कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक महिना पनि टिकेन सडक

हरिराम उप्रेती

गोरखा — कालोपत्रे गरिएको एक महिना नबित्दै लुइँटेल–आँपपीपल–हर्मी भन्ज्याङ–थालाजुङ–भच्चेक सडक ठाउँठाउँ धसिएको छ । विभिन्न स्थानमा खसेको पहिरोले सडक अवरुद्घ छ । 

एक महिना पनि टिकेन सडक

६० करोडभन्दा बढी खर्चिएर बनाइएको सडक फितलो अनुगमन र ठेकेदार कम्पनीले गुणस्तरीय काम नगर्दा महिना दिन पनि नटिकेको भन्दै स्थानीय आक्रोशित छन् ।


हर्मीभन्ज्याङदेखि चित्रेपोखरीसम्म दर्जनभन्दा बढी पहिरो खसेको हर्मीका टेकबहादुर नेपालीले बताए । ‘असारको ८–१० मा कालोपत्रे सकिएको हो,’ उनले भने, ‘तर एक महिना पनि टिकेन । हामीलाई ८/१० वर्ष खप्ने सडक चाहिएको हो, एउटा बर्खा पनि नटिक्ने बनेछ ।’ चाँडो सक्ने बहानामा अलि–अलि गिट्टी हाली अलकत्राले कालो पोतेर छाडिएकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।


पहिरोले आँपपीपल–चित्रेपोखरी खण्डका विभिन्न ठाउँमा नालीसमेत पुरिएको सिरानचोक गाउँपालिका–३ का मिठे दमैले बताए । ‘पानी नालीबाट बग्दैन, सडकबाट बगेपछि भत्कने नै भयो,’ उनले भने । राम्चेडाँडा, हर्मीभन्ज्याङनजिकै ठाउँठाउँमा सडक दबिएर कतै माटो देखिएको छ भने कतै चिरिएको छ ।


लुइँटेल भन्ज्याङदेखि अजिरकोट गाउँपालिकाको नयाँगाउँसम्मको करिब ३१ किलोमिटर सडक भूकम्पीय आपतकालीन सहायता परियोजनाअन्तर्गत कालोपत्रे भएको हो । एसियाली विकास बैंकको आर्थिक सहयोग तथा स्विस सरकारको प्राविधिक सहयोगमा बनेको सडकको काम २०१६ को १२ डिसेम्बरबाट सुरु भएको थियो ।


सडकलाई दुई खण्डमा ठेक्का लगाएर काम भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । लुइँटेल–चित्रेपोखरी खण्डको १८.५ किमि निर्माणको जिम्मा लामा अमर जेभीले पाएको थियो । ३५ करोड २१ लाख लागतमा सडक कालोपत्रे भएको हो । चित्रेपोखरीबाट नयाँगाउँसम्मको १२.९७ किमि खण्डको जिम्मा लामा कन्स्ट्रक्सनले पाएको थियो ।


कालोपत्रेका लागि २५ करोड ४२ लाख खर्च भएको एकाइले जनाएको छ । ३.७५ मिटर चौडाइको सडक र दुई सेन्टिमिटर कालोपत्रे गर्ने भनिए पनि मापदण्डअनुसार नभएको स्थानीयको आरोप छ । माटोमाथि गिट्टी बिछ्याएर कालोपत्रे गरिएको स्थानीय ईश्वर लम्सालले बताए । ‘बस्ती भएको ठाउँमा ठिकै छ, बस्ती नभएको ठाउँमा कालोपत्रे उप्काएर हेरे माटो भेटिन्छ,’ उनले भने । सडक २ वर्ष पनि नटिक्ने पालुङटार–४ का सुन्दर विश्वकर्माले बताए । ‘अहिले साना गाडीमात्र चलेका छन्, ट्रक आए सबै धसिन्छ,’ उनले भने, ‘हामी प्राविधिक नभए पनि आँखाले सडकको दुरवस्था हेर्दा दुई वर्ष टिक्छ भनेर पत्याउन सक्दैनौं ।’


पहिरो खसेर अवरुद्घ सडक सफा गर्ने तयारीमा जुटेको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले बताए । ‘प्राविधिक टोली पठाएर स्थलगत निरीक्षण गरिसक्यौं,’ उनले भने, ‘पहिरो धेरै ठाउँमा छ ।’ वर्षा कम भएपछि काम थाल्ने तयारीमा रहेको उनको भनाइ छ । ‘धेरै ठाउँमा टेवापर्खाल राखेर पहिरो रोकथाम गर्नुपर्नेछ,’ उनले भने, ‘हर्मीभन्ज्याङ चित्रेपोखरी खण्डमा एलाइन्मेन्ट चेन्ज गर्नुपर्‍यो, कटिङ सकिनेबित्तिकै काम थाल्यौँ, पर्खने समय नभएकाले केही समस्या आएको छ ।’

प्रकाशित : श्रावण २०, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?