कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अटेरी ग्राहकलाई कारबाही

तनहुँ — समयमा विद्युत् महसुल नबुझाउने ग्राहकलाई विद्युत् प्राधिकारण तनहुँ वितरण केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाएको छ । केन्द्रले अनधिकृत रूपमा विद्युत् उपभोग गर्ने तथा मिटर रिडिङको २ महिनासम्म पनि महसुल बुझाउन नआउनेलाई कारबाही थालेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विद्युत् महसुल बुझाउन नआउने ८५५ जना ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख ई. शिवनारायण गोशलीले बताए । ‘मिटर रिडिङ गरेको ६० दिन बढी पुग्दा पनि महसुल तिर्न नआउने ग्राहकको कुनै पनि बेला लाइन काट्ने अभियान चलाइएको छ,’ उनले भने ।


बिल काटेको ६ दिनभित्र महसुल बुझाएमा २ प्रतिशत छुट दिइन्छ र ८ दिनदेखि २२ औं दिनभित्र महसुल बुझाएमा बिलअनुसारको महसुल लाग्ने व्यवस्था छ । यतिसम्म सुविधा दिँदा पनि उपभोक्ताहरू समयमा विद्युत् महसुल बुझाउन नआउने ग्राहकको ६० दिन कटेपछि लाइन काट्ने गोशलीले बताए । यस्तै, मिटर रिडिङ गरेको २३ औं दिनदेखि ३० औं दिनसम्म विद्युत् महसुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्नेछ ।


विनियमावलीमा उल्लेख भएअनुसार मिटर रिडिङ गरेको ३१ औं दिनदेखि ४०औं दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्नेछ भने ४१औं दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्नेछ । ६० औं दिनसम्म विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था छ ।


केन्द्रले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटी १ करोड ४१ लाख ३७ हजार ३५९ रुपैयाँ बाँकी बक्यौता असुल गरेको छ । लाइन काटिएका ८५५ मध्ये बक्यौता बुझाइसकेका ७३७ ग्राहकको लाइन पुनः जोडिएको केन्द्रले जनाएको छ ।


केन्द्रले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्ने १२१ लाई पनि कारबाही गरी ६ लाख १ हजार ९८५ रुपैयाँ बराबरको रकम असुल गरेको छ । केन्द्रले छड्के निरीक्षणमा मिटर बाइपास गर्ने, मिटर पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्ने/बिगार्नेलाई कारबाही गरेको हो ।


गोशलीका अनुसार चालु वर्षमा ३४१ बन्द/बिग्रेका मिटर फेरिएको छ भने करिब १ हजार १४९ ग्राहकहरूको मिटर रिसिलिङ तथा करिब १२ सय ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ । निरीक्षणले आव २०७४ श्रावण महिनासम्म भएको विद्युत् चुहावट २४.८८ प्रतिशतबाट अहिले ५.९७ प्रतिशतमा झार्न सफल भएको गोशलीले बताए ।

प्रकाशित : असार ६, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?