कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पेनगन’ बरामद

पोखरा — कलमजस्तै देखिने हतियार ‘पेनगन’ सहित लागूऔषध कारोबारी पोखराबाट पक्राउ परेका छन् । कास्की प्रहरीले असार २९ मा पोखरा मासबारबाट २४ वर्षीय सागर रानाभाटलाई पक्राउ गरेको हो । 

पोखरा–२४ कास्कीकोटका उनी मासबारमा डेरामा बस्थे । उनको डेरामा खोजतलास गर्ने क्रममा पेन गन र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट पेनगन र त्यसमा लाग्ने ७ राउन्ड गोली, लागूऔषध ६०/६० वटा फेनारगन, ब्रुफिनर्फिन, डाइजेपाम र १५ चक्की नाइट्रोसन फेला परेको जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जनाएको हो ।


खानतलासीका क्रममा रानाभाटको डेराबाट १० वटा राहदानी र ७ वटा नागरिकताको प्रमाणपत्र पनि फेला परेको छ ।

लागूऔषध सेवन, ओसारपसार र बिक्रीवितरण तथा हतियार बोक्ने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, ‘कलमजस्तै देखिए पनि पेनगन हतियार हो ।’


यसअघि काठमाडौंमा मात्रै पेनगन बरामद भएको आफ्नो जानकारीमा भएको उनले बताए । यस्तो गनमा एकपटकमा एउटामात्रै गोली लोड गर्न मिल्छ । हतियारका रूपमा प्रयोग गर्दा अगाडिको टुप्पो हटाइन्छ । बीचबाट खोलेर गोली लोड गरिन्छ । पेनको माथिल्लो टुप्पोमा ‘कक’ गर्ने ठाउँ र खल्तीमा अड्याउन मिल्ने ठाउँमा ‘ट्रिगर’ हुन्छ । पेनगनले १५ देखि २० फिट दूरीसम्म प्रहार गर्दा ज्यानै जान सक्छ । यद्यपि पेन गन प्रहारबाट ज्यान गएको घटना नेपाल प्रहरीको रेकर्डमा छैन ।


एसपी कार्कीले उक्त पेनगन कसरी पोखरासम्म आइपुग्यो भन्ने अनुसन्धानकै क्रममा रहेको बताए । राहदानी र नागरिकताको प्रमाणपत्र कुन प्रयोजनका लागि राखिएको र अन्य अपराधसँग पनि सम्बन्धित रहे/नरहेको समेत अनुसन्धान भइरहेको छ ।

प्रकाशित : श्रावण २, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?