कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

झोलुंगे पुलले विद्यालय नियमित

नारायण शर्मा

नवलपरासी — वर्षात्‌को समयमा अधिकांश दिन विद्यालय जान मुस्किल थियो । बालबालिका एक्लै खोला तर्न नसकेपछि अभिभावक आफैंले जोखिम मोलेर खोला तार्ने र विद्यालय समय सकिएपछि लिन जानुपर्ने अवस्था थियो ।

झोलुंगे पुलले विद्यालय नियमित

वषौंदेखि यस्तै समस्या खेप्दै आएका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१२ मितुङका स्थानीयलाई खहरे खोलामा झोलुंगे पुल निर्माण हुँदा गाउँमा ठूलै हर्ष छाएको छ ।


पुल नहुँदा वर्षाको समयमा पूर्व-पश्चिम राजमार्ग र सदरमुकाम कावासोती आउन मुस्किल थियो । सवारीसाधन नचल्दा पैदल हिँडेर किनमेलका लागि दलदले बजार आउनुपर्ने बाध्यता थियो । तर अब पुल निर्माण भएपछि मोटरसाइकल ओहोर–दोहोर गर्न मिल्ने भएपछि स्थानीयले राहतको महसुस गरेका छन् । देवचुली नगरपालिका–६ मितुङ र वडा नम्बर १२ जनबस्तीलाई जोड्ने गरी झोलुंगे पुल निर्माण भएको हो । पुल निर्माण भएपछि स्थानीय उत्पादन बजारसम्म लैजान पनि सहज हुने भएको छ । औषधि उपचारका लागि बोकेर लैजानुपर्ने बाध्यता थियो । अब पुलबाट दुई पांग्रे सवारी चल्न सक्ने भएकोले स्थानीय खुसी छन् ।


‘युवा र प्रौढ उमेरका मानिसहरु जोखिम मोलेर भए पनि खहरे खोला तर्ने गर्दथे,’ स्थानीय विद्यार्थी सुकुमाया थापाले भनिन्, ‘हामी विद्यालय उमेरका बालबालिका भने बाढी आएको दिनमा विद्यालय नै जादैनथ्यौं । अब भने ढुक्कले हिउँद र वर्षा दुवै समयमा विद्यालय जान पाइने भइयो ।’


नगरपालिका भए पनि दुर्गम मितुङ गाउँमा विकासका सामान्य पूर्वाधार पनि पुगेको छैन । प्रशासनिक कामकाजका लागि वडामा आउन पनि समस्या छ । जीर्ण सडकमा ओहोर–दोहोर गर्नुपर्ने स्थानीयले वर्षौंदेखि पुल निर्माणको माग गरेका थिए । ‘वर्षौंदेखि यो समस्या थियो । तर स्थानीयको जिल्ला र केन्द्रसम्म पहुँच नहुँदा पुल निर्माण हुन सकेको थिएन,’ वडा नम्बर ६ का अध्यक्ष मिनबहदुर सोतीले भने, ‘अहिले जनप्रतिनिधि आएपछि विभिन्न संघसंस्था, नगरपालिका र श्रमदानबाट झोलुंगे पुल निर्माणको काम सम्पन्न भएको छ ।’ पुल बनाउन कुल ४२ लाख ५ हजार २ सय ४ रुपैयाँ लागेको सोतीले बताए ।

प्रकाशित : श्रावण २४, २०७६ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?