मनाङमा २८ उद्योग थपिए
लमजुङ — हिमाली जिल्ला मनाङमा उद्योग सञ्चालन गर्ने क्रम बढेको छ । उद्योगधन्दामा खासै चासो नदेखाउने मनाङेले पछिल्लो समय उद्योग खोल्न थालेका हुन् ।
संघीय संरचनापछि ४ गाउँपालिका बनेको मनाङमा २२४ उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका छन् । नयाँ उद्योग पनि दर्ता गरेर सञ्चालन गर्न थालेको कार्यालय प्रमुख प्रदीप न्यौपानेले बताए । कार्यालयमा दर्ता भएका उद्योगमा महिला र पुरुष गरी झन्डै ९५० जनाले रोजगारी प्राप्त गरेका छन् ।
उत्पादनमूलक उद्योग २४, कृषि, वनजन्य उद्योग ८५, पर्यटनमूलक उद्योग १७७ र सेवामूलक उद्योग ४२ वटा दर्ता भएका छन् । लघु, घरेलु तथा साना उद्यमीलाई निःशुल्क रूपमा उद्योग दर्ता गर्दा १७ वटा लघु उद्यमी दर्ता भएको उनले बताए । न्यौपानेका अनुसार महिलाले ५ लाख रुपैयाँसम्म पुँजी राखेर दर्ता वा व्यवसाय सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई लघु उद्योगमा दर्ता गरिन्छ ।
न्यौपानेका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २८ उद्योग दर्ता भएका छन् । यीमध्ये उत्पादनमूलक २, कृषि वनजन्य १४, पर्यटन मूलक ११, सेवामूलक १ र लघु उद्यम १३ रहेका उनले बताए । घरेलु कार्यालयको तथ्यांक हेर्दा सबैभन्दा बढी पर्यटन उद्योग १७७ दर्ता छन् ।
प्रकाशित : श्रावण २३, २०७६ ०८:१९