स्मार्ट कार्डबाट सेनेटरी प्याड

नवीन पौडेल

नवलपुर — पुर्वी नवलपरासीको देवचुलीका किशोरीले स्मार्ट कार्ड प्रयोग गरेर सेनेटरी प्याड पाउने भएका छन् । विद्यालयमा नै प्रविधीयुक्त मेसीन राखेपछि निःशुल्करुपमा प्याड प्राप्त गर्ने भएका हुन् ।

देवचुली नगरपालिकाका दुई विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन राखिएको छन् । दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजनाले स्थानीय तहको समन्वयमा भीमसेन आदर्श मावि र कालिका माविमा मेसिन राखिएको हुन् ।

विद्यालयमा महिनावारीको समयमा विद्यार्थीलाई प्याड प्रयोग गर्न सजिलो बनाउने, महिनावारी स्वच्छताका बारेमा जनचेतना अभिवृद्धि गर्न मेसीन राखिएको परियोजनाका संयोजक प्रवीण घिमिरेले बताए । ‘किशोरीहरू महिनावारीको समयमा विद्यालय नै नआउने र विद्यालय समयमा महिनावारी भएमा प्याडको अभाव हुने भएकाले स्मार्ट मेसीन राखीएको हो,’ उनले भने, ‘महिनावारीलाई समस्याको रुपमा नलिन र जनचेतना अभिवृद्धीका लागि यसले सहयोग पुराउने विश्वास लिएका छौ ।’

विद्युतबाट चल्ने भेन्डिङ मेसिनमा एकपटकमा ५० सम्म सेनेटरी प्याड राख्न सकिन्छ । विद्यालयका महिनावारी हुने समयका छात्रालाई स्मार्ट कार्ड प्रदान गरिएको छ । महिनावारीका समयमा आफुलाई आवश्यक प्याड विद्यार्थी आफैले कार्डको प्रयोग गरेर झिक्न सक्नेछन् । मेसीन जडान गरेपछि महिनावारी हुने समय आएपछि विद्यालय नआउने छात्राहरू नियमीतरुपमा विद्यालय आउने आशा गरीएको छ । गाउंघरमा अझै पनि महिनावारीको समयमा पुराना कपडा प्रयोग गरिन्छ ।

यसले स्वास्थ्यमा असर पुराउने भएकाले छात्राहरूको स्वास्थ्यमा पनि प्रत्यक्ष सहयोग पुराउने छ । दुई वटा विद्यालयमा स्मार्ड कार्डमार्फत सेवा सुरु भएपनि आगामी दिनमा नगरभित्रका हरेक विद्यालयमा यो प्रविधीको मेसीन राख्ने नगरपालिकाको लक्ष्य छ । देवचुलीका अधिकासं किशोरीले घरमै सेनेटरी प्याड बनाउँछन् ।

कपडाका टुक्रा प्रयोग गर्ने नवलपुरका किशोरी तथा महिलाले अहिले भने आफै सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेका हुन् । बजारमा सेनेटरी प्याड किन्नका लागि लाज मान्ने र आर्थिकरुपमा पनि खर्चिलो भएपछि किशोरी र महिलाले आफै सुरक्षित प्याड तयार पारेर प्रयोग गर्न थालेका हुन् ।

विभिन्न संघसंस्थाले जनचेतना मुलक कार्यक्रम संचालन गर्ने र स्थानीय तहले पनि महिला स्वस्थ हुनका लागि सुरक्षित सेनेटरी प्याडको प्रयोग गर्नुपर्ने अभियान चलाएपछि पुराना थोत्रा कपडाको टालोको सट्टामा आफैले प्याड तयार पार्न अग्रसर भएका छन् । बजारमा पाईने प्याड एकपटक प्रयोग गरेपछि फाल्नुपर्ने र आर्थिकरुपमा पनि खर्चिलो हुने भएकाले उनीहरूले घरमा नै सुतिको कपडा, धागो प्रयोग गरेर आरामदायी प्याड तयार गर्ने गरेका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङ 'मुक्तिनाथको गेट’

प्रकाश बराल

बागलुङ — होटल व्यवसायीले बागलुङलाई ‘मुक्तिनाथको गेट’ नाम दिएका छन् । भारतीय र आन्तरिक पर्यटक यही बाटो भएर मुक्तिनाथ जान थालेपछि व्यवसायीले पर्यटक आर्कषणका लागि नामाकरण गरेका हुन् । 

