कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजर हिँड्ने बाटो खन्दै गाउँले

सडक निर्माण क्रममा भीरमा पहिरोको डरले डोजर चालकले खन्न नमानेपछि स्थानीयले भीर फोडेर डोजर हिँड्ने बाटो बनाउन लागेका हुन् 
घनश्याम खड्का

म्याग्दी — डोजरले सबैतिर भीरपहरा र जमिन फोड्दै मोटरबाटो बनाइरहेका बेला यहाँ डोजर हिंड्ने बाटो बनाएको सुन्दा अचम्म लाग्न सक्छ । धौलागिरि गाउँपालिका–४ मुदीवासी भने डोजरका लागि बाटो खनिरहेका छन् । सडक निर्माण क्रममा भीरमा पहिरोको डरले डोजर चालकले खन्न नमानेपछि स्थानीयले भीर फोडेर डोजर हिँड्ने बाटो बनाउन लागेका हुन् ।

डोजर हिँड्ने बाटो खन्दै गाउँले

भीरमा ब्रेकर लगाई सडक खन्ने क्रममा माथिबाट पहिरो खस्दा सहयोगीको मृत्यु भएको र मेसिनमा पनि क्षति पुगेछि अपरेटरले डोजर चलाउन मानेनन् । ‘भीर नै भीरमा सडक निर्माण गरिएको भए पनि १५ मिटर लामो खण्डमा माथिबाट पहिरो झर्न थालेकाले डोजरले खन्न मानेन,’ गाउँपालिकाका प्राविधिक दीपेन्द्र केसीले भने, ‘त्यसैले जोखिमयुक्त भागलाई मान्छेले काटेर डोजर हिँड्ने बाटो बनाउन थालेका हौं ।’ मुना–मुदी सडकको ५ किलोमिटरमध्ये करिब ४ किमि सडक पुरै पहरा काटेर निर्माण भएको उनले बताए ।


गाउँपालिकाले ८० लाख रुपैयाँ लागतमा गाउँपालिका केन्द्र मुनादेखि ४ नम्बर वडा केन्द्र मुदीलाई जोड्न ५ किमि सडक खन्न थालेको हो । कठिन भूगोलमा काम गर्नुपरेकाले बजेट खर्च लक्ष्य पूरा भए पनि गाउँमा मोटर पुर्‍याउने लक्ष्य पूरा नभएको उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार ११ मजदुर लगाएर १२ दिनसम्म भीर काटेर डोजर हिँड्ने ट्र्याक बनाउने प्रयास पनि लगातारको झरी र पहिरोले गर्दा प्रभावित भएको छ ।


‘गाउँमा मोटर पुर्‍याउन सडक खन्ने क्रममा आफन्त गुमाएर पनि भीरमा डोजर पास गराउन मान्छे लगाएर बाटो बनाउने प्रयास पनि स्थगित भएको छ,’ निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकमान चोचाङ्गीमगरले भने, ‘निरन्तर झरी परेकाले पहिरो खस्न रोकिएन । थप मानवीय क्षति रोक्न सडक निर्माण नै स्थगित गरियो ।’ ४ किमि सडकको रक कटिङ भइसकेको छ ।


१५/२० मिटर पहरा छेड्न बाँकी रहेकाले त्यो सक्न पाएको भए सजिलै गाउँमा सडक पुग्ने अवस्था रहेको उनले बताए । जिल्लाकै दुर्गम धौलागिरि गाउँपालिकाको पनि दुर्गममा पर्छ, मुदीगाउँ । छिमेकी गाउँबाट मुदी पुग्न अक्करे भीरको बाटो पार गर्नुपर्छ । भीरमा अडेको मुदीगाउँका एक बस्तीबाट अर्को बस्ती पुग्न पनि अनिवार्य भीर छिचोल्नैपर्ने बाध्यता छ ।


मुदीका नरवाङ र नाउराभीरलाई मान्छे खाने भीरले चिनिन्छ । धौलागिरि हिमालका ५ चुचुरा, चुरेन र गुर्जा हिमाल अवस्थित जिल्लाको करिब ४५ प्रतिशत भूगोल ओगटेको धौलागिरि गाउँपालिका दुर्गम हो । यस गाउँपालिका केन्द्रसम्ममा कच्ची हिउँदे सडक पुगेपछि वडा १ गुर्जा, २ लुलाङ, ४ मुदी, ६ मराङ र ७ मल्कवाङमा अझै मोटरबाटो पुगेको छैन । धौलागिरि गाउँपालिकामा अझै केन्द्रीय बिजुली पनि पुगेको छैन ।


सञ्चार सुविधासमेत छैन । ‘जडीबुटी, फलफूल र पशुपालन प्रमुख सम्भावना भए पनि सबै वडालाई मोटरबाटोले जोड्न पहिलो प्रयत्नमा छौं । सडक सञ्जाल नभई कुनै व्यवसायलाई व्यावसायिक बनाउन नसकिने ठहर रह्यो,’ गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘कार्यकालभित्र वडा नं १ गुर्जाबाहेक सबै वडामा मोटरबाटो र केन्द्रीय बिजुली पुर्‍याउने गरी काम गरिरहेका छौं ।’

प्रकाशित : असार २४, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?