कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपहाडीको काम ठप्प

दिप्ती सिलवाल

पर्वत — निर्माणाधीन मध्यपहाडी (पुष्पलाल मार्ग) लोकमार्गको काम विगत करिब दुई महिनादेखि ठप्प छ । सडक फराकिलो पार्ने निहुँमा ठेकेदार कम्पनीले सबैतिर एक्साभेटर लगाउँदा पर्वत खण्डको दर्जनबढी स्थानमा पहिरो खसेको छ । मनसुनको कारण देखाउँदै असारयता काम रोकिंदा सडकमा परेका खाल्डाखुल्डी र पहिरोले यात्रा सकसपूर्ण बनेको छ ।

नयाँपुलदेखि मालढुङ्गासम्म करिब दुई दर्जन पहिराले सडक साँघुरो बनाएको छ । एकतर्फी सवारी चलाउन समेत मुस्किल छ । सडकमा परेका ठूल्ठूला खाल्डामा जमेको पानीमा साना सवारी चुर्लुम्मै डुब्छन् । खाल्डाखुल्डी र पहिरोमा जोगिएर यात्रा गर्न निकै जोखिमपूर्ण भएको सवारीचालक बताउँछन् । ‘जोखिम मोलेर पोखरा पुग्न निकै सास्ती छ,’ व्यवसायी कमल सुवेदीले भने, ‘यो पीडा कसले बुझिदिने ।’ कुनै बेला सडकमा हिंडदाहिंडदै खसेको पहिरोले घन्टौं रोकिनुपरेको उनले उनले बताए ।


पहिरो र खाल्टाखुल्टी पुर्न ठेकेदार कम्पनीले कुनै चासो देखाएको छैन । पर्वतखण्डको सडक दुई लेनको बनाउने गरी लामा कन्स्ट्रक्सनले ०७४ वैशाखमा ३ वर्षको समय लिएर आयोजनासँग सम्झौता गरेको थियो ।


सम्झौताअनुसार हालसम्म ७० प्रतिशत काम सकिनुपर्ने हो । तर, ठेकेदारको ढिलासुस्तीका कारण ५० प्रतिशत पनि काम नसकिएको आयोजनाले जनाएको छ । आयोजनाको पर्वतस्थित कार्यालयका प्रमुख आशिष थापामगरका अनुसार वर्षाको कारण देखाएर निर्माण व्यवसायीले लापरबाही गरिरहेको छ । ‘न्यूनतम ट्राफिकिङ व्यवस्थापन सहज गराउन पटकपटक निर्देशन दिएका छौं,’ थापामगरले भने, ‘हाम्रो निर्देशन मानिएको अवस्था छैन ।’ पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सन र उसका प्रतिनिधि केही समय सम्पर्कविहीन भएको उनले बताए ।


गत जेठदेखि काम रोकेर करिब एक महिनासम्म सम्पर्कविहीन भएको निर्माण कम्पनीका प्रतिनिधिलाई सम्पर्कमा ल्याएर काम सुरु गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन् । उनका अनुसार निर्माण व्यवसायीसँग सम्झौता गर्ने, कामको मूल्यांकन गर्ने, निगरानी गर्ने लगायतका निकाय अलग–अलग हुँदा कारबाही गर्न समस्या छ ।


‘सम्झौता गर्ने, आयोजना अगाडि बढाउने, बजेट निकासा गर्ने, फरक–फरक निकाय हुँदा हामीलाई कारबाही गर्न समस्या छ,’ नेपालले भनिन्, ‘पटकपटक भनेका छौं । धेरै ठाउँमा समस्या छ । व्यवसायीले टेर्दैनन् ।’ पर्वत खण्डको अम्बोट, चुवा र प्रहरी कार्यालयमा एक–एकवटा एक्साभेटर राख्न गरिएको आग्रह व्यवसायीले नटेरेको उनले बताइन् ।


सडकमा निर्माण व्यवसायीको ज्यादती भएकोबारे चौतर्फी गुनासो बढेपछि संघीय सांसद पदम गिरीले मंगलबारको संसद् बैठकमा यस विषयमा ध्यानाकर्षण गराएका छन् । सांसद गिरीले ठेकेदार कम्पनीको लापरबाहीले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै त्यसको जिम्मेवार स्वयं कम्पनी हुनुपर्ने बताए ।


उनले लापरबाही गर्ने ठेकेदार कम्पनीलाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न संसद् र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको बताए ।


निर्माण व्यवसायीले भने लगातारको झरीका कारण काम तीव्र गतिमा गर्न नसकिएको जनाएको छ । ‘मनसुनका बेला स्पीडमा काम गर्न नसकेकै हो,’ लामा कन्स्ट्रक्सनका पर्वत प्रतिनिधि गोविन्द भुसालले भने, ‘पहिरो र जोखिमको सडक व्यवस्थापन गरिराखेकै छौं ।’ उनले तत्कालको समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालय, अम्बोट, लगायतका ठाउँमा मेसिन राखेर मर्मत गरिरहेको दाबी गरे ।

प्रकाशित : श्रावण २३, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?