कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपप्रमुखसँग महिला कार्यक्रम : सहयोग छेउ न टुप्पो

कास्की — पोखरा महानगरपालिकाले एउटा अभियान ल्याएको छ, ‘उपप्रमुखसँग महिला कार्यक्रम ।’ महानगरभित्रका आर्थिक अवस्था कमजोर भएका महिलालाई कम ब्याजमा ऋण सहयोग उपलब्ध गराएर स्वरोजगार तथा रोजगारी दिने उद्देश्य कार्यक्रमको छ । 

तर यसरी उपलब्ध गराइने ऋण निकै कम भएको सेवाग्राहीले बताएका छन् । ‘कुखुरापालनका लागि एक लाख रुपैयाँ मागे पनि ५० हजारमात्रै पाएँ,’ पोखरा–३२ डाँडागाउँकी ४२ वर्षीया इन्द्रमाया विकले भनिन्, ‘सानो भए पनि व्यवसाय गरौं भनेको, कुखुरा फार्म बनाउने सामान नै महँगो रहेछ, थपथाप गर्न एक पैसा छैन, महानगरको पैसाले एकछेउ पनि भएन । डेढ लाख रुपैयाँसम्म भए फार्म बन्ने भन्दै उनले थप पैसा कहाँ खोज्ने भन्ने चिन्ता थपिएको बताइन् । उनी श्रीमान्को ११ वर्षअघि मृत्यु भएपछि एक छोरा र ४ छोरीको पालनपोषण गदै आएकी छन् ।


एउटै भैंसीलाई लाख रुपैयाँ पर्ने भए पनि महानगरले दिएको ५० हजारले के गर्ने, नगर्ने भन्ने अन्योल भएको सोही वडाकी ४६ वर्षीया सरस्वती जोशीले बताइन् । ‘अरू कामभन्दा भैंसी पाल्न सजिलो लाग्छ, यसमा मेरो अनुभव पनि छ, तर बजेट ५० हजार मात्र पाएँ, त्यतिले के गर्ने ?’ उनले भनिन्, ‘लगानी राम्रो भए, आम्दानी पनि त्यहीअनुसार आउने हो ।’ भैंसी किन्न त परको कुरा गोठ बनाउने सामान पनि किन्न छेउ न टुप्पो भएको उनले गुनासो गरिन् ।


जुत्ता व्यवसाय थालेकी स्थानीय रूपा रुचालले महानगरको योजना राम्रो भए पनि रकम भने अपर्याप्त भएको बताइन् । ‘व्यवसायका लागि २ लाख आवश्यक भए पनि केही नहुनुभन्दा ५० हजार ल्याएर केही सामान थपेकी छु,’ उनले भनिन्, ‘सीप र मिहिनेतअनुसारको बजेट विनियोजन गरे हामी जस्तो व्यवसाय गर्न चाहनेलाई राहत हुन्थ्यो र आर्थिक समृद्धिमा समेत टेवा पुग्थ्यो ।’


चालु आर्थिक वर्षमा कार्यक्रमका लागि २ करोड रुपैयाँ छुट्टयाइएकोमा अवस्था हेरेर १५ हजारदेखि १३ लाख रुपैयाँसम्म सहयोग गरिएको महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । ‘महानगरमा विभिन्न संघसंस्था र व्यक्ति गरी १ सय ३४ निवेदन परेकामा ६२ छनोटमा परेका हुन्,’ उनले भनिन् ।

प्रकाशित : असार ९, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?