दलित बस्तीमा एक कोठे घर

हरिराम उप्रेती

गोरखा — भूकम्पले ढुंगामाटोले बनेको एकतले घर भत्काएपछि गोरखा नगरपालिका–५ पंदेलथोकका राजु सिर्मलको ४ जनाको परिवार लामो समय अस्थायी टहरोमा बस्यो । लाभग्राही सूचीमा समावेश भएर अनुदान सम्झौता गर्दासम्म सरकारी अनुदान ३ लाखले घर निर्माण थालिहाल्ने आँट उनलाई आएन ।

घर निर्माणका लागी थप रकम जोहो गर्ने आधार पनि भएन । उनले सरकारी अनुदानबाटै एक कोठे भएपनि घर निर्माण थाल्न आँटे । ‘बस्ने अर्को घर पनि छैन, नयाँ घर बनाउनु नै छ । ३ लाखको परिधिभित्र रहेर जसोतसो घर निर्माण सकें,’ सिर्मलले भने, ‘रकम नपुग्ने हो कि भन्ने सोचेर सक्ने काममा आफैं खटिएँ ।’ निर्माण सके पनि उनलाई नयाँ घरप्रति चित्त बुझेको छैन ।

ग्रामीण परिवेशमा एककोठे घर निकै साँघुरो भएको उनले सुनाए । ‘सुत्न भएको छ, अन्नबाली राख्ने ठाउँसम्म छैन,’ उनले भने, ‘टहरोमा राखनधरन (अन्नपात र अन्य सरसामान) र खाना बनाउने गरेको छु । मान्छे नबस्ने टहरोमा कोदो मकै राख्दा मुसाले खाएर हैरानी छ ।’ रकम अभावकै कारण चर्किएको एकतले घर भत्काउन नसकेको उनले बताए । परिवार एउटै कोठामा बस्न गाह्रो भएको उनको भनाइ छ । ‘दुई कोठासम्म बनाउन सकेको भए पनि निकै सजिलो हुन्थ्यो होला,’ उनले भने, ‘घर निर्माणका लागी धेरै रकम खर्च गर्न आफ्नो गच्छेले भेटेन, एकपटक बनाउने घर भव्य नै बनाउने सोच थियो, सोचेजस्तो भएन ।’

सन्तबहादुर सार्कीले पनि उस्तै समस्या सुनाए । ‘पाहुना आउँदा सुताउने ठाउँ छैन,’ सार्कीले भने, ‘बरन्डा र फराकिलो मझेरी भएको घर पो घर, यसलाई के घर भन्नु । ओत लाग्ने ठाउँ चाहिं भएको छ ।’ टहराको बसाइबाट मुक्ति पाएकामा भने उनी खुसी छन् । भन्छन्, ‘दुई तीन वर्षसम्म टहरामा बस्यौँ । टहराको बसाइ घरजस्तो नहुने रहेछ । पानी परे मझेरीसम्म पुग्ने, जाडामा शीत चुहिने, गर्मीमा जस्ता तातेर हैरान, साँघुरै भए पनि नयाँ घर त पायौँ ।’ घर साँघुरो हुँदा भने समस्या भएको उनको गुनासो छ । ‘अहिलेसम्म टहरामा राखेर चलिरहेको थियो, अब त्यो टहरो पनि भत्कने अवस्थामा पुगेको छ,’ उनले भने, ‘अन्नपात कहाँ राख्ने, जोगाउन नसके के खाने पिरोलो थपियो ।’

जिल्लाका कतिपय गाउँमा सरकारी अनुदान ३ लाख पाउनकै लागि एककोठे घर बनाउने प्रचलन पनि छ तर यस दलित बस्तीका स्थानीय भने रकम नभएरै एककोठे बनाउन बाध्य भएको बताउँछन् । गाउँमा १३ घर एककोठे बनेका स्थानीय रामशरण कट्टेलले बताए । एकाधबाहेक आर्थिक अवस्था कमजोर भएकै कारण एककोठे बनाएको उनले सुनाए । दुईकोठे घर बनाउन कम्तीमा पनि ६ लाखसम्म खर्च लाग्ने स्थानीय बताउँछन् ।

‘नयाँ घर पनि बनाउनैपर्ने छ, ऋण गर्न सक्ने अवस्था पनि नरहेपछि एक कोठे घर बनाउनु बाध्यता हो,’ उनले भने । सरकारी अनुदानले निर्माण सामग्री खरिद गर्न पनि नपुग्ने भूकम्पपीडित बताउँछन् । उत्तरी क्षेत्रमा निर्माण सामग्री ढुवानीमै बढी खर्च हुँदा घर निर्माणको लागत बढेको छ । कतिपयले ऋणसमेत लागेको बताउँदै आएका छन् ।

निजी आवासतर्फ निर्मित घरमध्ये २० प्रतिशतजति एककोठे बनेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय प्रमुख रामशरण आचार्यले बताए । ‘एकाध घर गरिवीका कारण एककोठे बनेका छन’ उनले भने, ‘सकभर एककोठे घर नबनाउन भनेका थियो तर यसले समस्या निम्त्यायो ।’

