कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्वरोका बिरामी बढे

मौसम परिवर्तन र सरसफाइको अभावमा लमजुङ तथा म्याग्दीमा स्वास्थ्य समस्या । बेड अभावमा म्याट ओछ्याएर बिरामीको उपचार
आश गुरुङ

लमजुङ — सहर तथा गाउँका स्थानीयमा भाइरल ज्वरो फैलिएको छ । कतिपय परिवार नै बिरामी भएर स्वास्थ्य संस्थामा आउने गरेका छन् । स्वास्थ्य संस्थामा आउने बिरामीलाई टाइफाइड, निमोनिया र झाडापखलाको समस्या बढी छ ।

ज्वरोका बिरामी बढे

दूषित पानीको प्रयोगबाट हुने यस्ता खाले बिरामी अधिकांशमा भाइरल ज्वरो देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालका मेडिकल अधिकृत डा. सुलोचन पन्तका अनुसार टाइफाइडका सबै बिरामीमा ज्वरो हुने भयो, निमोनिया भएका बिरामीमा पनि ज्वरो छ । झाडापखलाका बिरामीमा समेत ज्वरो रहेको उनले बताए ।


बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल, लमजुङ मोडेल अस्पताल, बेंसीसहर अस्पताल तथा अन्य मेडिकल तथा फार्मेसीमा ज्वरोका विरामीको भीड लागेको छ । यस्तै, सुन्दरबजार, भोर्लेटार, दुईपिप्ले, धमिलिकुवा लगायत अस्पताल साथै गौंडा, दुराडाँडा प्राथामिक स्वास्थ्य केन्द्र र गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा पनि उपचारका लागि ज्वारोका बिरामी बढी आउने गरेको ती स्वास्थ्य संस्थाले बताएका छन् ।


बिरामीमध्ये बालबालिका र बृद्धबृद्धा बढी छन् । युवायुवतीमा पनि उत्तिकैमात्रामा डाइफाइड, निमोनिया र झाडापखलाको समस्या छ ।


लमजुङ जिल्ला सामुदायिक अस्पतालमा लडेर हातखुट्टा भाँचिएका र मर्केर अस्पताल आउनेहरू पनि उत्तिकै छन् । ६० शैय्यको अस्पतालमा भुइँमा म्याट ओछ्याएर उपचार गर्ने गरिएको छ । करिडोरमा थप १० वटा शैय्या राखेर उपचार गराउने गरिएको छ । एक्कासी ज्वरो आएपछि इमरजेन्सीमा आउने र भर्ना हुने विरामी समेत थुप्रै रहेको चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार ठाउँ अभावमा अलि सामान्य देखिने विरामीलाई औषधी दिएर घरमै पठाउने गरिएको छ ।


अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक औसतमा २ सय ८० देखि २ सय ९० बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । बढीमा दिनका ३ सय ३८ सम्म परीक्षणका लागि आउने गरेको उनले बताए । ‘धेरै बिरामीमा ज्वरो छ । ज्वरो भएका विरामीमा टाइफाइड र निमोनियाको समस्या छ,’ उनले भने । गर्मीयामको समय, बर्खायामको समय हावापानी छिनभरमै परिवर्तन हुने, खानेपानीमा फोहर मिसिएकाले पनि धेरै बिरामी पर्ने गरेका छन् ।


डा. पन्तका अनुसार दुषित पानी, दिसा मिसिएको पानी, सरसफाइमा ध्यान नदिँदा, हात नधोइ खाना खाँदा, खानेकुरामा फोहर वा दिसा मिसिएको पानी तथा किटाणु पर्दा टाइफाइड र झाडापखालाको समस्या देखिएको हो ।


यी बिरामीलाई ज्वरोको समस्या रहेको र अहिले बर्षातको समय चिसो हुने भएकाले निमोनिया पनि बढेको उनले बताए । उनले पानी फिल्टर गरेर वा उमालेरमात्रै खान, बासी सडेगलेका नखान, ताजामात्रै खान सुझाव दिए । कतिपय युवायुवतीले बजारका जंकफुडहरू बढी खानाले पनि समस्या देखिएको उनले बताए ।


बेनीमा रगतमासीको प्रकोप

म्याग्दी– सदरमुकाम बेनीमा वितरण गरिएको खानेपानी प्रदुषित हुँदा पखला लाग्ने तथा दिसामा आउँ ( रगतमासी/मासी) पर्ने रोग प्रकोपको रुपमा फैलिएको छ ।


बेनी नगरपालिका वडा ७ र ८ बेनीबजार क्षेत्रमा भदौ २ देखि आउँ पर्ने रोग प्रकोपको रुपमा फैलिएको हो । शुक्रबारसम्म बेनी अस्पतालमा १५ जना विरामी भर्ना भई उपचार गरिरहेका छन् । छुट्टै ४५ जना आउँका बिरामीले इमर्जेन्सीमा भर्ना भएका छन् । एक सयबढी आउँका बिरामीले ओपीडीमा स्वास्थ्य परीक्षण गरी औषधी खाएका छन् ।


‘भदौ ३–५ गते १५ जनाबढी पखाला र आउँले शरीरमा पानीको मात्रा कम भैसकेका र मुखबाट औषधि खुवाउन नसकिने बालबालिका भर्ना भएका छन्,’ बेनी अस्पताल इन्डोर विभागकी नर्सिङ अधिकृत शिला खरेलले भनिन, ‘बढी बिरामी आकस्मिक सेवा लिएर फर्केका छन् । ओपीडीमा पनि उत्तिकै भिड छ ।’


१८ हजारबढी जनसंख्या रहेको बेनी बजारमा मात्र एक्कासी आउँका बिरामी देखिएपछि अस्पतालले आपतकालिन् बैठक राखेर बिरामी राख्ने बेड, औषधि तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको जनाएको छ । ‘एउटै क्षेत्रका धेरै जना बिरामी एक्कासी एउटै रोगबाट ग्रसित भै अस्पताल आएपछि प्रकोप घोषणागरी नियन्त्रणमा जुटेका छौं,’ बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले भने, ‘स्वास्थ्यकर्मी, औषधी र बेडलाई थपेर राखेका छौं । पानीजन्य रोग भएकोले बेनी खानेपानी संस्थासँग मिलेर खानेपानीको ल्याब टेस्ट गरिरहेका छौं ।’


बेनी–जोमसोम सडक विस्तार क्रममा पाइपलाइनमा क्षति पुगेपछि लामो समय खानेपानी अवरुद्ध भएको थियो । उक्त समय बाहिरी स्रोतबाट व्यवस्थापन गरिएको पानी पानी प्रदुषित हुँदा आउँ रोगको प्रकोप देखिएको हो ।


बेनीका एक हजार ३३ घरधुरीका १८ हजार ५ सय ९७ जनालाई खानेपानी वितरण गरेको बेनी खानेपानी उपभोक्ता संस्थाले सेडिमेन्टेसन तथा स्लोस्यान्ड फिल्टर हुँदै डिसेन्फेक्सन प्रक्रियाबाट पानी वितरण गर्दै आएको छ । खानेपानी अवरुद्ध भएपछि आपतकालिन रुपमा बाह्य सोतलाई सोझै वितरण लाइनमा जोडेको थियो ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?