उर्बर भूमिमा सिँचाइ छैन
दमौली — उर्बर फाँट । नियमित सिँचाइ उपलब्ध हुने भए वर्षमा तीन खेती गर्न सकिने । तनहुँको भिमाद नगरपालिका–५ स्थित ८५ हेक्टरको बुडुवाफाँटमा सिँचाइ सुविधा नहुँदा किसान भने आकाशेपानीको भर पर्नुपर्ने अवस्था छ ।
पानी अभावमा यतिबेला किसानले धानको ब्याडसम्म राख्न पाएका छैनन् । ‘ब्याड राख्ने बेला भयो,’ किसान माधव गैह्रेले भने, ‘तर कुलोमा पानी छैन । अलिअलि आउने पानी पनि बाढ्नुपर्छ । ब्याड राख्न पनि आकाशेपानीको भर पर्नुपर्छ ।’ समयमै ब्याड राख्न पाए असारमा आकाशेपानीमा भए पनि छिट्टै धान रोप्न पाइन्थ्यो भन्दै उनी खेतमा भौंतारिरहेका थिए ।
फाँटमा २ दशकदेखि सिँचाइ अभाव हुँदै आएको बुडुवा सिँचाइ आयोजनाका अध्यक्ष बालकृष्ण गैह्रेले बताए । बुडुवा खोलामा बाँध हालेर ल्याएको पानी पर्याप्त नआएको हो । ३ सय मिटर तल त्यही खोलामा पनि अर्को बाँध थापेर कुलोबाट पानी चलाएका थियौं । तर, ४ वर्ष पनि सुचारु हुन सकेन । खोलाको बाँधभन्दा कुलोको उचाइ बढी भएपछि समस्या आएको हो । सुरुङ बनाएर ह्युमपाइप मार्फत कुलो बनाइए पनि प्रभावकारी सञ्चालनमा आउन नसकेको हो ।
कुलोमाथि पछिल्लो समय मोटरबाटोसमेत खनिएकाले थप असर गरेको स्थानीयले बताए । अर्कोतर्फ खोलामा आएको बाढीले कुलो थुन्ने कामसमेत भएको छ । डिभिजन सिँचाइ कार्यालयले सुरुङ कुलो सफा गरिदिए पनि पानी सुचारु गर्न नसकेको उनले बताए ।
२००७ सालमा निर्माण गरिएको माथिल्लो बाँध र कुलो जीर्ण छ । खोला बढेको बेलामा मात्र कुलोमा पानी आउँछ । अघिपछि भने निकै कम मात्रामा पानी आउँछ । आलोपालो गरेर खेतमा पानी लगाउन बाध्य भएको अध्यक्ष गैह्रेले बताए । कुलो मर्मतका लागि उपभोक्ता समितिले सरकारसँग माग गरेको छ ।
साथै मर्मतका लागि वडा कार्यालयसँग पनि माग गरेको वडासदस्य देवीराज अधिकारीले बताए । ‘बढी बजेट आवश्यक परेकाले वडाले पनि प्रदेश सरकारसँग माग गरेको छ,’ उनले भने, ‘प्रदेश सरकारले प्राथमिकता राखेर बजेट विनियोजन गर्नुपर्छ । सिँचाइ अभावले किसान मारमा परेकोप्रति ध्यान दिनुपर्छ ।’ सिँचाइ सुविधा बाह्रै मास पुर्याउन सके तीन खेती गर्न पाइने उनले बताए ।
कुलो मर्मतका लागि उपभोक्ता समितिले प्रदेश सरकारसँग निवेदन दिएको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा महाशाखा गण्डकी प्रदेशका प्रमुख हरिदत्त पौडेलले बताए । निवेदनका आधारमा प्राविधिकले स्थलगत निरीक्षण सकेका छन् । प्रतिवेदन तयारपछि योजना कार्यान्वयनका लागि डिभिजन सिँचाइ कार्यालयमा पठाउने उनले बताए ।
भिमाद–५ स्थित मालेबगर सिँचाइ आयोजना पनि जीर्ण हुँदा सिँचाइबाट किसान वञ्चित छन् । २०४३ सालमा निर्माण गरेको बाँधकुलो जीर्ण छ । मालेबगरमा २० हेक्टर खेतीयोग्य जमिन छ ।
प्रकाशित : जेष्ठ २२, २०७६ ११:०६