कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगु सचेतना अभियान

डेंगुको संक्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालञयले स्वास्थ्यचौकी, विद्यालय, सामुदायिक भवन, चोक र चौतारमा सचेतना कार्यक्रम गर्दै 

पर्वत — डेंगु रोगको संक्रमण देखिन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले सचेतना कार्यक्रम थालेको छ । जिल्ला स्वास्थ्यले सबैजसो सरकारी कार्यालय र सर्वसाधारणको पहुँच हुने स्थानमा डेंगुबारेको सचेतना अभियान सञ्चालन गर्न सुरु गरेको हो । 

डेंगु सचेतना अभियान

अभियानअन्तर्गत गाउँका स्वास्थ्यचौकी, विद्यालय, सामुदायिक भवन, चोक, चौतारा सबैतिर डेंगुबारेको सचेतना फैलाउन थालिएको कार्यालयले जनाएको छ ।


स्वास्थ्य अधिकृत प्रवीण भण्डारीका अनुसार डेंगुबारेको सामान्य ज्ञान सर्वसाधारणमा हुन आवश्यक रहेकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यालयले सचेतनामूलक ब्रोसर, स्थानीय सञ्चारमाध्यम, सामाजिक सञ्जाल सबैतिरबाट डेंगुको सम्भावित संक्रमण, लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे जानकारी दिन थालेको हो ।


अर्का स्वास्थ्य अधिकृत दीपक भण्डारीले डेंगुबाट बच्न पानी जम्ने भाँडाकुँडा सफा राख्न, खाल्टाखुल्टी पुर्न र सम्भावित सामान्य लक्षण भए स्वास्थ्य संस्थामा तत्कालै सम्पर्क राख्न सूचना जारी गरिएको बताए । उनका अनुसार अहिले जिल्ला प्रहरी, सामुदायिक प्रहरी, ट्राफिक प्रहरीलगायत समुदायसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिलाई डेंगुबारे प्रशिक्षण चलाइएको छ ।


‘पहिला पर्वतमा यसको कुनै गुञ्जायस थिएन,’ भण्डारीले भने, ‘जिल्लामा लक्षण देखिएपछि सबैतिर सचेत गराउनुपरेको हो ।’ डेंगु सार्ने लामखुट्टेले बालबालिका र वृद्धवृद्धालाई बढी टोक्न सक्ने भएकाले उनीहरूलाई लक्षित गरी सचेतना अभियान सञ्चालन गरिएको हो । जिल्ला अस्पतालमा हालसम्म डेंगुको संक्रमण पहिचान गर्ने सामान्य उपकरण (रगत परीक्षण किट) नहुँदा समस्या थियो ।


‘गतसातादेखि जिल्लामै डेंगुको परीक्षण किट ल्याएका छौं,’ अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले भने, ‘अब डेंगु हो होइन भन्ने जान्नकै लागि पोखरा पुग्नुपर्दैन ।’ गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयबाट सय थान किट ल्याएर परीक्षण सुरु गरिएको हो ।


अस्पतालका डाक्टर विष्णु भण्डारीका अनुसार किट ल्याइसकेपछि परीक्षण गरिएका बिरामीमा हालसम्म डेंगुको लक्षण भने भेटिएको छैन । ‘पहिला हामीले नै रेफर गरेका केही बिरामीलाई त्यस्तो लक्षण देखियो,’ डा. भण्डारीले भने, ‘यहीं परीक्षण सुरु गरेयता सबै नेगेटिभ भेटिएको छ ।’ यता बिरामीले डेंगुको परीक्षण निःशुल्क हुनुपर्नेमा अस्पतालले शुल्क लिने गरेको गुनासो गरेका छन् ।


सरकारले निःशुल्क घोषणा गरेको परीक्षणको शुल्क लिएर अन्याय गरेको बिरामीले गुनासो गरेका छन् । अस्पताल प्रशासनले भने सरकारले निःशुल्क घोषणा गरेपछि शुल्क नलिएको जनाएको छ । ‘हामीकहाँ समस्या देखिए लगत्तै किट माग्यौं । निर्देशनालयबाट नदिएपछि किनेर ल्याएका थियौं,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले भने, ‘हामीले किनेको मूल्य लिएर परीक्षण गरेका हौं । हाल निःशुल्क परीक्षण थालेका छौं ।’ अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले आइतबारदेखि डेंगुको परीक्षण सुरु भइसकेको बताए ।

प्रकाशित : भाद्र २४, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?