगेको २ दशकमा पनि यहाँ पक्की पुल छैनन् । खोलाबाटै जोखिमको यात्रा गर्ने बाध्य भएको स्थानीयले गुनासो गरे । जोखिम मोलेर खोलामै गुडेका सवारी रोकिने गरी आएको बर्षात र बाढीले गत बर्षदेखि झन सास्ती थपेको छ ।


गौंदीखोला, दरमखोला र खहरे खोलाको दायाँबायाँको धेरै जमिन बाढीले बगाएपछि सवारी साधन लैजान समस्या थपिएको हो । बाढीको कारण डेढ महिनासम्म पैदल यात्रीलाई पनि आउजाउमा समस्या परेको थियो । नयाँबाटो जुम्ली आचार्य संयुक्त निर्माण कंपनीले साढे ३ करोड रुपैयाँको लागतमा ४ वर्षअघि ठेक्का लिएको गौंदी पुल अझै अलपत्र छ ।


पुल अभावले यहाँबाट जिप र ट्रयाक्टर तर्न सक्दैनन् । मल्म र हरिचौर सिमानाको भैंसे पुगेर एकघण्टा घुमाउरो बाटो घुमेपछि हरिचौर जान सकिन्छ । गलकोट नगरपालिकाको कार्यालय गौंदी र दरमखोलाको बीचमा छ । त्यहाँ पुग्न अहिले कुनैपनि सवारी सक्दैनन् । गौंदीको पुल अलपत्र छ । दरमको राजाको झोलुंगे पुल चुडिएर जोखिम भएको छ । त्यहाँपनि पक्कीपुल निर्माणाधिन छ ।


हरिचौर बजारमै रहेको खहरेमा स्थानीयले पर्खालमाथी काठ राखेर अस्थायी पुल बनाएका छन् । अस्थायी पुलमा जोखिम मोलेर जिप र ट्रयाक्टर आउजाउ गर्छन् । काठ कुहिएर घटना हुनसक्ने खतरा भएपनि अरु बिकल्प नभएको स्थानीय तुलसी निउरेले बताए । मानिसमात्रै तर्नका लागि पुरानो झोलुंगे पुल छ । तर सवारीलाई समस्या भएको हो ।


यहाँ पुल बनाउनका लागि प्रदेश र संघिय सरकारमा माग भएपनि सहयोग नभएको गलकोट नगरपालिका–५ का अध्यक्ष नारायणध्वज मल्लले बताए । ‘बिकास निर्माणमा आफ्नै पहल र लगानी गर्नसक्ने स्थानमा काम गरेका छौं’ मल्लले भने, ‘ठूलो लगानीको काम केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्छ ।’


रिजालचोकदेखि ताराखोला जाने सडक बर्षातमा जोखिमको भएकोले अधिकांस सवारी साधन गलकोटको बाटो हिंड्छन् । हिउँदमा पनि ताराखोला, हिल र अमरभूमिका लागि यो पुलकै बाटो सवारी साधन जानेआउने गरेका थिए ।


ऐतिहासिक गलकोट दरवार र पुरानो सदरमुकामसमेत भएकाले गलकोट घुम्न आउनेहरू पनि धेरै छन् । तर एउटा निर्माणाधिन पुल अलपत्र, अर्को बन्ने तयारीमा र तेस्रो स्थानमा जोखिमको काठेपुल देखेपछि सवारी साधन ल्याएकाले हटिया बजारमै छाडेर जाने गरेका छन् । ‘गाडी भएपनि जोखिम देखेर हटियादेखि हिडेर आयौं’ स्याङजाका बिष्णु पौडेलले भने, ‘ऐतिहासिक स्थानलाई सबैले चासो दिएको भए सडक र पुल बनिसक्नुपर्थ्यो ।’


नगरप्रमुख भरत शर्मा गैह्रेले पुल बनाउनेलाई ताकेता गरिरहेको बताए । ‘सार्वजनिक खरिद ऐनले कारवाही गर्ने प्रावधान बाहेक हामीले ठेकेदार छुन पनि सक्दैनौं’ गैह्रेले भने, ‘काम गर्ने र नगर्नेको मूल्यांकन एउटै भएकोले ठेकेदारले हामीलाई टेर्दैनन् ।’ नगरपालिकाको कार्यालयमा गत जेठदेखि आफ्नै सवारी साधनसमेत लैजान नसकेको उनले बताए । सेवाग्राहीहरूले झोलुंगे पुलबाट जवरजस्ती मोटरसाइकल लैजाने गरेका छन् ।


केहीले भने डराएर हटियामै राखेर पैदल जाने गरेका छन् । नगरपालिका कार्यालय बसेपछि चरौंदीको फाँटमा अहिले सयौं घर बनेका छन् । घरधनीले सवारी साधन भने हटिया बजारमा छाड्न बाध्य छन् । हटिया बजारमा जग्गा अभावले जिप पार्कसमेत बन्न सकेको छैन । निजी सवारी साधन समेत सडकमै पार्किङ गराउने क्रम बढेपछि सवारी व्यवस्थापनमा कठिनाइ भएको ट्राफिक प्रहरी प्रकाश गिरीले बताए ।


ताराखोलातर्फ जाने बाटोमा पनि एउटा कच्ची पुलमा जोखिमको यात्रा गर्नुपर्छ । दुई वटा पुल भने पक्की बनेका छन् । गाउँलेले काठ ल्याएर पुल बनाएपनि वर्षातमा कुहिने र चिप्लो हुने खतरा छ । बिकल्प नभएपछि सवारीले पनि सकी नसकी यात्रा गरेको चालक बताउँछन् । गलकोटदेखि ताराखोलातर्फ जाने सडकका लागि प्रदेश सरकारको झण्डै ४ करोडको बजेट परेको छ । उक्त बजेटले सडक स्तरोन्नति गर्दै कालोपत्रेसम्मको तयारी छ ।


तर सडकमा पर्ने पुलका लागि भने थप लगानी चाहिने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘हाम्रो पालिका पुग्ने सडक स्तरीय बनाउन आन्तरिक र प्रदेश सरकारको लगानी भित्राएका छौं, तर पुलका लागि भने संघिय सरकारकै साथ चाहिन्छ,’ घर्तीले भने, ‘सडक र पुल अभावमा ग्रामीण उत्पादनलाई सहजै बजार पठाउन सकिएको छैन ।’

प्रकाशित : भाद्र ३१, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?