कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यानको फारम भर्नै रकम

विना थापा

कास्की — वडाको सिफारिस लिई आन्तरिक राजस्व कार्यालय पोखरा पुगेकी लक्ष्मी रानामगर अलमलिएर उभिइरहिन् । पोखरा–२६ देखि पसलका लागि स्थायी लेखा नम्बर (प्यान) लिन पुगेकी उनी कार्यालयमा पहिलोपटक आएकी हुन् ।

उनीसँगै आएकी साथीलाई समेत यसबारे केही जानकारी थिएन । दुवै जना प्यान नम्बर लिन बसेका सेवाग्राहीको भीडतिर पुग्छन् ।


लाइन बसेका एक व्यक्तिले पहिला फारम भर्नुपर्ने बताएपछि उनीहरू फेरि सोधपुछ गर्दै गेटको अगाडि पुग्छन् । बाटोमा फारम भर्न बसेका लेखापढी व्यवसायी व्यस्त थिए । मगरले पनि पालो कुरेर फारम भरिन् ।

‘फारम भरेको एक–डेढ सय लिन्छन् होला जस्तो मनमा लागेको थियो तर ३ सय ५० रुपैयाँ मागे । बार्गेनिङपछि ३ सय रुपैयाँमा मिल्यो,’ उनले भनिन्, ‘आफूलाई फारम भर्न नआउँदा ठगिन पुगें, मौकामा चौका हाने ।’ उनका अनुसार सँगैका अर्का सेवाग्राहीको कम्पनीको प्यानका लागि फारम भरेबापत उनीहरूले ७ सय रुपैयाँ लिएका थिए ।


कार्यालयले १०/२० रुपैयाँ लिएर अफिसमै फारमका लागि कर्मचारी थपिदिए ठगिनुपर्ने थिएन भन्दै धेरै सेवाग्राही गुनासो गरिरहेका थिए । फारमको अवस्था हेरेर २ सयदेखि ७ सयसम्म लिइने लेखापढी व्यवसायी रामेश्वर गिरीले बताए । ‘घाममा बसेर फारम भर्न पनि त गाह्रो छ,’ उनले भने ।


वृद्ध, अशक्त र बच्चा च्यापेर आउनेलाई प्राथमिकता दिएर प्यान नम्बर भरिदिएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशवकुमार उप्रेतीले बताए । कार्यालय आउने कसैलाई नफर्काइएको उनको दाबी छ । कार्यालयमा फारम भर्न एउटै सेवाग्राहीलाई २० देखि २५ मिनेट लाग्ने भएकाले आफैंले अनलाइनमा भरेर आउँदा सहज हुने उनको भनाइ छ । उप्रेतीका अनुसार कार्यालयभित्र कुनै बिचौलिया छिर्न दिइएको छैन ।


निःशुल्क फारम भराउन ३ छुट्टै कर्मचारी करारमा राखिएको छ । प्यान नम्बरका लागि व्यवसायी र रोजगारदाता सबै एकैसाथ आउँदा भीड बढेको छ । साउन महिनामा मात्र १५ हजार जनाले आवेदन दिएको तथ्यांक छ । पछिल्लो समय दैनिक हजारको संख्यामा आउन थालेकाले थेग्न गाह्रो परेको उप्रेतीले बताए ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्

बालुवा चाल्ने हातमा मेसिन

विना थापा

कास्की — ‘बिहान उठ्नेबित्तिकै बालुवा चाल्न खोलामा पुग्न पर्थ्यो । दिनभरि बालुवा चाल्दा पनि छाक टार्न समस्यै हुन्थ्यो,’ पोखरा–१९ गोस्तेकी हेममाया तामाङ भन्छिन् । यतिबेला भने उनले बालुवा होइन, तान बुन्न थालेकी छन् । यसले उनी निकै खुसी छिन् ।

‘खोलाको निर्भरता छाडेर घरमै पैसा कमाउन पाएकोमा खुसी छु,’ उनले भनिन्, ‘मेरो जीवनमा सर्पले काँचुली फेरेजस्तै महसुस भएको छ ।’ जुनेली आमा समूहको सचिवसमेत रहेकी तामाङको घरमा कपडा बुन्ने तान जडान भएको हो । यसबाट आफु आत्मनिर्भर हुने उनले सुनाइन् ।


तानमा झोला, पछ्यौरा, कोटलगायत कपडा बुन्छिन् । उनीजस्ता १६ जनाले डेढ महिनादेखि तान बुन्ने तालिम लिइरहेका छन् । यसै क्रममा उनीहरूले तान पाएका हुन् । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार तानको उद्घाटन गरिन् । महानगरको उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत छुट्टिएको १३ लाख रुपैयाँ बजेटले १७ वटा तान किनेर महिलालाई निःशुल्क दिइएको हो । महिलालाई आर्थिक रूपमा सबल बनाउनुका साथै सामाजिक, राजनीतिक स्थापितका लागि कार्यक्रम ल्याइएको गुरुङले बताइन् । कार्यक्रमले आत्मनिर्भर बन्न सक्ने विश्वास उनले व्यक्त गरिन् ।


तानमा झोला बुन्दै गरेकी माया गौतमले पहिला खोलाको कामबाहेक अरू केही काम गर्न नपाइएको बताइन् । ‘अहिले बसीबसी मेसिनमा झोला बुन्न पाउँदा निकै खुसी लागेको छ,’ गौतम भन्छिन्, ‘यहीअनुसार अघि बढेर उत्पादन गर्ने र बजार पनि सहजै पाउने भए कसैसँग हात फैलाउन पर्दैन ।’ उनका अनुसार झोलाको तान लगाउन तीन दिन लाग्छ, हप्ता दिनमा सकिएको एउटै तानमा ५ वटासम्म झोला बन्छन् । महिलाहरूले बुटिक, डिजाइनिङ, पेन्टिङ र सिलाइलगायत काम गर्छन् ।


शान्ति गुरुङ भन्छिन्, ‘घामपानी नभनी बालुवा झिक्नुभन्दा झोला बुन्नु धेरै सजिलो छ । बिक्रीका लागि सहज बनाइदिए आत्मनिर्भर हुन सक्छौं ।’ ७० घर रहेको गोस्तेमा, स्थानीयभन्दा बाहिरी जिल्लाबाट आएर बसोबास गर्नेको संख्या धेरै छ । उपप्रमुख गुरुङका अनुसार विभिन्न वडाका निम्न वर्गका महिलालाई कटिङ, पशुपालनलगायतमा महानगरले गत आर्थिक वर्षमा २ करोडको लगानि गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७६ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×