कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संरक्षण केन्द्रमै गाईगोरु असुरक्षित

प्रताप रानामगर

दमौली — छाडा पशुचौपायालाई व्यवस्थापन गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले गौ संरक्षण केन्द्र स्थापना गर्‍यो । तर केन्द्रमा राखिएका चौपायाको उचित रेखदेख र संरक्षण हुन नसकेको पाइएको छ । 

कुपोषण र चितुवाको आक्रमणले दिनहुँ पशुचौपाया मर्न थालेका छन् । तीन महिना अघि स्थानीयको श्रमदान र नगरपालिकाको १७ लाख रुपैयाँमा शुक्लागण्डकी–९ स्याउली बजार मरेतरा क्षेत्रमा गौ संरक्षण केन्द्र स्थापना गरी छाडा पशुचौपायालाई व्यवस्थापन गर्दै आएको वडाध्यक्ष लोकनारायण श्रेष्ठले बताए ।


‘संरक्षण केन्द्रमा राखिएका गाईगोरु यतिबेला दैनिकजसो मर्न थालेका छन्,’ उनले भने, ‘अहिलेसम्म ४० बढी गाईगोरु मरिसकेका छन् ।’ उचित आहार अभावमा कुपोषणले गाईगोरु मर्न थालेका हुन् । केन्द्रमा ३ सय बढी गाईगोरु छन् । गाईले खाने घाँसपात छैन । चरणका भरमा चौपाया राखिएका छन् ।


यसले नपुगेर गाईगोरु मर्न थालेको श्रेष्ठले बताए । केन्द्रमा चितुवाले आक्रमणसमेत गर्न थालेको छ । करिब ३ सय रोपनीमा केन्द्र निर्माण गरिएको छ । केन्द्रलाई तारजालीले मात्र बारिएको छ । त्यसभित्र २ वटा ट्रस्ट बनाइएको छ । स्थानीय र उन्नत जातका गाई त्यहाँ छन् । २ सय स्थानीय र एक सय जर्सी जातका गाई केन्द्रमा छन् । बाच्छाबाच्छी र दुहुने गाई किन्नका लागि ग्राहक आउने गरेका छन् । तर, गौसम्बन्धी कार्यविधि नबनेकाले ग्राहकको माग पूरा भएको छैन । गोबरसमेत बिक्री नगरिएको उनले बताए ।


ट्रस्ट पर्याप्त नभएकाले घामापानीबाट आधामात्र ओत लाग्छन् । अन्य खुला आकाशमा बस्न बाध्य हुन्छन् । चर्को घाम र पानीका कारण पनि पशुचौपाया मर्ने गरेका हुन् । नगरपालिकाले गाईगोरुको रेखदेख गर्नका लागि २ हेरालु राखेको र उनीहरूले चरनमा लैजान्छन् । मरेका चौपायालाई खाल्डो खनी पुर्ने काम हुन्छ । गाई दिनहुँ मर्ने भएकाले नगरपालिकाको जेसीभीले खाल्डो खनेर पुर्ने गर्छ ।


हेरालुलाई दैनिक ५ सय ५० रुपैयाँका दरले पारिश्रमिक दिइन्छ । मरेका गाईको व्यवस्थापन राम्रो नभएकाले दुर्गन्ध फैलिएको स्थानीय सन्तु ढकालले बताइन् । ‘संरक्षण केन्द्रमा दिनहुँ गाई मर्ने गरेको छ, सिनोको दुर्गन्धले बसीखप्नु हुँदैन,’ उनले भनिन्, ‘भुस्याहा कुकुरले खाल्डोबाट सिनो निकालेर बस्तीमा ल्याउने गरेकाले हैरानी भएको हो ।’


सिनोका कारण सरुवा रोग फैलन सक्ने चिन्ता स्थानीयको छ । खाल्डो खनेर सिनो पुरे पनि व्यवस्थित नहुँदा यस्तो समस्या आएको हो । ‘एक दर्जन जति गाईको व्यवस्थापन गर्ने होला सोचेका थियौं,’ उनले भनिन्, ‘सयौं राख्ने रहेछ । गौ संरक्षण केन्द्र राख्न दिएर गल्ती गरिएछ ।’ नगरपालिकाले गौ संरक्षण केन्द्रलाई व्यवस्थित बनाउन स्थानीयको माग छ । केन्द्रलाई उचित व्यवस्थापन नगरे आन्दोलन समेत गर्ने तयारी गरेको उनले बताइन् ।


छाडाचौपायाले पृथ्वी राजमार्गमा सवारी दुर्घटनाका जोखिम बढाएकाले शुक्लागण्डकीले केन्द्र स्थापना गरेको नगर प्रमुख किसान गुरुङले बताए । ‘छाडा चौपायाले राजमार्गमा सवारी दुर्घटनाका जोखिम बढायो,’ उनले भने, ‘नगरवासीबाट छाडाचौपाया व्यवस्थापनको माग पनि भयो ।’ त्यतिमात्र होइन, खेतबारीमा लगाएको अन्नबालीसमेत छाडा चौपायाले खाएर नष्ट गर्ने उनले बताए । अझै उचित व्यवस्थापनका लागि आगामी वर्षका लागि नगरसभाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।


उक्त रकमले केन्द्रको पूर्वाधार विकास र घाँस खेती गर्ने तयारी छ । करिब १ हजार ५ सय रोपनी सार्वजनिक जग्गा छ । गौ संरक्षण सम्बन्धी कार्यविधि नगरसभामा प्रस्ताव गरेको छ । कार्यविधिले गाईको व्यवस्थापनमा सहज हुने अपेक्षा राखिएको नगर प्रमुख गुरुङको भनाइ छ ।


पोखरा महानगरपालिकाबाट शुक्लागण्डकी नगरपालिकामा रातको समयमा यस्ता छाडा चौपाया ल्याएर छाडिदिने गरेको पनि उनले बताए । स्थानीयले खनजोत गर्न नसकेको गोरु बजारमा छोड्ने गरेका छन् । त्यस्ता गोरुलाई पनि केन्द्रमा ल्याएर राखिन्छ ।

प्रकाशित : असार १६, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?