कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिमा कार्यक्रम रोकिँदा बिरामी घटे

नवीन पौडेल

नवलपुर — ज्येष्ठ नागरिक बिमा कार्यक्रम रोकिँदा पूर्वी नवलपरासीको दुम्कौली स्वास्थ्य संस्थामा एकै वर्षमा ४ हजार सेवाग्राही घटेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा देवचुली नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक बिमा अन्तर्गत २ हजारले बिमा गरेका थिए ।

निःशुल्क हुने भएपछि यसले ज्येष्ठ नागरिकलाई उपचार सेवामा सहज भएको थियो । बिमा हुँदा नियमित जाँचका लागि स्वास्थ्य संस्थामा आउने गरेका ज्येष्ठ नागरिक अहिले कार्यक्रम रोकिएपछि निजी स्वास्थ्य संस्थामा जान थालेका छन् ।


नगरपालिकाको बिमा कार्यक्रमबाहेक दुम्कौली स्वास्थ्य संस्थाले आफ्नै समितिमार्फत सर्वसाधारणका लागि सामान्य बिमा कार्यक्रम सञ्चालन गरेको थियो । गाउँगाउँमा बिमा परिचालक परिचालन गरेर करिब ५ हजारको स्वास्थ्य बिमा भएको थियो । एक हजार रुपैयाँमा भिडियो एक्सरे, ईसीजीदेखि अन्य सेवा लिन पाएपछि सर्वसाधारणको आकर्षण बढेसँगै बिरामीको चाप अत्यधिक थियो ।

नेपाल सरकारले राष्ट्रिय बिमा कार्यक्रम सञ्चालन गर्ने नीति ल्याएपछि नगरपालिका र स्वास्थ्य संस्था दुवैले बिमा कार्यक्रम स्थगित गरे । बिमा नभएपछि बिरामी सरकारी स्वास्थ्य संस्थामा आउनुभन्दा निजीमा जान थालेपछि बिरामीको चाप घटेको दुम्कौली स्वास्थ्य संस्थाले जनाएको छ । राष्ट्रिय बिमा कार्यक्रम पूर्वी नवलपरासीमा अझै सुरु भएको छैन ।


दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षको अवधिमा ४ हजारभन्दा बढी सेवा लिन आउनेको संख्या घटेको हो । केन्द्रका स्वास्थ्य निरीक्षक छविलाल सुवेदीका अनुसार स्वास्थ्य ४ हजार बढी बिरामी घटेका हुन् । उनका अनुसार आव २०७४/०७५ मा २६ हजार ९ सय ४ जनाले उपचार तथा अन्य सेवा लिएकोमा ०७५/०७६ मा २२ हजार ३ सय २२ जनाले मात्र सेवा लिए । ‘जिल्लाको अन्य सरकारी स्वास्थ्य संस्थामा भन्दा हामीकहाँ उपकरण र चिकित्सक हुनुहुन्छ,’ उनले भने, ‘उपकरण र चिकित्सक हुँदाहुँदै पनि बिमा कार्यक्रमले निरन्तरता नपाउँदा बिरामी अन्यन्त्र जान थाले । निःशुल्क हुँदा सरकारी स्वास्थ्य संस्थामा आउने र रकम तिर्नुपर्दा निजीमा जाने प्रवृत्ति देखियो ।’


यसैगरी कावासोती–१२ मा रहेको पिठौली स्वास्थ्य केन्द्रमा पनि सेवा लिन आउनेको संख्या घटेको छ । अहेव कृष्ण महतोका अनुसार अघिल्लो आवमा ३ हजार २ सय २८ जनाले सेवा लिएकोमा गत वर्ष घटेर २ हजार ९ सय ७८ ले मात्र सेवा लिए । विशेष गरी सरकारी स्वास्थ्य केन्द्रमा कर्मचारी समायोजन, तत्काल बिरामीका लागि प्रदान गर्नुपर्ने औषधि अभाव र दक्ष कर्मचारी नहुँदा सरकारी स्वास्थ्य केन्द्रले सोचेजति सेवा प्रदान गर्न सकेका छैनन् ।


सरकारी स्वास्थ्य केन्द्रमा आवश्यक समयमा सेवा लिन नपाएपछि महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा जानुपरेको सेवाग्राही बताउँछन् । सरकारीमा दक्ष चिकित्सक अभाव, उचित स्रोत साधनको कमीलगायत कारणले आफूहरू निजी अस्पताल धाउनुपरेको कावासोती–२ की सीता नेपालीले बताइन् । ‘सरकारी स्वास्थ्य संस्थामा गए पनि औषधि र उपकरण अभाव देखाउँछन् । अनि निजीमा नगई सुखै छैन’ उनले भनिन् ।

प्रकाशित : भाद्र २, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?