संग्रहालय नबन्दै आउन थाले पर्यटक

प्रकाश बराल

बागलुङ — शालिग्राम संग्रहालय धमाधम बन्दैछ । संग्रहालय पूरा निर्माण भइनसक्दै आन्तरिक पर्यटक भने बढिरहेका छन् । यसले स्थानीयवासी र निर्माण पक्षमा खुसी थपेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यहाँ निर्माणाधीन शालिग्राम संग्रहालयको भ्रमण गर्दै भने, ‘पर्यटक भित्र्याउने लक्ष्य र कालीगण्डकी सभ्यता देखाउने योजनाबाट प्रभावित भएँ ।’

मन्त्री पण्डितमात्र होइन, जिल्ला आउने विशिष्ट व्यक्तिदेखि आन्तरिक र बाह्य पर्यटकको समेत आकर्षक गन्तव्यका रूपमा यहाँ निर्माणाधीन संग्रहालय स्थापित बन्दै गएको छ । दामोदर कुण्डदेखि मुक्तिनाथ हुँदै त्रिवेणीसम्मका सबै धार्मिक र सांस्कृतिक धरोहरलाई एक सय मिटरमा देखाउने लक्ष्यसाथ संग्रहालय बनिरहेको छ ।

यहींभित्र एक लाख शालिग्राम संग्रह पनि हुनेछ । बागलुङ नगरपालिका–४ कुडुलेफेदीमा निर्माण सुरु भूमिगत शालिग्राम संग्रहालय नबन्दै धेरै पर्यटक आउन थालेका हुन् । यहाँ दैनिक १ सयदेखि २ सयसम्म आउन थालिसकेको विद्याश्रमकी प्रअ शान्ति ज्ञवालीले बताइन् ।

मुक्तिनाथ वेद विद्याश्रमसँगै बनेको रंगबेंकटेश्वर मुक्तिनारायण मन्दिर, भूमिगत संग्रहालय र कालीगण्डकी सभ्यताले पर्यटक तानेको हो । ‘भव्य मन्दिर बन्दैछ भन्ने सुनेर परिवारसहित घुम्न आयौं’ काठमाडौंका पुष्पमान शाक्यले भने, ‘अभियानलाई सहयोग पनि गर्नुपर्छ ।’ सुरुङमा नदी किनारका सबै दृश्य देख्न पाइनेछ । त्रिशूल आकारको सुरुङ मार्ग र भित्री डेकोरेसनका लागि झन्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ । यहाँ १ लाख शालिग्राम व्यवस्थित रूपमा रहनेछन् ।

कालीगण्डकी सभ्यताबारे सुरुङभित्रै बसेर वृत्तचित्र हेर्न पाउने व्यवस्था गरिएको छ । धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा चिनिएकाले यहाँ विद्यालयबाट भ्रमण ल्याउने, सहकारी तथा आमा समूहबाट आउने क्रम पनि बढिरहेको छ । विद्याश्रमका अध्यक्ष ऋषि प्रपन्नाचार्यको अगुवाइमा अन्य संरचना पनि बनेका हुन् । ‘हामीले दानमुठी उठाएर बनाउन लागेकाले ढिला भएको हो,’ उनले भने, ‘माघे संक्रान्तिसम्म सर्वसाधारणका लागि सबै संरचना खुला हुन्छ ।’

झन्डै ६ करोडको लागत अनुमान गरिएको संग्रहालयका लागि दाताको सहयोगमात्र स्रोत हो । योजना पूरा भएमा मासिक १ लाख पर्यटक भित्र्याउन सकिने अनुमान प्रपन्नाचार्यले गरे । ‘मुक्तिनाथ जाने भारतीय पर्यटक अधिकांश यहाँ आउने वातावरण बनाउँदै छौं,’ उनले भने, ‘त्यसबाट स्थानीयले फाइदा कमाउने हो ।’

होटल, रेस्टुरेन्ट र अन्य व्यवसायका लागि पनि बाटो फराकिलो भएको उनले बताए । सुरुङ पूरै बनिसकेको छ । भित्री सजावट र व्यवस्थापनको काममात्र बाँकी छ । यो पूर्वाधार बनिसक्दा भारतीय पर्यटकको बढी आकर्षणको गन्तव्य हुने वडाध्यक्ष ध्रुवबहादुर केसीले बताए । ‘कालीगण्डकी सभ्यताको सिंगो अध्ययन १ घण्टाको बसाइमा गर्न पाउनेछन्,’ उनले भने, ‘भारतीय पर्यटक बढदा देशकै अर्थतन्त्र बलियो बन्नेछ ।’

महत्त्वाकांक्षी र आकर्षक योजना भए पनि सरकारी तहको सहयोगमा चासो भने नपुगेको स्थानीयले बताए । बाहिरी खण्डमा गेट निर्माण भइरहेको छ । सुरुङभित्रै धार्मिक पुस्तकालय, दामोदर कुण्डको डिजाइन्, धौलागिरि र नीलगिरि हिमालसमेत बनाइएको छ । मल्लकालीन डिजाइन र कलात्मक मन्दिरको कारणले यहाँको महत्त्व बढाएको छ । मन्दिरको छाना तामाले छाइएको छ ।

