कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै कोठामा दुई वडा कार्यालय

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिकाको एउटै कोठामा वडा नम्बर ६ र ८ को कार्यालय छ । साँघुरो कोठामा दुई वडाको सिंगो कार्यालय चलेको छ । दुवै वडाका अध्यक्ष,सदस्य र कर्मचारीले त्यहीबाट सेवा प्रवाह गर्छन् । राजनीतिक खिचातानी र स्वार्थका कारण वडा नम्बर ७ को वडा कार्यालय आफ्नै वडाबाट सञ्चालनमा आउन सकेको छैन ।

एउटै कोठामा दुई वडा कार्यालय

आफूलाई पायक पर्ने तथा स्वार्थ अनुकूलका स्थानमा वडा कार्यालय स्थापनाका लागि जनप्रतिनिधिको जोडबल छ । ‘सबैलाई पायक पर्ने स्थानमा वडा कार्यालय राख्दा हुने,’ एक स्थानीय भन्छन्,‘जनप्रतिनिधिले आफ्नै स्वार्थ हेर्दा हामी जनताले सधैँ दुःख भोग्यौँ ।’


‘वडा कार्यालय हाम्रै वडामा आउनुपर्छ भन्ने हाम्रो माग हो,’ नयाँबसपार्कका हरि सिर्मलले भने,‘पायक पर्ने स्थानमा वडा कार्यालय सञ्चालनमा आए हामी जनताले यतिका दुःख भोग्नु पर्थेन ।’ मान्द्रे ढुङ्गा, सतिपिपल, वेलडाडा, डण्डीडाडासम्मका स्थानीयलाई पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गर्नुपर्ने उनको माग छ । ‘हामी स्थानीयले पनि आफ्नै वडामा वडा कार्यालय हुनुपर्छ भनेर माग गरेका छौँ, आज ज्ञापन पत्र बुझायौँ,’ उनले भने,‘जनताको समस्या नबुझे फेरी दोस्रो चरणको आन्दोलन लिएर नगरपालिका जान्छौँ ।’ हस्ताक्षर सहितको ज्ञापन पत्र सोमबार स्थानीयहरूले नगरपालिकामा बुझाएका छन् ।


सात नम्बर वडामा १३ सय घर धुरी छन् । वडाको जन्तेढुंगाबाट हाल सञ्चालनमा रहेको वडा कार्यालय आउन र जान मात्रै ४ घण्टा लाग्छ । बेलडाँडा, मान्द्रेढुङ्गाका स्थानीयहरूलाई पनि अर्को वडामा सञ्चालित कार्यालय अपायक पर्ने वडाअध्यक्ष विष्णु बहादुर श्रेष्ठले बताए । २०७४ असार १३ गते वडाको बैठक बसी आफ्नै वडामा कार्यालय सार्ने निर्णय गरेको उनले बताए । ‘हाम्रो वडामा २० वटा टोल विकास संस्था छन्, उनीहरूसँग सरसल्लाह गरेर सबैलाई पायक पर्ने स्थानमा अब छिट्टै वडा कार्यालय सार्छौँ,’ उनले भने ।


एउटै कोठामा दुई कार्यालय सञ्चालन हुँदा समस्या परेको श्रेष्ठले बताए । ‘नाता प्रमाणित, सिफारिस, जन्मदर्ताका लागि पनि वडा कार्यालय नआई हुँदैन,’ उनले भने,‘सेवाग्राही आए बस्ने ठाउँ छैन, यहाँसम्म आउन पनि टाढै छ ।’


वडा नम्बर ८ को कार्यालय भने नगरपालिकासँगै रहेको एक भवनबाट सञ्चालन गर्ने सल्लाह भएको वडाध्यक्ष कृष्ण खत्रीले बताए । ‘नगरपालिकाको कार्यालय पनि हाम्रै वडामा पर्छ,’ उनले भने,‘नगरपालिकाकै कार्यालयबाट वडा कार्यालय पनि सञ्चालन गर्ने सल्लाह भएको छ ।’ चालू आर्थिक वर्षमा वडा कार्यालयको भवन निर्माणका लागि भनेर १५ लाख बजेट छुट्ट्याएको उनले सुनाए ।


जनप्रतिनिधिहरूको बैठक राखेर वडा नम्बर ७ को वडा कार्यालय आफ्नै वडामा सञ्चालनका लागि निर्देशन दिने नगरपालिकाका मेयर राजनराज पन्तले बताए । ‘गाउँ पञ्चायत हुँदा देखिको भवन रोहटेपानीमा छ,’ उनले भने,‘अब त्यही कार्यालय सारेर कार्यालय सञ्चालन गर्न भन्छौ ।’ उक्त भवन मर्मत भइरहेको र सबै वडावासीलाई पायक पर्ने उनले बताए । नगरको १३, १२ र ७ नम्बर वडा बाहेक अन्य वडाको भवन व्यवस्थापन भइसकेको मेयर पन्तले सुनाए ।


दश किलोमा ८२ लाखको लागतमा वडा नम्बर १२ को भवन निर्माणको प्रक्रिया सुरु भइसकेको उनले बताए । १३ नम्बर वडाको यस वर्ष जग्गा व्यवस्थापन गरेर अर्को वर्ष भवन निर्माण सुरु गरिने नगरपालिकाको योजना छ । भवन अभावमा वडा नम्बर १३ ले मासिक १५ हजार भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको वडाध्यक्ष हरि खनालले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?