कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानीमा अधिक कोलिफर्म

म्याग्दी — सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) अधिक भेटिएको छ । बेनी नगरपालिका–७ र ८ बेनीबजार क्षेत्रमा भदौ २ देखि ५ गतेसम्म पानीजन्य रोग आउँको प्रकोप फैलिएपछि खानेपानीमा इकोली परीक्षण गरिएको थियो ।

त्यसमा दुधेखोला मुहानको पानीमा सीएफयू/१०० एमएल परीक्षण गर्दा असख्य दिसाजन्य पदार्थ (कोलिफर्म ब्याक्टेरिया) भेटिएको हो ।


‘बेनीमा वितरण गरिएको दुईमध्ये दुधेखोला मुहानको पानी अधिक प्रदूषित भेटिएपछि यो मुहानको पानी बन्द गरेका छौं,’ बेनी खानेपानी उपभोक्ता संस्थाका म्यानेजर चन्द्रबहादुर थापाले भने, ‘हाल पुम्दीखोलाको पानीलाई पनि क्लोरिनेसन गरी पठाएका छौं । तर बर्खाको समयमा बाहिरी स्रोत मिसिन सक्ने र हिजोअस्ति वितरित पानीसँगै उपभोक्ताको ट्यांकी र वितरण लाइनमा अझै कोलिफर्म हुने भएकाले पानी उमालेर/फिल्टर गरी पिउन अनुरोध छ ।’


बेनी–जोमसोम सडक विस्तार क्रममा बेनीमा ल्याएको पुम्दीखोला मुहानको पाइपलाइनमा क्षति पुगी लामो समय खानेपानी अवरुद्ध थियो । तुलनात्मक शुद्घ मानिएको पुम्दीखोला मुहानको पानी अवरुद्ध भएपछि हाहाकार बेनीवासीलाई खानेपानी उपभोक्ता संस्थाले दुधेखोला मुहानको पानी फिल्टरसमेत नगरी सोझै वितरण लाइनमा जोडेको थियो ।


पुम्दीखोलाबाट ल्याएको दुई र दुधेखोलाको एकवटा पाइपबाट ल्याएको पानी बेनीको मगंलाघाट माथि रहेको सेडिमेन्टेसन ट्यांकीमा जम्मा गरिएको थियो । त्यसलाई स्लो स्यान्ड फिल्टर ट्यांकीमा फिल्टर गरी क्लोरिनेसन युनिटबाट पानी शुद्ध बनाई आरबीटी ट्यांकीबाट उपभोक्ताको घरमा पानी पठाउने गरिएको छ ।


तर अहिले फिल्टर सिस्टमले राम्रो काम नगरेपछि पानीलाई क्लोरिनेसन युनिटबाट सोझै आरबीटी ट्यांकीमा जम्मा गरी वितरण गरिएको छ । संस्थाले बेनीका एक हजार ३३ घरधुरीका १८ हजार ५ सय ९७ जनालाई खानेपानी वितरण गर्दै आएको छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?