भजनकीर्तनका लागि बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सहदेव राजभण्डारीले झन्डै एक करोड रुपैयाँ खर्चेर सभाहल तथा गरुड शिलासमेत बनाइदिएका छन् । संग्रहालय संसारकै पहिलो र नयाँ हुने दाबी गरिएको छ । यहाँदेखि पदमार्गमार्फत संसारकै अग्लो कलश निर्माण गरिने पञ्चकोट जाने व्यवस्थापनको काम पनि योजनामा समावेश छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

मकैले सजिएको घर

महादेवडाँडामा धान खेती हुँदैन । मकै दुई बाली हुन्छ । स्थानीयहरु बार्दली, रेलिङमा मकैका घोगा झुन्ड्याउने गर्छन् । यसले मकै छिटो सुक्ने र घर सुन्दर देखिन्छ ।
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालीका– ३ महादेबडाँडाका घरहरू यतिखेर पहेंलै देखिन्छन् । यहाँ रंग लगाएर सुन्दर दृश्य देखिएको होइन । अधिकांशको घरमा मकैको घोगा झुन्ड्याइएको छ । यसले घर पनि सजिएको छ ।

रौतहटको चन्द्रपुर– ३ महादेवडाँडाका किसानको घरमा सजाएर राखिएको मकै ।तस्बिर : शिव/कान्तिपुर

गाउँमा धान खेती नभएपछि सबैले मकै लगाउँछन् । मकै पाकेर घर भित्र्याउने बेला खोस्टा फालेर घोगा सजाएर राख्ने चलन छ ।

महादेवडाँडाका स्थानीय दिलबहादुर गोलेको घरमा चारैतिर मकै झुन्ड्याइएको छ । ५ कट्ठा खेतमा लगाइएको मकैले सिंगो घर ढाकेको छ । उनको घर पहेंलै देखिएको छ । बाहिर बार्दली, रेलिङमा समेत सजाएर राखिएको छ । चुरे क्षेत्र भएकाले यहाँ पानीको स्रोत छैन । बालैटे जमिन भएकाले धान फल्दैन । सबैले मकै खेती गर्छन् । मकैको सिजन सकिए पछि सबैको घरमा घोगा सजाएर राख्ने चलन रहेको गोलेले बताए । ‘सम्पत्ति भनेकै मकै हो,’ उनले भने, ‘यसैलाई सजाएर राख्छौं ।’

चुरे पहाड भएकाले बस्तीका मानिस मकैको ढिँडो खान मन पराउँछन् । यस वडाको महादेवडाँडा, भोलनटार, इपिलघारी, गैंडाटार लगायतको क्षेत्रका स्थानीयले मकैलाई घरमा सजाएर राख्छन् । अग्लो डाँडा जमिन, त्यहीमाथि सधैं सुक्खा हुने गरेकाले यहाँ धान खेती हुँदैन । १० वर्षदेखि मकै बाली लगाउँदै आएको गोलेले सुनाए । त्यस क्षेत्रमा झन्डै एक हजार बढी घरधुरी छन् ।

धान खेतीयोग्य जमिन नभएकाले सबैले मकै लगाउँछन् । केहीले मकै बेचेर चामल किन्छन् । उनीहरूले अहिलेसम्म चामलको भात नखाएको बताउँछन् । चुरे क्षेत्र अतिक्रमण गरी बसेपछि उनीहरूले त्यहीं घरखेत जोडे । त्यस क्षेत्रमा तामाङको बाहुल्य छ । यहाँ वर्षमा २ बाली मकै हुन्छ । अधिकांश अर्काकोमा ज्यालादारी गर्न जान्छन् ।

मकैको सिजनमा डाँडाभरि हरियाली हुन्छ । सबैले धेरथोर खेतमा मकै लगाउँछन् । वन मासेर खेतीयोग्य जमिन बनाएकाले यहाँ उब्जनी त्यति हुँदैन । त्यस क्षेत्रका अधिकांशको जमिन सुक्खा भएकाले धान बाली लगाउँदैनन् । सुरुमा केहीले लगाएका थिए । तर सबै सुकेर क्षति भए पछि लगाउन छाडेका हुन् । दुई बाली लगाए पछि खेत बाझै छाड्ने गरेका छन् ।

खेत नजिक धेरैको पशु बाँध्ने गोठ छ । रोजगारीको अभाव यो गाउँमा देखिएको छ । गरिबी उत्तिकै छ । महादेवडाँडादेखि पश्चिम क्षेत्रको भोलनटार र इपिलघारी बस्तिको हालत पनि उस्तै छ । नगरपालिका भएर पनि यो बस्ती मानवीय सेवाको पहुँचबाट टाढा छ ।

यहाँ एउटा पनि विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, विद्युतको सुविधा छैन । चुरे क्षेत्र अतिक्रमण गरी २०४४ सालदेखि यहाँ बस्ती बसेको हो । यहाँका स्थानीय सबै बेरोजगार जस्तै छन् । हुनेखाने अधिकांशले जंगलबाट काँचो साल काटेर घर बनाएका छन् । नहुने गरिबको झुपडी छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्