कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहे कामना गर्दै सिस्नो खोसाखोस

युवकले सिस्नाका भारीमा सुँगुरको साँप्रो बाँधेर बोक्छन् । त्यसपछि ढ्यांग्राको तालमा नाच्छन् । अविवाहित युवती भारीबाट सिस्नो र सुँगुरको मासु खोस्न समूहमा निस्कन्छन्, घम्साघम्सी हुन्छ । 
प्रकाश बराल

बागलुङ — ताराखोला गाउँपालिका–४ का ८० वर्षे जंगबहादुर रोकाले बिहानै नुहाइधुवाइ गरी चोखो भांग्रो लगाएपछि युवालाई बोलाए । सयभन्दा बढी युवा खोलामा नुहाई चोखो कपडा लगाएर करिमेला नजिकैको खेतमा जम्मा भए । अघिल्लो दिन उनीहरूले जंगलबाट १० भारी सिस्नो काटेर ल्याएका थिए । 

बिहे कामना गर्दै सिस्नो खोसाखोस

काठका ससाना ठेकीमा जाँड राखिएको थियो । अघिल्लो दिनमै भिजाएर राखेको गेडागुडीलाई पोको पारियो । जंगबहादुरका उमेरका गाउँमा छैनन् । त्यसैले ६० काटेका घमबहादुर घर्ती, खड्गबहादुर घर्तीलगायतले मन्त्र जपेर जाँड र गेडागुडी देवता र पितृलाई चढाए । आगो फुकेर धूप हाले ।


मागेपातको दुना बनाएर अक्षता, प्रसाद राखे । कटुसको हाँगा र दुइटा अरू काठका टुक्रा जमिनमा गाडियो । त्यसपछि अविवाहित २० जना युवकले मन्त्र जप्दै ढ्यांग्रो बजाए । अरू ३० जना पति युवक मिसिए । ५० कै हाराहारी युवती केही पर बसेर हेरिरहेका थिए । बाहिरी घेरामा बसेका बुढापाकाले पनि सँगसँगै मन्त्र फलाके ।


पूजा सकिएपछि सुँगुरको साँढ खुट्टा बाँधेर रुखमा झुन्ड्याइयो । सुँगुरको नाक काटेर रगत चढाइयो । देउता र पितृका लागि बोका, भाले, परेवा र कुभिन्डोको बली पनि दिइयो । यी मगर युवकयुवतीको सिस्नो खोस्ने पर्वको तयारीका क्रममा गरिएका क्रियाकलाप थिए । ‘गुरु’ ले सिकाए पनि यी सबै काम अगाडि सरेर अविवाहित युवकयुवतीले गर्नुपर्छ ।


पूजा सकेपछि युवकले सिस्नोका भारीमा सुँगुरको साँप्रो बाँधेर बोक्छन् । त्यसपछि ढ्यांग्रोको तालमा नाच्छन् । अविवाहित युवती भारीबाट सिस्नो र सुँगुरको मासु खोस्न समूहमा निस्कन्छन् ।


घम्साघम्सी हुन्छ । युवक सिस्नो र सुँगुर बचाउन लाग्छन् भने युवती खोस्न । युवकले सकेसम्म खोस्न दिँदैनन् । युवतीले सिस्नोको पात मात्रै भए पनि चुँडेर फाल्छन् । झम्टेर सिस्नोको पात, डाँठ जे सक्यो, त्यही खोस्न आउने युवतीलाई धेरै बेरसम्म झुलाइरहन्छन् ।


अविवाहित युवकयुवतीले राम्रो वर वा वधू पाउने, जीवन सुखमय बन्ने, वैवाहिक सम्बन्ध राम्रो बन्ने विश्वासले वर्षको २ पटक यो संस्कृति मनाउने चलन छ । ‘हाम्रा देवीदेवताको खुसी र पितृको उद्धारका लागि यस्तो बलि र नृत्य देखाउने गरिन्छ,’ ६० वर्षीय खड्गबहादुर घर्तीले भने, ‘यो मेलामा तन्नेरी र तरुनी मात्र सहभागी हुनुपर्छ ।’ विवाहित गए पाप लाग्ने विश्वास छ । जबरजस्ती गएको देखिए समूहले दण्ड पनि गराउँछ । हिल पँधेराखर्क भदौरे समूहमार्फत यो संस्कृतिलाई जोगाउने प्रयास भइरहेको छ ।


सिस्नो खोस्ने बेला ९ वटा ढ्यांग्रो बजाएर गीत गाइन्छ । पूजा सकेपछि मासुको रसमा ढिँडो आफन्त र पाहुनालाई खुवाउने चलन छ । बलि दिने भेडा ढोरपाटनबाट, सुँगुर भारतको सुनौली र कुखुरा पाल्पाको अर्गलीबाट किनेर ल्याउनुपर्ने चलन छ । अर्गेलीबाट बसाइँ सरेर आएका मगरले नै यो स्थानको नाम अर्गल राखेका हुन् ।


खेतीपाती गोडेपछि यो पर्व मनाइन्छ । यो कृषिबालीको रक्षाका लागि देवीदेउता पुज्ने मेलाका रूपमा पनि चिनिन्छ । कसैले यसलाई भदौरे मेला पनि भन्छन् । कुलदेवताको पूजामा पनि युवाले सिस्नो खोस्ने पर्व मनाउँछन् । ‘अनौठो संस्कृति भए पनि यो पूरा गर्न प्रक्रियामा तलमाथि गर्न पाइँदैन,’ घर्तीले भने, ‘खर्च पनि लाग्ने भएकाले सिंगो गाउँलेको समान सहभागिता आवश्यक पर्छ ।’


बलि चढाउने पशुदेखि सिस्नो खोस्नेले लगाउने नयाँ वस्त्र, भांग्रो, बुढापाका र मन्त्र जप्ने युवालाई लगाइदिने फेतासमेतको खर्च गर्दा एउटा पूजामा झन्डै २ लाख खर्च हुने उनले बताए ।


मगर समुदायमा युवाको विवाह आफ्नै रोजाइमा हुन्छ । बाबुआमाले केटा वा केटी खोजेर गरिदिने चलन नभएकाले भविष्य सुखमय बनोस्, रोजेको केटा वा केटी राम्रो परोस भनेर सिस्नो खोस्ने पर्वमा भाग लिने चलन रहेको होमबहादुर बगाले मगरले बताए । ‘बाहिर गएको रहेछ भने पनि कुलपूजा र सिस्नो खोस्ने पर्वका लागि फर्केर आउने चलन छ,’ उनले भने, ‘कम्तीमा एकपटक सिस्नो नखोसेको युवकयुवतीको वैवाहिक जीवन सुखमय हुँदैन भन्ने विश्वास छ ।’


मेला भरे पुण्य मिल्ने, चाहेजस्तो जीवन साथी पाइने, स्वस्थ्य रहने र दीर्घायु हुने विश्वास गरिन्छ । बाइसे चौबिसे राज्यका पालामा धेरैजसो मगरले भाषा र अन्य संस्कृति गुमाए पनि सिस्नो खोस्ने पर्व बचाएर राखेको कुलपूजाका गुरुबाउ अर्गलका भीमबहादुर घर्तीमगरले बताए । ‘हामीले हरेक वर्ष यो पूजा गरिरहेका छौं,’ घर्तीले भने, ‘खेती थन्क्याउने बेलाको कृष्णपक्षमा यो पूजा गरेर नाच्न थाल्ने परम्परा छ ।’

प्रकाशित : भाद्र २८, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?