पोखरा महानगरपालिकाले भदौदेखि ‘ई–टिकेटिङ’ लागू गर्ने

रासस

पोखरा — पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई-टिकेटिङ’ लागू गर्ने  र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए ।

कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उनले भने, 'अबको छ महीनामा योजना तयार हुन्छ र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ,' महानगरप्रमुख जिसीले भने। उनले दक्षिण एशियाली खेलकूद (साग)लाई दृष्टिगत गरेर पोखराका चार वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए।

उनले आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको जानकारी दिए। ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको छ भन्दै महानगरप्रमुख जिसीले यहाँका केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि बताए।

महानगरले उपलब्ध गराएको ४९६ थान ‘ट्राफिक कोण’ ले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जनशक्ति व्यवस्थापनमा ध्यान दिइरहेको बताए। जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १०० ट्राफिक प्रहरी कार्यरत रहे पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २५० जनशक्ति आवश्यक भएको बताए।

प्रकाशित : श्रावण २०, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्

जुँगु पहिरोमा बेपत्ता भएकाहरुको खोजीमा विज्ञ टोली खटाइने

कान्तिपुर संवाददाता

दोलखा — जुँगु पहिरोमा हराइरहेका दुई जनाको खोजी गर्न प्रहरीको विशेष खोजी टोली झिकाइने भएको छ । ७७ घरमा क्षति पुग्नेगरी शुक्रवार राति गौरीशंकर गाउँपालिका–१ स्थित पहिरोमा हराएका ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निशान खड्काको खोजीका लागि विज्ञ टोली झिकाइने भएको हो । प्रहरीले मंगलबारबाट उनीहरुको खोजी गर्नेछ । 


८ वटा बस्तीमा क्षति पुग्नेगरी पहिरो जाँदा उनीहरू बेपत्ता भएका हुन्। पहिरोपछि ७७ घरपरिवारका दुई सय ८२ जनाको बिल्लीबाठ भएको छ। सोमबार जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकले ७७ परिवारका लागि स्कुल, स्वास्थ्य केन्द्र र आफन्तको घरहरुमा अस्थायी बसोबास मिलाएको छ।

उक्त पहिरोले जुँगु आउजाउ गर्ने तीन वटा सडक अवरुद्ध पारेको छ। सडक यातायात टुटेपछि उक्त स्थानमा राहत सामाग्री पुर्‍याउन कठिन भएको प्रमुख पाण्डेले बताए।

विस्थापितका लागि बासको व्यवस्था गर्न एक साताका लागि विद्यालयहरु बन्द गरिएको छ। स्थायी बासस्थानका लागि उपयुक्त थलोको खोजी गर्न मंगलबारबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिकहरुलाई पहिरोस्थलमा पठाउने पनि बैठकले निर्णय गरेको छ।

स्थायी बासलगायत अन्य सहायताका लागि सोमबार सङ्घीय सांसद पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल र प्रदेश सांसद पशुपति चौलागाईंसहितको टोली पहिरोस्थल पुगेका छन्।

प्रकाशित : श्रावण २०, २०७६ १६:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्