कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषध कारोबारीसँग पेन गन

दीपक परियार

पोखरा — कलम जस्तै देखिने बन्दुक ‘पेन गन’ सहित लागूऔषध कारोबारी पोखराबाट पक्राउ परेका छन् । कास्की प्रहरीले असार २९ मा पोखरा मासबारबाट २४ वर्षीय सागर रानाभाटलाई पक्राउ गरेको हो । 

लागूऔषध कारोबारीसँग पेन गन

पोखरा–२४ कास्कीकोट स्थायी घर भएका उनी मासबारमा डेरामा बस्थे । उनको डेरामा खोजतलास गर्ने क्रममा पेन गन र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट पेन गनसहित त्यसमा लाग्ने ७ राउन्ड गोली, ६० थान फेनरागन, ब्रुफिनर्फिन, डाइजेपाम, १५ चक्की नाइट्रोसन फेला परेको बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ । उनको डेराबाट १० थान राहदानी र ७ थान नागरिकताको प्रमाणपत्र समेत फेला परेको छ ।


लागूऔषध सेवन, ओसारपसार र विक्री वितरण तथा हतियार बोक्ने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा उनी पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । ‘कास्कीमा पेन गन फेला परेको यो सम्भवतः पहिलो घटना हो,’ उनले भने, ‘कलम जस्तै देखिने यसको संरचना बन्दुककै जस्तो हुन्छ ।’


यसअघि काठमाडौँमा मात्रै पेन गन बरामद भएको आफ्नो जानकारीमा भएको उनले जनाए । उनका अनुसार पेन गन दुरुस्तै कलमजस्तै देखिन्छ । एउटा मात्रै गोली लोड गर्न मिल्छ । हतियारको रूपमा प्रयोग गर्दा अगाडिको टुप्पो हटाइन्छ । बीचबाट खोलेर गोली लोड गरिन्छ । पेनको माथिल्लो टुप्पोमा ‘कक’ गर्ने ठाउँ हुन्छ । खल्तीमा अड्याउन मिल्ने ठाउँमा ‘ट्रिगर’ हुन्छ । पेन गनले १५ देखि २० फिट दुरीसम्म प्रहार गर्दा ज्यानै जान सक्छ । यद्यपि पेन गन प्रहारबाट ज्यान गएको घटना प्रहरीको रेकर्डमा छैन ।


एसपी कार्कीले उक्त पेन गन कसरी पोखरासम्म आइपुग्यो भन्ने अनुसन्धानकै क्रममा रहेको बताए । राहदानी र नागरिकताको प्रमाणपत्र कुन प्रयोजनको लागि राखिएको, अन्य अपराधसँग पनि सम्बन्धित रहेनरहेको समेत अनुसन्धान भइरहेको उनले जनाए ।

प्रकाशित : श्रावण १, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?