एउटै ठाउँको गुरुयोजनामा दुई स्थानीय तहको लगानी

प्रतीक्षा काफ्ले

गण्डकी — पर्यटकीय गन्तव्य बन्दै गएको स्याङ्जाको भालुपहाडको गुरुयोजना तयार पारिएको छ । पुतलीबजार नगरपालिकाले बुधबार गुरुयोजना सार्वजानिक गरेको हो । यसअघि गत असोज १३ मा फेदीखोला गाउँपालिकाले गुरुयोजना तयार पारेको थियो । 

पर्यटकीय गन्तव्य बन्दै गरेको स्याङ्जाको भालुपहाड । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर 

पुतलीबजार–४ र फेदीखोला–२ को सीमानामा पर्ने भालुपहाडमा दुवैस्थानीय तहलेआ–आफ्नो दाबी गरेका छन्। पुतलीबजारले आफ्नो क्षेत्राधिकारमा पर्ने दाबी गरे पनि फेदीखोलाले सिमाना भएकाले दुवै तहको समन्वय हुने बताएको छ।

पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको भालुपहाडको विकास अत्यावश्यक रहेको बताउँदै फेदीखोला गाउँपालिकाले एक वर्षअघि नै गुरुयोजना तयार पारेको थियो। पोखरामा सार्वजानिक गरिएको गुरुयोजनाका चौतर्फी विरोधसमेत भएको थियो।

सोही योजनालाई लिएर दुई तहबीचको दुरी बढ्दै गएको छ। फेदीखोलाले विना समन्वय आफूखुसी अर्काको क्षेत्रको योजनालाई अगाडि बढाएको बन्दै पुतलीबजारले असहयोग गर्दै आएको थियो। भालुपहाड सबैको रोजाईमा पर्ने र सिद्धार्थ राजमार्गसँगै जोडिएकाले पनि सरकारबीच नै विवादित भएको स्थानीयको बुझाई छ। स्थानीयले गुरुयोजना भन्दा पनि विकास निर्माणका काममा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

पुतलीबजारले दुई वर्षमा सक्ने गरि गुरुयोजना तयार पारेको छ। १८ करोड १९ लाख २० हजार यसको लागत रहेको पुतलीबजारका योजना शाखाका ताराचन्द्र ढकालले बताए। उनका अनुसार स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा निर्माण गरिने हो।

अन्य दाताले पनि सहयोग गर्न सक्ने उनको भनाई छ। पुतलीबजारको गुरुयोजनामा भालुको आकार आउने गरि पार्क निर्माण हुने छन्। पैदलको लागि रुट, खुला स्थानमा सभाहल, दुईवटा थुम्का जोड्नको लागि झोलुङ्गेपुल, रिर्सोट, मोडल वाटर, वाटर फाउन्टेन र सेल्फी स्टेशन निर्माण हुने छ।

फेदीखोला गाउँपालिकाले भालुपहाडमा पूर्वाधार बनाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तयार गुरुयोजनाको लागत २४ करोड २७ लाख रुपैयाँ छ। भालुपहाड पोखराबाट २८ किलोमिटर दक्षिण भैरहवा जोड्ने सिद्धार्थ राजमार्गमा पर्छ।

तीनतिर सेती खोलाले घेरिएको पहाड सुतेको भालुको जस्तो आकारको भएकाले भालु पहाड भनिएको किंवदन्ती छ। उक्त स्थानबाट विभिन्न हिमालको अवलोकन गर्न सकिन्छ। पछिल्लो समय चलचित्र छायांकन, पिकनिक, पारिवारिक भ्रमण बढ्दै गएकाले पर्यटकीय पूर्वाधारको आवश्यकता देखिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले काठमाडौंको ड्रिम डेभलपर्सलाई ‘भालुपहाड पर्यटनस्थल’ को परियोजना प्रस्ताव तयार गर्ने जिम्मा दिएको थियो। भालु पहाडको ५ दशमलव ४ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने छ।