प्रकाशित : जेष्ठ २४, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

गाउँलेको पहलमा विद्युत्

सदरमुकामदेखि ५० किमि पश्चिमको ताराखोलावासीले सेयर संकलन गरेर निर्माण गरेको बिजुलीको परीक्षण सफल
प्रकाश बराल

बागलुङ — आलु फलेपछि बारीबाटै बेच्नुपर्ने ताराखोलाका अमृत घर्तीमगरले अब भण्डारण गरी मूल्य पाउँदा बेच्ने योजना बनाएका छन् । भण्डारण अभावमा उनले खानेबाहेक सबै आलुबाट बेच्नुपर्ने बाध्यता थियो । मगरजस्ता यहाँका सयौं किसानले सामुहिक र व्यक्तिगत भण्डारण बनाउने योजनामा लागेका छन् । विद्युत अभावमा भण्डारण बनाउन सकेका थिएनन ।

स्थानीयको सेयर संकलनबाट झिलिमिली भएको बागलुङको ताराखोलाको ग्रामीण बस्ती । यहाँका १ हजार ६ सय घरमा बिजुली बलेको छ । तस्बिर : प्रकाश/कान्तिपुर 

सबैभन्दा धेरै फल्ने आलु र केही वर्षदेखि थालिएको अलैंची बारीबाटै बेच्ने ताराखोले किसानलाई राहत दिन आवस्यकतानुसारका भण्डारगृह बनाउने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

सदरमुकामदेखि ५० किमी पश्चिमको ताराखोलाबासीले शेयर संकलन गरेर निर्माण गरेको बिजुलीको परीक्षण सफल भएपछि किसान र जनप्रतिनिधिसमेत खुसी भएका हुन् । यसअघि लघुविद्युत् र पेल्ट्रिक सेटबाट बिजुली बालेका स्थानीयले आफ्नै लगानीको ३ सय ८० किलोवाटको विद्युत् आयोजना बनाएका छन ।

बिजुली आएपछि गाउँपालिका भवनमा चौबिसै घण्टा विद्युत् आपूर्ति गरेर कम्प्युटर विधिबाट सबै काम गर्न सकिने घर्तीले बताए । ‘बिजुली नभएर हामीले चाहेका धेरै काम गर्न सकेका थिएनौं,’ घर्तीले भने, ‘अब केही गरेर देखाउने बेला आएको छ ।’ ताराखोलामै बनाइने हाते कागज उद्योग, धागो कात्ने तथा अल्लो र भाङ्ग्रो बुन्नेलाई मेसिनमार्फत काममा लगाउन सकिने उनले बताए ।

गाउँपालिकाभित्रका १ हजार ६ सय घरले सेयर संकलन गरेर ताराखोला सामुदायिक विद्युत्मार्फत बिजुली उत्पादन गरेका हुन् । गाउँलेले संकलन गरेको ११ करोड रुपैयाँमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९ करोड १२ लाख अनुदान थपेर २० करोड रुपैयाँ लागतमा काम सम्पन्न भएको अध्यक्ष धनबहादुर बिकले बताए ।

‘आफ्नै मेहनतले बत्ती बाल्न हामीले दशकदेखि काम गरेका थियौं, अब कसैको आस गर्नु परेन,’ बिकले भने, ‘राज्यको सेवा पाउन नसकेका हामीले हाम्रो उत्पादन राज्यलाई बेच्ने लक्ष्य बनाएका छौं ।’ सबै घरमा बिजुली बाल्ने अभियान चलिरहेकाले केही समयभित्रै सरकारसँग विद्युत् खरिद सम्झौता गरिने उनले बताए । गलकोटस्थित हरिचौरमा निर्माण भइरहेको सबस्टेसन पूरा भएपछि यो विद्युत्को प्रसारण लाइन जोड्ने गरी खरिद सम्झौता हुने उनले बताए ।

यसअघि लघु जलविद्युत्मार्फत ताराखोलाका केही गाउँमा बिजुली बालिएको थियो । राष्ट्रिय प्रसारण लाइन यहाँ छैन । लघुविद्युत्बाटै यहाँ कुटानीपिसानी मिलसमेत सञ्चालनमा थिए । निर्माणाधीन विद्युत् उत्पादन भएपछि सबै विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गरिने घर्तीले बताए । यहाँ धेरै ढुंगाखानीलघुविद्युत्को भर परेका थिए । अब सबै ढुंगाखानी विद्युत्मार्फत सञ्चालन हुनेछन् । ढुंगाखानी, खाद्यान्न प्रशोधन, कम्प्युटर शिक्षा तथा अन्य घरेलु उद्योगसमेत सञ्चालन गरेर आगामी ३ वर्षभित्र ५ हजार बढी युवा गाउँमै रोजगार बनाउने लक्ष्य गापाको छ ।

बिजुली आएकाले बालबालिकाले सहजै पढ्न लेख्न पाउनेछन् । ‘अब बालबालिकाले सजिलै पढ्न पाउने भए,’ ताराखोलाकी विष्णुमाया रोकाले भनिन्, ‘बिजुली अभावमा मोबाइल चार्ज गर्ने कामसमेत साँझका बेलामात्र हुन्थ्यो ।’ लघुविद्युत् बेलाबेला बन्द गरेर सञ्चालन गर्नुपर्थ्यो ।

प्रकाशित : जेष्ठ २४, २०७६ १०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्