मुस्ताङ घुम्ने पर्यटकलाई कम्तिमा एकदिन अड्याउन नारा दिएको उनीहरू बताउँछन् । नारासँगै पर्यटनका कार्यक्रम पनि बनाएका छन ।

मुक्तिनाथ हिंडेका पर्यटकलाई कम्तिमा एक दिन बसालेर यहाँको कालिका भगवती मन्दिर, पञ्चकोट, ढोरपाटन, गलकोट, भकुण्डे लगायत क्षेत्र घुमाउन पहल गर्न गेटको नाम दिएको होटल संघका अध्यक्ष निलेस राजभण्डारीले बताए । त्यसका लागि जिल्लामा पर्यटक अड्याउने पूर्वाधारसमेत बनेको उनले बताए । ‘सदरमुकाममा दैनिक ३ हजारसम्म पाहुना राख्न सकिन्छ,’ राजभण्डारीले भने, ‘हामीले अझै धेरै प्याकेज बेच्न सकेका छैनौं ।’ केही बर्षदेखि आन्तरिक पर्यटकले बागलुङका अधिकांस होटल खचाखच भइरहन्छन् ।

ठूलो आकारका होटल थपिएपछि पर्यटक बढेको उनीहरूको बुझाई छ । ‘प्रचार गर्न नसक्दा कालिका मन्दिरमा आएका पाहुनालाई अझै बजारमा भित्राउन सकिएको छैन,’ अर्का व्यवसायी अर्जुन चोखालले भने, ‘पाहुना आर्कषित गर्न सरसफाई र खानाको गुणस्तर सुधारको काम भएका छन् ।’

अधिकांस होटलले कार्यक्रम हल बनाउन थालेका छन् । प्याकेज तथा बस रिर्जभ गरेर आएका पाहुनाले सास्कृतिक कार्यक्रम, अन्तरक्रिया र छलफल गर्न चाहने भएकाले सबै होटलमा हलको व्यवस्था गरिएको उनले बताए ।

बागलुङदेखि मुक्तिनाथका लागि सिधा यातायातका साधन पाउन थालेपछि देशभरका पर्यटकको रोजाई बढ्न थालेको हो । ‘यसरी आएका पाहुनालाई केही दिन बस्ने वातावरण हामीले बनाउन खोजेका हौं,’ राजभण्डारीले भने, ‘राजधानीका ट्राभल एजेन्सीले पनि प्याकेजमा पाहुना पठाउन थालेका छन् ।’ यहाँका होटलले पनि मुक्तिनाथ जाने जिप र बसका लागि सम्पर्क गराउने काम गर्छन् ।
बागलुङमा दर्जनबढी सहकारी छन् ।

तीनको अबलोकनका लागि पनि दैनिक २ सयसम्म भ्रमणमा आउने गरेका छन् । ‘हामीले बचत तथा ऋण, उत्पादन, कृषि र पशुपालन सहकारीका केही नमूना बनाएकाले अवलोकनकर्ता दैनिक आउने गर्छन्’ जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले भने, ‘पर्यटन प्रवर्द्धनमा पनि उनीहरू सहयोगी भएका छन् । अन्य प्रयोजनका लागि आएपनि बागलुङ कालिकाको दर्शन र पञ्चकोट भ्रमण उनीहरूको पहिलो रोजाई बन्ने गरेको हो ।

पाहुना बढ्न थालेपछि होटल व्यवसायीले लगानीसमेत थपेका छन् । चोखालले एक करोड लगानीमा कालिका मन्दिर नजिकै समिट रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । अध्यक्ष राजभण्डारीले पनि झण्डै डेढ करोड लगानी थपेर भवन बनाए ।

रेड एप्पल होटलले शुरुमै ५ करोड लगानी गरेको थियो भने राजन होटलमा ३ करोड लगानी भएको संचालक राजन शाक्यले बताए । ब्राउन आईजकी संचालक मीना श्रेष्ठले भनिन्, ‘ठूलो पार्टीलाई अब पोखरा पुग्न पर्दैन । पार्किङ, फ्रि वाईफाई, सरसफाई र गीतसंगीतको व्यवस्थापनले होटलमा कार्यक्रम गर्ने चलन बढेको छ ।’

व्यवसायीले गर्ने मेला महोत्सवले होटल व्यवसायमा लगानी र व्यवसाय बढेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बताउँछन् । ‘महोत्सवमार्फत पर्यटक भित्राउने पहल भएको छ,’ उनले भने, ‘सामाजिक संस्थाले पनि राष्ट्रियतहका सम्मेलनमा बागलुङ रोज्न थालेका छन् ।’

प्रकाशित : भाद्र १०, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्