फेदीखोलाको गुरुयोजनामा पार्कसम्म पुग्न सिद्धार्थ राजमार्गबाट १ सय ७५ मिटर लामो अत्याधुनिक झोलुंगे पुल बनाइने, एकातर्फबाट २ सयदेखि २ सय ५० खुड्किलाको सिढी, विभिन्न संस्कृति झल्कने गरी पार्कको सजावट गरिने, हिन्दु र बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्न २३ र २३ फिट अग्ला शिव र बुद्धका विशाल मूर्ति राख्ने, दुई मूर्तिलाई जोड्न कंक्रिट र काठ प्रयोग गरिएको पुल बनाइने, प्रवेशद्वार, बालउद्यान, वाटर फाउन्टेन, कोसेली घर र चमेना गृह पार्कमा हुनेछन्।

दृश्यावलोकनका लागि विभिन्न स्थानमा ब्लक निर्माण हुनेछन्। ‘लुम्बिनी र मुक्तिनाथ जोड्ने बाटो सिद्धार्थ राजमार्ग भएकाले ‘ट्रान्जिट पर्यटन’को लाभ भालुपहाडले लिन सक्छ,’ गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी भन्छन, ‘यसले फेदीखोलाका स्थानीयको आर्थिक अवस्थामा सुधार ल्याउँछ ।’ गुरुयोजना कार्यान्वयन भए बालबालिका, युवा, ज्येष्ठ नागरिक, हिन्दु र बौद्ध धर्मावलम्बीको आकर्षण बन्ने उनको भनाई छ।

सेती खोलामा स्टिमर चलाउने, जिप लायर, मिनी रिसोर्ट खोल्ने, वरपरका गाउँमा होमस्टे विकास गर्ने पनि योजना छ। भालुपहाड पर्यटन स्थलसहित उक्त एकीकृत परियोजनाको अनुमानित लागत भने ४५ करोड रुपैयाँ रहेको सुवेदीले बताए।

साढे तीनवर्षको बहुवर्षीय योजना बनाएर गुरुयोजना कार्यान्वयन गर्ने गर्ने उनले बताए। उनले विमस्टेकमासमेत बुद्ध सर्किटको कुरा उठेकाले लुम्बनी–मुक्तिनाथ तीर्थयात्री नै लक्षित पर्यटक भएको बताए। ‘यो परियोजना फेदीखोलाको लागि विकासको कोसेढुंगा साबित हुने छ’ उनले भने।

प्रकाशित : भाद्र १७, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्

कोसिस मल्टिमिडियाको वार्षिकोत्सवमा ५ महिला सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — कोसिस मल्टिमिडियाले सामाजिक क्षेत्रमा कार्यरत ५ महिलाहरुलाई सम्मान गरेको छ । शनिबार आयोजित संस्थाको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका महिलाहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा विगत लामो समयदेखि अटिजम भएका बालबालिकाहरुको सेवामा समर्पित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेती, सफल कृषि व्यवसायी रिता मानुसी, योगा प्रशिक्षक ६६ वर्षीया लिलादेवी तिवारी छन्।

यस्तै साहसी महिला डोजर चालिका मुना घिमिरे श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख विन्दु पुडासैनी सिंखडाको योगदानको कदर गर्दै सम्मान गरिएको नारी कोसिसका अध्यक्ष एवं पत्रकार निर्मला सापकोटा सञ्जेलले जानकारी दिइन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता न्यौपानेले कोसिस मल्टीमिडियाले महिला सशक्तिकरणमा खेलेको भूमिकाप्रति खुलेर प्रशंसा गरेकी थिइन्। त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले कोसिसले एक वर्षको अवधिमै उल्लेखनीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त मल्टिमिडियाले नारी कोसिस डटकम अनलाइन र युट्युब च्यानल सञ्चालन गरिरहेको छ। स्थानीय सरोकारका विषय समेटेर विकास निर्माणका लागि पुलको काम गर्ने र क्षमता अभिवृद्धिका विभिन्न तालिम पनि चलाउने आएको सापकोटाले बताइन्।

प्रकाशित : भाद्र १७, २०७६ ११:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्