कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फागुनसम्ममा लोकमार्ग कालोपत्र गरिने

बागलुङ — पटकपटकको ठेक्का तोडिएर अलपत्र परेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड निर्माण र सञ्चालनमा आयोजनाले चासो देखाएको छ ।

वर्षौंदेखि जीर्ण सडकले सास्ती खेपेका यात्रीको आलोचना बढेपछि आयोजना प्रमुख आशिष थापामगर आफैं लागि परेर काम सक्ने योजनामा पुगेका हुन् ।


सदरमुकाम बागलुङ बजारदेखि घोडाबाँधेको २५ किमि खण्डमध्ये १२ दशमलब ८ किमि सडक भारत सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनी र १३ किमिदेखि २५ किमि खण्डको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कम्पनीले ठेक्का लिएका छन् । आयोजनाले वातावरण तयार बनाइदिएमा आगामी फागुनसम्म सबै सडक कालोपत्रे गर्ने उनीहरूले बताए । ‘आएका अवरोध हटाउन प्रशासन र आयोजनाले साथ दिनुपर्‍यो’ कन्स्ट्रक्सनका इन्जिनियर मिहिर सिंहले भने । यो खण्डमा खानेपानी, विद्युत् र घरमा मुआब्जा दिन आयोजनाले ढिलाई गर्दा काम गर्न नसकेको उनले बताए ।


आयोजना प्रमुख मगरले भने ८ मिटर चौडाको सडक कालोपत्रे गर्ने भएकाले उक्त खण्डमा परेका घर र अन्य संरचनामा तत्कालै मुआब्जा दिने बताए । आयोजनाले सडकको दायाँबायाँ २५ मीटर चौडामा संरचना बनाउन रोक लगाएको छ । उक्त खण्डमा परेका संरचनामा भने अध्ययनपछि मुआब्जा दिने गरी सरकारले नीति ल्याउने उनले बताए ।


पहिलो खण्डमा खानेपानीको पाईपलाईनको कारण निर्माणमा ढीलाई भएको पाएपछि प्रशासनले ठेकेदार, आयोजना र नगर खानेपानीका प्रमुखलाई राखेर कुराकानी गरेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

प्रकाशित : भाद्र १६, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?